लमहीमा मेयर कप प्रतियोगिता सुरु
प्रिया स्मृती गजमेर
देउखुरी, १६ चैत । लमहीमा मेयर कप प्रतियोगिता सुरु भएको छ । मेयर कप प्रतियोगिता अन्तर्गत फुटबल, क्रिकेट र ब्याडमिन्टनका खेल आइतवारदेखि सुरु भएका हुन् ।
प्रतियोगिताको लमही नगरपालिका प्रमुख जोगराज चौधरीले उद्घाटन गरेका हुन् । युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले लमही नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगिता अन्तर्गत क्रिकेट, फुटबल र ब्याडमिन्टनका खेलहरू एकै साथ सञ्चालन गरिएको हो ।
उद्घाटनसँगै सुरु भएको चौथो ब्याडमिन्टन प्रतियोगितामा २२ वटा समूहले भाग लिएका छन् । पाँचौँ टी–२० क्रिकेट प्रतियोगितामा आठ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन ।
सूर्योदय युवा क्लब लमही नगरपालिका–३ को आयोजनामा ब्याडमिन्टन प्रतियोगिता लमहीको रातोडाँडास्थित कभर्डहलमा, देउखुरी क्रिकेट युवा क्लबको आयोजनामा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट प्रतियोगिता र न्यू डाँफे युवा क्लब लमही नगरपालिका–४ को आयोजनामा लमही नगरपालिका–६ को सिसौ बगैरमा यी प्रतियोगिता सञ्चालन हुने छन् ।
ब्याडमिन्टन प्रतियोगितामा २२ समूह, फुटबल प्रतियोगितामा १२ टोली र क्रिकेट प्रतियोगितामा आठ वटा क्लबबिच प्रतिस्पर्धा भइरहेको छ । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख जोगराज चौधरीले युवा पुस्ताको मागलाई ध्यानमा राख्दै ‘मेयर कप’लाई निरन्तरता दिइएको बताए ।
विगतमा केही कारणले रोकिएको प्रतियोगितालाई अबदेखि प्रत्येक वर्ष नियमित रूपमा सञ्चालन गरिने उनले प्रतिबद्धता व्यक्त गरे । क्रिकेट मैदानको सरसफाइ र मर्मत सम्भारमा राज्यले लगानी गरेको उल्लेख गरे । उनले यस मैदानले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सक्ने विश्वास व्यक्त गरे ।
आगामी दिनमा विभिन्न खेलका लागि आवश्यक बजेट नगर सभामार्फत् विनियोजन गरिने जानकारी दिए । नगर उपप्रमुख लक्ष्मी योगीले खेलकुदले मानिसलाई स्वस्थ, अनुशासित र सक्रिय बनाउने बताइन् । उनले क्रिकेट मैदानको व्यवस्थापनमा सबै पक्ष एकजुट हुनु पर्नेमा जोड दिइन् । उनले फुटबल र ब्याडमिन्टन जस्ता खेलबाट पनि देशको समृद्धिमा योगदान पुग्न सक्ने बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी, वडा नं. ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, लमही नगरपालिका शिक्षा शाखा प्रमुख केशव लम्साल, नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगर, दाङ जिल्ला क्रिकेट संघका उपाध्यक्ष किशोर घर्ती मगरलगायतको उपस्थिति रहेको थियो । देउखुरी क्रिकेट क्लबका अध्यक्ष प्रकाशकुमार जिसीको अध्यक्षता तथा नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । सचिव प्रेम पुलामीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रकाश सुवेदीले गरेका थिए ।
