लुम्बिनी प्रदेशस्तरीय महोत्सव : शनिवार गायिका प्रिती आले र टंक तिमिल्सिनाको प्रस्तुति
घोराही, २९ फागुन । घोराहीमा लुम्बिनी प्रदेशस्तरीय महोत्सव शनिवार लोकदोहोरी गायिका प्रिती आलेको प्रस्तुति रहने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखि चैत १५ गतेसम्म ‘घरेलु तथा साना उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेश समृद्धिको आधार’ भन्ने नारा सहित आयोजना गरिएको ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ को तेस्रो दिन शनिवार लोकदोहोरी चर्चित गायिका प्रिती आलेसहितका कलाकारहरूको प्रस्तुति रहने आयोजक मूल समितिले जानकारी दिएको छ ।

महोत्सवको तेस्रो दिन शनिवार प्रिती आले, गायक टंक तिमल्सीना लगायतका कलाकारहरूको प्रस्तुति रहने आयोजक मूल समितिका संयोजक लव अधिकारीले जानकारी दिएका छन् । महोत्सवको दोस्रो दिनदेखि सांस्कृतिक कार्यक्रमहरू सुरू भएका छन् । शुक्रवार कलाकारहरू शान्तराम सेञ्चुरी, सोनु कुश्मी, सन्दीप सेञ्चुरी, विष्णु सुनारलगायतका कलाकारहरूको प्रस्तुति रहेको थियो ।
महोत्सवको आकर्षणको रूपमा आईफिल टावर, युरोपियन स्ट्रिट, लण्डन ब्रिज, बाल उद्यानहरु, जलपरी, सिंह दरबार निर्माण गरिएको छ । महोत्सवमा स्थानीय कलाको प्रोत्साहनका लागि विभिन्न प्रतियोगिताहरु सञ्चालन हुने छन् । महोत्सवमा कविता प्रतियोगिता, बाल चित्रकला प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने भएका छन् ।
विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने एवं प्रतिभाको प्रोत्साहन गर्ने उद्धेश्यले विभिन्न प्रतियोगिताहरुको आयोजना गरिएको छ । महोत्सवमा हरेक दिन विषय विशेष कार्यक्रम सञ्चालन हुने छन् । जसमा रोजगार तथा सीप विकास, स्वास्थ्य विशेष, युवा विशेष, केषि तथा पशुपालन विशेष, स्थानीय कला संस्कृति तथा पर्यटन विशेष, औद्योगिक विकास र स्थानीय उत्पादन विशेष, महिला उद्यमशीलता विशेष, शिक्षा तथा बालबालिका विशेष, उद्यामशीलता तथा सुचना प्रविधी विशेष, शान्ति तथा सामाजिक सद्भाव विशेष कार्यक्रम सञ्चालन हुने छन् ।
