लुम्बिनी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता : पुरुषतर्फ रोल्पा र महिलातर्फ बर्दिया प्रथम
दाङ, १० चैत । लुम्बिनी प्रदेशस्तरीय महिला तथा पुरुष कबड्डी प्रतियोगिता २०८२ मा पुरुषतर्फ रोल्पा र महिलातर्फ बर्दिया जिल्ला प्रथम भएका छन् ।
प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा दाङको घोराहीमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा नवलपरासीलाई ४२–३६ अंकले पराजित गर्दै रोल्पा जिल्ला पुरुषतर्फ पहिलो भएको हो । विजेता रोल्पाले नगद ८० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पुरुषतर्फ उपविजेता बनेको नवलपरासीले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो स्थानमा रहेका दाङ र रुपन्देहीका टोलीले समान ३०÷३० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
प्रतियोगितामा महिलातर्फ बर्दिया जिल्लाको टोली प्रथम हुँदै नगद ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र जित्न सफल भएको छ । बर्दियाले नवलपरासीलाई ३२–२० अंकले पराजित गर्दै प्रथम हुन सफल भएको हो । त्यसैगरी महिलातर्फ उपविजेता नवलपरासीले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो स्थान हासिल गरेका गुल्मी र बाँकेका टोलीले समान ३०÷३० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य कैलाश रोका मगरले जानकारी दिएका छन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई विधागत रुपमा समेत पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको थियो । विजेता तथा उपविजेता खेलाडीहरूलाई प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतम, सदस्यहरू कैलाश रोका मगर, महेश काउच मगर, दाङ जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख राकेश परियार तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता ८,९ र १० गते गरेर तीन दिन चलेको थियो ।
डस्द्दघ एः
