मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : गुल्मी, पाल्पा,नवलपरासी र अर्घाखाँची बिजयी
दाङ,२५ चैत । घोराहीमा सुरु भएको प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ गुल्मी, पाल्पा, नवलपरासी र अर्घाखाची तथा महिलातर्फ पाल्पा, रुपन्देही, रोल्पा र बाँके जिल्लाका टिमले विजयी सुरुवात गरेका छन् ।
घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समितिको मैदानमा भएको पुरुषतर्फको पहिलो खेलमा दाङलाई पराजित गर्दै गुल्मी जिल्लाको टिमले जित हात पारेको हो । बेष्ट अफ फाइभका आधारमा खेलाइएको खेलमा गुल्मीले दाङलाई ३–० को सोझो सेटमा हराउन सफल भएको थियो । गुल्मी पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा बिजयी हुन सफल भएको थियो ।
त्यसैगरी दोस्रो खेलमा बाँके जिल्लालाई ३–० को सेटमा हराउँदै पाल्पा जिल्ला विजयी भएको छ । पाल्पाले बाँकेलाई पहिलो सेट २५–१९, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१५ ले जित्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । तेश्रो खेलमा नवलपरासीले रोल्पामाथि ३–१ को जित निकाल्न भयो । नवलपरासीले रोल्पामाथि पहिलो सेटमा २५–१९, दोश्रो सेटमा २१–२५, तेश्रो सेटमा २५–११ र चौथो सेटमा २५–२२ को जित निकालेको थियो । त्यसैगरी बुधवारको अन्तिम चौथो खेलमा अर्घाखाचीले बर्दीयामाथि ३–० को सोझो सेटमा जित निकालेको छ । बर्दियामाथि हावी भएको अर्घाखाचीले पहिलो सेट २५–१७, दोश्रो सेट २५–१४ र तेश्रो सेटमा २५–२० को जित निकाल्न सफल भएको थियो ।
महिलातर्फ पाल्पा, रुपन्देही, रोल्पा र बाँके बिजयी
त्यसैगरी महिलातर्फको प्रतिस्पर्धामा पनि पाल्पाले नै विजयी सुरुवात गरेको छ । पाल्पा जिल्लाको महिला टिमले नवलपरासी पश्चिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भएको छ । उक्त खेलमा पाल्पाले २५–१५, २५–६ र २५–२० को सेटमा जित निकाल्न सफल भएको थियो ।
त्यस्तै महिलातर्फको दोश्रो खेलमा रुपन्देहीले प्युठानमाथि ३–० को जित दर्ता गरेको छ । रुपन्देहीका महिला खेलाडीले उत्कृष्ठ प्रदर्शन गर्दै पहिलो सेट २५–१५, दोस्रो सेट २५–७ र तेस्रो सेट २५–१२ ले जित्न सफल भएका थिए । तेश्रो खेलमा रोल्पाले रुकुम पूर्वलाई ३–१ को सेटमा हराउँदै बिजयी भएको थियो । पहिलो सेटमा २५–२० को अंकमा पराजित भएको रोल्पाले खेलमा फर्किदै दोश्रो सेटमा २५–१२, तेश्रो सेटमा २५–१३ र चौथो सेटमा २५–१८ले जित निकाल्न सफल भएको हो । बुधवारको अन्तिम खेलमा बाँकेको टिम बिजयी भएको छ ।
बाँकेले कपिलवस्तुको टिमलाई २५–२२, २५–१५ र २५–१८ को सिधा सेटमा पराजित गर्दै प्रतियोगितामा बिजयी सुरुवात गरेको हो । प्रदेश खेलकुद परिषदको आयोजनामा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका महिला तथा पुरुष टिमको प्रतियोगितामा सहभागीता रहेको छ । प्रतियोगिता चैतको २८ गतेसम्म सञ्चालन हुनेछ ।
