राप्ती साहित्य परिषद्को १८ औँ वार्षिकोत्सव, स्रष्टा पुरस्कृत
दाङ,२१ चैत । राप्ती साहित्य परिषद् दाङ शाखाको १८औँ वार्षिकोत्सवका अवसरमा चार जना स्रष्टा पुरस्कृत भएका छन् । राप्ती साहित्य परिषद दाङ शाखाको शनिवार घोराहीमा भएको १८ औं बार्षिकोत्सव, स्रष्टा सम्मान, स्रष्टा पुरस्कृत तथा काव्य वाचन समारोहमा चार जना स्रष्टा पुरस्कृत भएका हुन ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा भाषा आयोगका निवर्तमान सदस्य तथा वरिष्ठ साहित्यकार डा अमर गिरीको प्रमुख आतिथ्यता एवं राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट डा. टीकाराम उदासी, कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट हरि पोख्रेल, नेत्रमोहनादेवी साहित्य पुरस्कारकाबाट डिल्लीराज श्रीधर र वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट खगेश्वर भण्डारी पुरस्कृत भएका हुन ।
त्यसैगरी साहित्यकार तथा लेखक गुरुप्रसाद शर्मा रेग्मी र पुरस्कार संस्थापकमध्येबाट देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापकका घरपरिवारलाई सम्मान गरिएको थियो । सम्मान गर्दै प्रमुख अतिथि गिरीले साहित्यकारले साहित्यको विधागत चेतनाका साथसाथै साहित्यको गुणस्तरमा पनि स्रष्टाले ध्यान दिनुपर्ने बताएका थिए । पुरस्कृत स्रष्टाहरूको परिचय प्रतिभा छनोट समितिका संयोजक राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा दाङ शाखाका सल्लाहकार दीपक शर्मा ’समीर’ गरेका थिए ।
काव्य वाचनअन्तर्गत साहित्यकार डा. हिमलाल पन्थी, धनसिंह गिरी, हरि पोख्रेल, दिल्लीराज श्रीधर तथा खगेश्वर भण्डारी, देवेन्द्र रिजाल, शंकर घर्ती मगर, पदमप्रसाद पोखरेल, महेशकुमार न्यौपाने, दीपबहादुर खत्री, कपिलकिशोर घिमिरे,पुरण शर्मा, वसन्त अनुभव, नारदप्रसाद भण्डारी, शारदा शर्मा, सुरेशकुमार पाण्डे, लोकराज पराजुली,अनुजा शर्मा ‘संस्कृति’ले मन्तव्य तथा रचना वाचन गरेका थिए ।
नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक विभागका निर्देशक तथा पुरस्कृत स्रष्टा डा. टीकाराम उदासी, राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, सल्लाहकार पदमप्रसाद शर्मा, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापा, प्रगतिशील लेखक संघ दाङका अध्यक्ष चन्द्रबहादुर थापा, लेखक संघ दाङका उपाध्यक्ष गोविन्द पौडेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, सिस्नोपानी नेपाल दाङ शाखाका अध्यक्ष लोकराज पराजुली,झिल्का साहित्यका प्रवर्तक वसन्त अनुभवलगायतले शुभकामना मन्तव्य गरेका थिए ।
कार्यक्रममा परिषदका कोषाध्यक्ष सुशीला आचार्यले आर्थिक प्रतिवेदन र सचिव घनश्याम केसीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गरेका थिए ।
