Ad Area

उदयमान खेलाडी अनुजा, छोटो समयमै प्राप्त गरेको सफलता


गाउँले जीवन, सीमित अवसर तर खेलाडी बन्ने सपना । यो अवस्था र चाहनाकाबिच हुर्किएकी १४ वर्षीय अनुजा चौधरीले मेहनत र लगनशीलताका साथ आफ्नो पहिचान बनाएकी छिन्– एउटा खेलाडीको रूपमा । पहिलो पटक सहभागी भएको राष्ट्रिय प्रतियोगितामै तीन स्वर्ण पदक जित्न सफल भएकी चौधरीका लागि त्यो क्षण जीवनको सबैभन्दा ठुलो खुसीको क्षण भएको छ ।

नेपालीमा एउटा भनाई छ, ‘हुने बिरूवाको चिल्लो पात’ । उनी अझै सम्भावनाका साथ संघर्षशील छिन्, ‘चिल्लो पात’ का रूपमा । घोराही बजारदेखि केही पर कटई गाउँको सामान्य परिवारमा जन्मिएकी चौधरीले खेलकुदका क्षेत्रमा उत्कृष्ठ प्रदर्शन गर्न सफल भएकी छिन् । चौधरीले एथलेटिक्सतर्फ दुई वर्षको छोटो अवधिमै राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दै आफ्नो पहिचान बनाउन सफल भइसकेकी छिन् ।

त्यहीमध्येको एउटा प्रतियोगिता हो, गएको जेठको २५ गतेदेखि २९ गतेसम्म नेपाल विद्यालय खेलकुद महासंघको आयोजनामा काठमाडौंमा भएको विद्यालयस्तरीय यु–१४ विद्यालय खेलकुद । चौधरीले उक्त प्रतियोगितामा एथलेटिक्सका तीन विधामा स्वर्ण पदक जित्न सफल भएकी थिइन् ।

जिल्ला हुँदै प्रदेशस्तरीय टिममा छनोट भएर प्रतियोगितामा प्रतिस्पर्धा गरेकी चौधरीले लङजम्प, दुई सय मिटर दौड र सय मिटरको रिलेमा स्वर्ण पदक जित्न सफल हुँदाको क्षण खुसी लागेको बताउँछिन् । खेलमा उनको उत्कृष्ठ प्रदर्शनले प्रतियोगितामा लुम्बिनी प्रदेश पहिलो बन्न सफल भएको थियो ।

सातै प्रदेशका १४ वर्षमुनि उमेर समूहका बालबालिका सहभागीता रहेको राष्ट्रियस्तरको प्रतियोगिता स्वर्ण पदक जित्दाको क्षण खुसीको क्षण भएको भन्दै चौधरी भन्छिन,‘खेलप्रति भएको रहर र मेहनतका कारण पदक जित्ने आशासहित काठमाडाँै गएको थिए । नभन्दै पहिलो राष्ट्रिय प्रतियोगितामै तीन स्वर्ण पदक जित्न सफल भए । त्यो क्षण खुसीको सिमै भइन, त्यो खुसी साथीलाई फोन गरेर साटे ।’

चौधरीले प्रतियोगितामा सहभागिताका लागि भएका पालिकास्तरीय, जिल्ला हुँदै प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट खेल क्षमता प्रदर्शन गर्दै प्रदेशस्तरीय टिममा छनोट भएकी थिइन् । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै तीन स्वर्ण पदक जित्न सफल खेलाडी चौधरीलाई विद्यालयले सम्मान गरेको थियो । विद्यालयले बाजागाजासहित चौघेरा गाउँ घुमाएको थियो ।

उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी चौधरीलाई विद्यालयले खेल सामग्रीका रूपमा जुत्ता, जर्सी प्रदान गर्नुका साथै एक वर्षसम्म विद्यालयमा निःशुल्क पढ्ने अवसर दिएको थियो । खेलमा उत्कृष्ठ प्रदर्शन गर्दै गरेकी चौधरीले भर्खरै सम्पन्न भएको घोराही नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ठ प्रदर्शन गरिन । यहि महिनामा हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत सहभागी हुँदै छिन् ।

उक्त प्रतियोगितामा चार स्वर्ण र एक रजत गरी पाँच पदक जित्न सफल चौधरी उत्कृष्ठ खेलाडी बनेकी थिइन् । उनले ४०० सय मिटर डौड, लम्जम्प, त्रिप्पल जम्प, फोर टाइम ४०० मिटर रिलेमा स्वर्णसँगै फोर टाइम १०० मिटर डौडमा रजत पदक जित्न सफल भएकी थिइन ।

साथै चौधरी यहि चैतको २७ र २८ गते गण्डकी प्रदेशको राजधानी पोखरामा हुन थालेको ‘एथलेटिक्स नेसनल च्याम्पियन–२०८२’ लागि समेत लुम्बिनी प्रदेशस्तरीय टिमबाट छनोट भइसकेकी छिन् । उक्त प्रतियोगितामा चौधरीले २० वर्ष उमेर समूहतर्फ चार सय मिटर दौडमा सिंगल र ४÷४ मा समूहमा प्रतिस्प्रर्धा गर्ने छिन् ।

उनी २०६८ मङ्सिर ११ गते घोराही उपमहानगरपालिका–१७ कटईमा बुबा निम चौधरी र आमा सिता चौधरीको कोखबाट जन्मिएकी एक्ली सन्तान हुन । घोराहीमा रहेको अन्नपूर्ण आवासीय बोर्डिङ स्कुलबाट अध्ययन सुरू गरेकी चौधरीले कक्षा ६ देखि गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय चौघेरामा अध्ययन गर्दै आएकी छिन् । अहिले कक्षा ८ मा अध्ययनरत चौधरीले खेल्न अन्नपूर्ण स्कुलबाटै सुरू गरे पनि खेल्ने राम्रो प्लेटफर्म गोरक्ष रत्ननाथ माध्यामिक विद्यालय चौघेराले बनाइदिएको बताउँछिन् ।

विद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजना गरिने प्रतियोगितामा खेल्दै रिले ग्रुपमा सिलेक्सन भएकी चौधरीले घोराही नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्दै स्वर्ण जित्न सफल भएकी थिइन् । खेल क्षेत्रमा उत्कृष्ठ प्रदर्शन गरेकै आधारमा चौधरीलाई घर परिवार, साथीसँगै स्कुलमा गुरूहरू समेतले पढाइसँगै खेलमा ध्यान दिन आग्रह गर्ने गरेको बताउँछिन् ।

खेलमा उत्कृष्ठ प्रदर्शन गर्दै आएकी चौधरीले विद्यालयसँगै घोराही उपमहानगरपालिकाबाट समेत सम्मानित भइसकेकी छिन् । सानै उमेरमा एथलेटिक्स खेलमा उत्कृष्ठ खेल प्रदर्शन गर्ने उदयमान खेलाडी चौधरी घोराही उपमहानगरपालिकाको ४७आँै स्थापना दिवसका अवसरमा सम्मानित समेत भएकी थिइन् । त्यो क्षण पनि खुसीको क्षण भएको बताउँछिन् ।

‘संयोगले घोराही उपमहानगरपालिकाको स्थापना दिवसका अवसरमा सम्मानित हुने अवसर पाइन तर खेलमा केही गर्छु भनेर लागेको मलाई हौसलाका लागि गरेको सम्मानले खुसी बनाएको छ’, चौधरीले भनिन्,‘उक्त सम्मान मैले स्कुलमा प्राप्त गर्ने अवसर पाएको थिए ।’

प्रस्तुति : लीलाधर वली