दाङमा ६९औँ राष्ट्रिय सहकारी दिवस मनाइने
दाङ,१५ चैत । दाङमा ६९औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्याक्रम गरि मनाइने भएको छ । जिल्ला सहकारी संघ दाङले चैतको १६ गतेदेखि २० गतेसम्म विभिन्न कार्यक्रम गरेर ६९औँ राष्ट्रिय सहकारी दिवस–२०८२ मनाउने भएको हो ।
जिल्ला सहकारी संघ दाङले आइतवार घोराहीमा पत्रकार सम्मेलनको आयोजन गरेर सहकारी दिवसका अवसरमा गर्न थालेका कार्यक्रमको बारेमा जानकारी गराएको हो । ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ भन्ने मूल नारासहित संघले चैत १६ गते घोराहीमा ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रम गर्न थालेको जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमले जानकारी दिएका छन् ।
जिल्ला अध्यक्ष गौतमका अनुसार चैत १७ गते घोराही–१४ झिगौरामा रहेको अपाङ्गता भएका नागरिकलाई सहयोग वितरण, चैत १८ गते घोराहीमा रक्तदान, चैत १९ गते घोराहीमा अन्तरसहकारी हाजिरी जवाफ प्रतियोगिता र चैत २० गते मूल समारोह आयोजनामा अन्तरक्रिया कार्यक्रम गर्न थालिएको छ । जिल्ला सहकारी संघमा आवद्ध विभिन्न चार सय ३४ वटा सहकारी तथा स्थानीय तहलगायतको संघसस्थाको समन्वयमा कार्यक्रम गर्न थालिएको जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष माधव खनालले जानकारी दिएका छन् । पत्रकार सम्मेलनको सहजीकरण जिल्ला सचिव इन्द्र बुढाथोकीले गरेका थिए ।
