Ad Area

अल्फाकी वर्षालाई स्वर्ण पदक


दाङ, १५ चैत । घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङकी खेलाडी वर्षा घर्ती मगरले स्वर्ण पदक जितेकी छिन् । बाग्मती प्रदेश अन्तर्गत मकवानपुरको हेटौडामा भएको प्रथम आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०८२ मा दाङको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेकी वर्षाले स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजना तथा मकवानपुर जिल्ला तेक्वान्दो संघको व्यवस्थापनमा हेटौडामा भएको ‘दोस्रो बृहत खेलकुद कृषि तथा पर्यटन महोत्सव’ अन्तर्गत चैत ११ देखि १३ गतेसम्म भएको प्रतियोगितामा वर्षले उत्कृष्ट प्रदर्शन गर्दै ५३ केजी तौल समूह महिलातर्फ स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी वर्षा महिलातर्फ ‘उत्कृष्ट खेलाडी’समेत घोषित भएकी थिइन् । यसैगरी प्रथम आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङका खेलाडी गणेश विक र अञ्जना विष्टले रजत पदक जित्न सफल भएका छन् ।

प्रतियोगितामा पुरुष ६८ केजी तौल समूहमा प्रतिस्पपर्धा गरेका गणेश र महिला ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी अञ्जनाले रजत पदक जितेको अल्फा तेक्वादो डोजाङ प्रमुख एवम् प्रमुख प्रशिक्षक सुनिता विष्टले जानकारी दिएकी छिन् ।

प्रमुख विष्टका अनुसार प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङका खेलाडी लालबहादुर परियारले पुरुष ५८ केजी तौल समूहमा कांस्य पदक जित्न सफल भएका छन् । प्रतियोगितामा विजेता खेलाडीलाई नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।