कपुरकोटमा अटो दुर्घटना, पाँच जना घाइते
सल्यान, १९ चैत । सल्यानको कपुरकोट गाउँपालिका–४ किमुचौर नजिकै अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिब ११ : २० बजे किमुचौरबाट मुलपानीतर्फ जाँदै गरेको म।प्र। ०३–००३ स ४०१५ अस्थायी नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल भिरमा खसेको हो । दुर्घटनामा चालक कपुरकोट–४ का ३८ वर्षीय टिकाराम राना, ७२ वर्षीय डिलबहादुर सुनार, ३८ वर्षीय सागर एरी, ४४ वर्षीय टोपबहादुर एरी र भारतको उत्तर प्रदेश घर भई हाल भाँडा बिक्री गर्दै हिँड्ने ५२ वर्षीय सफि अहमद घाइते भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाका अनुसार घाइतेमध्ये सुनार र अहमदको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम रहेको छ ।
प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी तत्काल कपुरकोट आधारभूत अस्पताल लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि चार जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
