युवाहरुलाई घरेलु तथा साना उद्योगसँग जोड्न आवश्यक : मन्त्री न्यौपाने
लुम्बिनी प्रदेशस्तरीय महोत्सव घोराहीमा सुरु
घोराही, २८ फागुन । घोराहीमा लुम्बिनी प्रदेशस्तरीय महोत्सव विहीवारदेखि सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखि चैत १५ गतेसम्म सञ्चालन हुने ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ सुरु भएको हो ।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गरेका हुन । ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवको उद्घाटन गर्दै मन्त्री न्यौपानेले सरकार र निजी क्षेत्र मिलेर उद्यमशीलतामा कार्य गरिरहेको बताए । साना तथा घरेलु उद्योगले उत्पादन गरेको वस्तुले पर्यटकहरु आकर्षण गर्न सक्ने भएकाले उत्पादनलाई पर्यटनसँग जोडेर लैजानुपर्ने उनको भनाई थियो ।
आर्थिक रुपान्तरणका लागि युवाहरुलाई घरेलु तथा साना उद्योगसँग जोडेर अगाडी बढ्न आवश्यक रहेको उनले बताए । लुम्बिनी प्रदेशले साना तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको उनको भनाई थियो । साथै सरकारी क्षेत्र र निजी क्षेत्रको सहकार्यमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनको भनाई थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष लव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय अध्यक्ष उमेशप्रसाद सिंहले स्थानीय सरकारले घरेलु तथा साना उद्योगहरुलाई प्रोत्सहन गर्न आवश्यक रहेका बताउनुभयो । उहाँले स्थानीय सरकार जननाको सबैभन्दा नजिकको सरकार भएकाले स्थानीय सरकारले करको दायरा घटाउनेदेखि लगानी सुरक्षित गरेर उत्प्रेरणा प्रदान गर्नुपर्ने बताए । उनले स्थानीय उत्पादनमा जोड दिने साना तथा घरेलु उद्योगहरुमा युवाहरुको आकर्षका लागि सरकारले कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले स्थानीय उत्पादन र बजारिकरणमा उपमहानगरपालिकाले काम गर्ने कोशीस गरिरहेको बताउदै कृषी एवं उद्यमशीलतामा बिचौलिया प्रवृति हस्टाएकाले यसलाई रोक्नका लागि सरकार र निजी क्षेत्र सहकार्यका साथ अगाडी बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेशप्रसाद अधिकारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समितिका केन्द्रिय उपाध्यक्ष शान्ति शर्मा, राष्ट्रिय कृषी आधुनिकीकरण कार्यक्रम लमहीका प्रमुख कोमल शाही, नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका पूर्व अध्यक्ष किरणकुमार रेग्मी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, सल्लाहकार सरद अधिकारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर नगर अध्यक्ष लालबहादुर क.सी, नेपाल घरेलु तथा साना उद्योग महासंघ रोल्पाका अध्यक्ष मिलन डाँगी, नेपाल घरेलु तथा साना उद्योग महासंघ पाल्पाका अध्यक्ष कमल ढकाल, नेपाल ज्योतिष परिषद् दाङका उपाध्यक्ष पदम बस्नेत, रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्थानीय घरेलु तथा साना उद्योगहरु तथा स्थानीय उत्पादनको प्रवद्र्धन एवं स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ आयोजना गरिएको महोत्सवको उद्घाटनका अवसरमा सन् २०५० मा दाङको परिकल्पना समावेश गरिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । महोत्सवको उद्घाटन पूर्व घोराहीमा झाँकी सहितको शोभायात्रा गरिएको थियो । घोराहीको लखन पार्कबाट सुरु हुने ¥यालीले बजार परिक्रमा गरेर महोत्सवमा स्थलमा पुगेको थियो । जसमा विभिन्न जातजाति, भेषभुषा, कला संस्कृति समेटिएका झाँकी समावेश गरिएको थियो ।
महोत्सवमा आईफिल टावर, युरोपियन स्ट्रिट, लण्डन ब्रिज, बाल उद्यानहरु, जलपरी, सिंह दरबार आकर्षकको रुपमा राखिएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । महोत्सवमा हरेक दिन केन्द्रिय चर्चीत कलाकारहरुदेखी स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । महोत्सवमा बद्रि पंगेनी, राजु परियार, ज्योति मगर, दुर्गेश थापा, कमल गाउले, एलिना चौहान, टंक तिमल्सिना, शान्ति श्री परियार, अर्जुन सापकोटा, प्रिती आले, चक्र बम, रचना रिमाल, प्रताप दास, शान्ता रानी परियार, भुमीका गिरी, जी बब, टीका सानु, सञ्जना श्रेष्ठ, प्रिती पासवान, अञ्जु कुश्मी, राज कुश्मी, सोनी कुश्मी, श्याम राना, कमल बिसीलगायतका कलाकारको प्रस्तुति रहने आयोजक मूल समितिले जानकारी दिएको छ ।
महोत्सवमा स्थानीय कलाको प्रोत्साहनका लागि विभिन्न प्रतियोगिताहरु सञ्चालन हुने छन् । महोत्सवमा कविता प्रतियोगिता, बाल चित्रकला प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने भएका छन् । विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने एवं प्रतिभाको प्रोत्साहन गर्ने उद्धेश्यले विभिन्न प्रतियोगिताहरुको आयोजना गरिएको छ । महोत्सवमा हरेक दिन विषय विशेष कार्यक्रमहरु सञ्चालन हुने छन् । जसमा रोजगार तथा सीप विकास, स्वास्थ्य विशेष, युवा विशेष, केषि तथा पशुपालन विशेष, स्थानीय कला संस्कृति तथा पर्यटन विशेष, औद्योगिक विकास र स्थानीय उत्पादन विशेष, महिला उद्यमशीलता विशेष, शिक्ष तथा बालबालिका विशेष, उद्यामशीलता तथा सुचना प्रविधी विशेष, शान्ति तथा सामाजिक सद्भाव विशेष कार्यक्रमहरु सञ्चालन हुने छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका निवर्तमान अध्यक्ष प्रदीप मजगैँयाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जगदिश भण्डारी र आर.के.शीतलले गरेका थिए ।
