Ad Area

निराश होइन, आत्मसमिक्षासहित नयाँ ऊर्जा लिएर अघि बढौँ


भीमा डिसी

नेकपा एमालेको पछिल्लो चुनावी परिणामलाई लिएर अहिले विभिन्न खालका टिप्पणी, विश्लेषण र भविष्यवाणीहरू भइरहेका छन्। पार्टीभित्रैबाट समेत नेतृत्वको राजीनामाको माग उठेको सुनिन थालेको छ। तर यस्तो परिस्थितिमा भावनामा बगेर निष्कर्ष निकाल्नु भन्दा पनि गम्भीर आत्मसमिक्षा र विवेकपूर्ण दृष्टिकोणका साथ अगाडि बढ्नु आवश्यक छ।

यो सत्य हो कि यस निर्वाचनमा नेकपा एमालेले अपेक्षा गरेअनुसारको नतिजा हासिल गर्न सकेन। तर कुनै एक चुनावी परिणामकै आधारमा एमालेको अस्तित्व समाप्त भयो भन्ने निष्कर्ष निकाल्नु यथार्थपरक हुँदैन। इतिहासले पटक–पटक देखाएको छ—संघर्ष, चुनौती र कठिनाइहरू पार गर्दै एमाले अझ सुदृढ र परिपक्व बनेर अघि बढ्ने पार्टी हो।
पार्टी कमजोर भएको महसुस भए पनि समाधान केवल राजीनामामा मात्रै खोज्नु उचित हुँदैन। यस्ता चुनौतीपूर्ण क्षणहरूमा सबै नेता–कार्यकर्ता एकताबद्ध भएर संगठनलाई अझ सुदृढ बनाउँदै र जनतासँगको सम्बन्धलाई थप गहिरो बनाउँदै अघि बढ्नु नै सही मार्ग हो। संकटको समयमा मोर्चा सम्हाल्न पद मात्रै होइन, विचार, प्रतिबद्धता र सामूहिक जिम्मेवारीको आवश्यकता हुन्छ।

आज आवश्यक कुरा दोषारोपण होइन, आत्मसमिक्षा होस विभाजन होइन, एकता होस निराशा होइन, नयाँ ऊर्जा र दृढ संकल्प हो। विशेषगरी सामाजिक सञ्जालमार्फत एकअर्काको आलोचना गरेर पार्टीलाई कमजोर बनाउने प्रवृत्ति त्याग्न जरुरी छ। असहमति र फरक विचारहरूलाई पार्टीभित्रको आन्तरिक छलफलमार्फत समाधान खोज्नु नै जिम्मेवार राजनीतिक संस्कार हो।

पार्टीको शक्ति कुनै एक व्यक्तिमा मात्र सीमित हुँदैन। त्यो सम्पूर्ण नेता–कार्यकर्ता र समर्थकहरूको सामूहिक प्रयासमा निहित हुन्छ। त्यसैले आजको आवश्यकता एकता, अनुशासन र स्पष्ट विचारधारासहित अघि बढ्दै जनताको विश्वास पुनः जित्नु हो। आत्मसमिक्षा गर्दै कमजोरी सच्याउँदै र नयाँ उत्साहका साथ अघि बढ्नु नै एमालेको सही बाटो हो। प्रिय कमरेडहरू, त्यसैले निराश होइन—एकताबद्ध भएर फेरि उठौँ। अझ सशक्त, अझ परिपक्व र अझ जिम्मेवार भएर अघि बढौँ।