लुम्बिनी प्रदेशस्तरीय महोत्सव : वक्त्तृत्वकलामा बालबालिकाको उत्साहपूर्ण सहभागिता
घोराही, ३ चैत । घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरिय महोत्सवमा दैनिक विशेष कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । जसअन्तरगत मंगलवार बालबालिका लक्षित वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखि चैत १५ गतेसम्म आयोजना गरिएको ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सव ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा मंगलवार शिक्षा तथा बालबालिका विशेष कार्यक्रम अन्तरगत विद्यार्थीहरुबिच भएको वक्तृत्वकला प्रतियोगितामा बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो ।
‘स्वदेशी उत्पादनको प्रयोग, देश समृद्धिको अवसर’ विषयक वक्तृत्वकला प्रतियोगितामा जिल्लाका निजी तथा सरकारी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोतिामा सहभागी बालबालिकाहरुले आफ्नो प्रस्तुतिमार्फत स्वदेशी उत्पादनको प्रयोगका विषयमा भनाई राखेका थिए । नेपाल परनिर्भर हुनु परेको वास्तविकता दर्शाउदै आयात भन्दा निर्यात गर्नका लागि नेपाल सरकारले योजना बनाएर काम गर्नुपर्ने बताएका थिए । उनीहरुले स्वदेशी उत्पादनको प्रयोग भन्दा पनि स्वदेशी देखावटी वस्तुको प्रयोगमा नेपालीहरु भुलिरहेकाले देश समृद्धिको मार्गमा जान नसकेको उनीहरुको भनाई थियो ।
प्रतियोगितामा मनकामना ईङ्लिस सेकेण्डरी स्कूलकी छात्रा यमुना बाँठा मगर प्रथम, विद्यानिलकण्ठ सेकेण्डरी स्कूलका छात्रा स्वयम्भिका बस्नेत द्वतिय र ज्ञानमाला एकेडेमीका उन्नती केसी तृतिय भएकी छन् । प्रतियोगिताको निर्णायकमा प्रदीप मजगैँया, बिनोद केसी र सुशीला आचार्य रहेका थिए । कार्यक्रम संयोजक शरद अधिकारीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव एवं घोराही बनाउ अभियानका संयोजक सविन प्रियासनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले सरकारले स्थानीय साना तथा घरेलु उद्योगको उत्पादनलाई बजारिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै महोत्सव आयोजक मूल समितिका संयोजक एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष लव अधिकारीले महोत्सवलाई विशेष बनाउनका लागि दैनिक विशेष कर्यक्रमहरु सञ्चालन गरिरहेको बताए । उनले विद्यार्थीहरुको क्षमता प्रवर्शन, स्थानीय कला संस्कृतिको जागरण गर्ने एवं व्यवसायिक, सामािजक, बालबालिका, महिला, युवा, उद्यमीहरु लक्षित कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । साथै सरकारले साना तथा घरेलु उद्योगहरुलाई सहज व्यवसाय सञ्चालनका लागि वातावरण गराउन सरकारसँग माग गरेका हुन ।
प्याब्सन घोराही नगरका सचिव विमल भण्डारीले यस महोत्सवले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएका प्रतियोगितात्मक कार्यक्रमहरुले स्थानीय बालबालिकाहरुको प्रतिभा प्रदर्शन गर्ने थलो बनेको बताए । कार्यक्रमको सहजीकरण महोत्सवका प्रचारप्रसार उपसमितिका संयोजक आर.के.शीतलले गरेका थिए । विशेष कार्यक्रम अन्तरगत वुधवार व्यवसायिक क्षेत्रमा सुचना प्रविधीको प्रयोग समस्या र सुरक्षा विषयक प्यानल डिस्कसन हुने महोत्सव आयोजक मूल समितिका संयोजक लव अधिकारीले बताए ।
बुधवार गायिक ज्योति मगरको प्रस्तुति
महोत्सवमा वुधवार गायिक ज्योति मगरको प्रस्तुति रहने भएको छ । महोत्सवको आकर्षणको रुपमा रहेको सांस्कृति कार्यक्रम अन्तरगत ज्योति मगरको प्रस्तुति रहने आयोजक मूल समितिले जानकारी दिएको छ । महोत्सवमा वुधवार गायिका ज्योति मगरसँगै गायक विसाल सोनी, शान्तराम सेञ्चुरी, आर.जे.रास्कोटी, विष्णु सुनार लगायतको प्रस्तुति रहने नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका महासचिव सीत मल्लले जानकारी दिनुभयो । महोत्सवमा मंगलवार कलाकारहरु सुमन बि.टी, अञ्जु कश्मी लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।
