Ad Area

गुरुकुल एकेडेमीमा एआई आधारित शिक्षण पद्धति लागु हुने


दाङ,३ चैत । गुरुकुल एकेडेमीमा एआई आधारित शिक्षण पद्धति लागु हुने भएको छ । एकेडेमीले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ शैक्षिक सत्र २०८३ देखि एआई आधारित शिक्षण पद्धति लागु गर्ने जनाएको हो ।

घोराही, तुलसीपुर र लमहीमा रहेका तीनवटै गुरुकुल एकेडेमीमा आगामी शैक्षिक सत्र २०८३ देखि एआई (कृत्रिम बुद्धिमत्ता) आधारित शिक्षण पद्धति लागु गरिने भएको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए । उनका अनुसार विद्यालयले आधुनिक प्रविधिमैत्री शिक्षा प्रणालीलाई संस्थागत गर्दै नयाँ शैक्षिकसत्रदेखि कार्यान्वयन गर्ने तयारी गरिएको छ ।

२०७३ सालमा घोराहीमा स्थापना भएको गुरुकुल एकेडेमीसँगै २०८१ सालमा तुलसीपुर र लमहीमा पनि स्थापना भएर एकेडेमीले गुणस्तरीय, संस्कारयुक्त तथा आधुनिक शिक्षामा जोड दिँदै आएको भन्दै उनले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीको सिकाइलाई अझ प्रभावकारी र व्यवहारिक बनाउन एआई प्रविधि, परियोजनामूलक सिकाइ तथा अनुसन्धानमुखी अध्ययनलाई प्राथमिकता दिइने बताए । गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक प्रदीप राजभण्डारीले नयाँ प्रणालीमार्फत विद्यार्थीको सिकाइ प्रक्रिया व्यक्तिगत, अन्तरक्रियात्मक तथा अनुसन्धानमुखी बनाइने बताए । यसले विद्यार्थीमा तार्किक क्षमता, नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसका साथै विद्यालयले विगतदेखि नै रेक्टा विधिमार्फत विद्यार्थी केन्द्रित शिक्षण प्रक्रिया सञ्चालन गर्दै आएको भन्दै उक्त विधिबाट सैद्धान्तिक ज्ञानलाई मात्र नभई अनुसन्धान, परियोजना कार्य, अभ्यास तथा विश्लेषणात्मक सिकाइलाई सहयोग पुगेको बताए । एआईसम्वन्धी जानकारी दिदै प्रधानाध्यापक राजभण्डारीले आगामी सत्रदेखि लागू हुने नयाँ शैक्षिक संरचना अन्तर्गत कक्षा ९ र ११ मा विशेष कार्यक्रम सञ्चालन गरी आधारभूत तहदेखि उच्च माध्यमिक तहसम्म गुणस्तरीय र प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गर्ने सहयोग पु¥याउने बताए । एआई आधारित शिक्षण प्रणाली, रेक्टा विधि तथा नयाँ शैक्षिक संरचनाले शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक, परिणाममुखी र समयसापेक्ष बनाउने सहयोग गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमको सहजीकरण विवेक देवकोटाले गरेका थिए ।