दाङमा एसइई परीक्षा : १३ हजार बढी विद्यार्थी, ४४ परीक्षा केन्द्र
लीलाधर वली
दाङ, १८ चैत । दाङमा यस वर्ष माध्यमिक शिक्षा परीक्षा एसइईमा १३ हजार नौ सय विद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला दश स्थानीय तहमा रहेका एक सय १६ सामुदायिक विद्यालय र एक सय ४४ संस्थागत विद्यालय गरी दुई सय ६९ वटा विद्यालयबाट १३ हजार नौ सय ९८ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका हुन् ।
चैत १९ गतेदेखि सुरु हुने एसइई परीक्षाका लागि दाङमा ४४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसइई परीक्षामा नियमित साधारणतर्फ पाँच हजार पाँच सय ३७ जना छात्र र पाँच हजार नौ सय एक जना गरेर ११ हजार चार सय ३८ जना, प्राविधिक धारतर्फ एक सय ७५ जना छात्र र एक सय ५८ जना छात्रा गरेर तीन सय ३३ जना, ग्रेड वृद्धि साधारण तर्फबाट आठ सय ६३ जना छात्र र एक हजार दुई सय ६३ जना गरी दुई हजार एक सय २६ जना र ग्रेड वृद्धि प्राविधिकतर्फ ४३ जना छात्र र ५८ जना छात्रा गरेर एक सय एक जना गरी १३ हजार नौ सय ९८ जना विद्यार्थी सहभागी हुन थालेको शिक्षा विकास तथा समन्वय इकाइ दाङका शाखा अधिकृत एवम् सूचना अधिकारी तिलकराम बञ्जाडेले जानकारी दिएका छन् ।
उनका अनुसार छात्र छ हजार छ सय १८ जना र छात्रा सात हजार तीन सय ८० जना रहेका छन् । यसैगरी एसइई परीक्षामा सामुदायिक विद्यालयबाट तीन हजार पाँच सय ४१ छात्र र चार हजार नौ सय पाँच जना छात्रा गरेर आठ हजार चार सय ४६ जना, संस्थागत विद्यालयबाट छात्र तीन हजार ४४ जना र छात्रा दुई हजार चार सय ४४ जना गरी पाँच हजार चार सय ८८ जना र खुल्लाबाट छात्र ३३ जना र छात्रा ३१ जना गरी ६४ जना विद्यार्थी सहभागी हुँदैछन् । जसमा पाँच जना दृष्टिविहीन विद्यार्थी गुरु जजुर नमुना मावि रक्षाचौरबाट र ११ जना सुस्त श्रवण तथा बहिरा विद्यार्थी अश्वारा मावि तुलसीपुरबाट एसइई परीक्षामा सहभागी हुँदैछन् ।
परीक्षाका लागि घोराही उपमहानगरपालिकामा १४ वटा, तुलसीपुर उपमहानगरपालिकामा १३ वटा, लमही नगरपालिका र राप्ती गाउँपालिका तीन÷तीन वटा, दंगीशरण र बबई गाउँपालिकामा दुई÷दुई वटा, बङ्गलाचुली, बबई र राजपुर गाउँपालिकामा एक÷एक वटा परीक्षा केन्द्र तोकिएको छ ।
विद्यालय बढे, विद्यार्थी घटे
जिल्लामा एसइई परीक्षामा सहभागी हुने विद्यालय सङ्ख्या बढे पनि परीक्षामा सहभागी हुने विद्यार्थीसँगै परीक्षा केन्द्र घटेका छन् । गत वर्षको तुलनामा जिल्लामा दुई सय ५६ जना विद्यार्थी घट्दा तीन वटा परीक्षा केन्द्र कटौती भएका छन् तर एसइई परीक्षामा सहभागी हुने विद्यालयको सङ्ख्या भने गत वर्षको तुलनामा बढेको छ ।
सामुदायिकतर्फ एउटा र संस्थागततर्फ पाँच वटा विद्यालय बढेका छन् । गत वर्ष एसइई परीक्षामा सहभागी हुने सामुदायिकतर्फ एक सय १५ र संस्थागततर्फ एक सय ३९ वटा विद्यालय रहेका थिए । शिक्षा विकास तथा समन्वय इकाइ दाङका सूचना अधिकारी बञ्जाडेका अनुसार जिल्लामा गत वर्ष १४ हजार दुई सय ५६ जना विद्यार्थीले परीक्षा दिँदा ४७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । यो वर्ष जिल्लाबाट १३ हजार नौ सय ९८ जना विद्यार्थीले परीक्षा दिँदैछन् भने ४४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
विद्यार्थी सङ्ख्या घटेसँगै लमही नगरपालिकामा रहेको माध्यमिक विद्यालय उचा निम्बु, तुलसीपुर उपमहानगरपालिकामा रहेको मावि भ्युडहर सुनपुर र शान्तिनगर गाउँपालिकामा पर्ने वीरेन्द्र मावि खिलतपुरको परीक्षा केन्द्र हटाइएको सूचना अधिकारी बञ्जाडेले जानकारी दिएका छन् । जिल्लामा सबैभन्दा धेरै विद्यार्थी भएको केन्द्र घोराहीमा रहेको माध्यमिक विद्यालय रझेना रहेका छ भने कम विद्यार्थी रहेको परीक्षा केन्द्र वीपी मावि बयाले सिमताराबाट दुई सय १९ जना विद्यार्थीले परीक्षा दिने छन् ।
यसैगरी सबैभन्दा धेरै विद्यार्थी सामुदायिकतर्फ घोराहीमा रहेको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयबाट तीन सय १६ जना र संस्थागततर्फ घोराहीकै गोर्खा इन्टरनेसनल स्कुलबाट दुई सय १४ विद्यार्थी एसइई परीक्षा दिन थालेका छन् । सबैभन्दा कम विद्यार्थी सामुदायिक विद्यालय तर्फबाट मदरसा दारुल अलसलफिया घोराही र माता पवित्रादेवी साङवेद शुक्रवारबाट चार÷चार जना विद्यार्थी परीक्षामा सहभागी हुन थालेका छन् भने संस्थागत तर्फबाट लमहीको स्ट्रिम एजुकेसन र भ्याली स्टार बोर्डिङ तुलसीपुरबाट चार÷चार जना विद्यार्थी परीक्षामा सहभागी हुन थालेको शिक्षा समन्वय इकाइ दाङले जनाएको छ ।
जिल्लामा यो वर्ष सबैभन्दा धेरै विद्यालयको परीक्षा केन्द्र रहेको विद्यालय मावि अश्वारा रहेको छ । उक्त विद्यालयमा ११ वटा विद्यालयको परीक्षा केन्द्र रहेको शिक्षा विकास तथा समन्वय इकाइ दाङले जनाएको छ ।
परीक्षाका लागि तयारी पूरा
यसैबिच चैत १९ गतेदेखि सुरु हुने एसइई परीक्षाका लागि दाङमा सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षा केन्द्र निर्धाण, परीक्षा केन्द्रमा खटिने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक कर्मचारी र सहयोगी कर्मचारीको व्यवस्थापनसँगै आवश्यक तालिमसमेत प्रदान गरिएको शिक्षा विकास तथा समन्वय इकाइ दाङका सूचना अधिकारी तिलकराम बञ्जाडेले जानकारी दिएका छन् ।
उनका अनुसार एसइई परीक्षाका लागि परीक्षा केन्द्र नजिकै रहेका स्थानमा उत्तरपुस्तिका र प्रश्नपत्र पठाउनेदेखि ४४ केन्द्राध्यक्ष, आठ जना सहायक केन्द्राध्यक्ष, सात सय दुई जना निरीक्षक, आठ जना सहायक कर्मचारी र सहयोगी कर्मचारी गरी एक हजार १० जना कर्मचारीको व्यवस्थापनसमेत भइरहेको छ । परीक्षाको सुरक्षाका लागि आवश्यकता अनुसार जिल्लामा प्रतिकेन्द्र १० देखि १५ जनासम्म सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
