Ad Area

मुख्यमन्त्री कप भलिबल : क्वार्टरफाइनलमा ८ जिल्ला, दाङसहित चार जिल्ला बाहिर


दाङ, २६ चैत। घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा क्वार्टरफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ। घोराही–१५ स्थित जिल्ला समन्वय समितिको मैदानमा सम्पन्न लिग चरणका खेलपछि दाङ, कपिलवस्तु, बर्दिया र बाँके प्रतियोगिताबाट बाहिरिएका छन्।

लिग चरण पार गर्दै नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी, रोल्पा, रुकुम पूर्व, प्युठान र अर्घाखाँची क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। लिग चरणको अन्तिम खेल बाँकी रहँदै अर्घाखाँची र प्युठानले अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन्। बिहीबार भएको पाँचौँ खेलमा रुकुम पूर्वले दाङलाई ३–१ सेटले पराजित गर्‍यो। पहिलो सेट २६–२४ ले जितेको दाङ त्यसपछिका तीन सेट १०–२५, १९–२५ र २४–२६ ले गुमाउँदै पराजित हुन पुग्यो।

छैटौँ खेलमा रुपन्देहीले बाँकेलाई सोझो तीन सेटमा हराउँदै २५–१८, २५–१५ र २५–१४ को जित निकाल्यो। सातौँ खेलमा रोल्पाले कपिलवस्तुलाई ३–० सेटले पराजित गर्दै २५–२२, २५–१४ र २५–२० को जित दर्ता गर्‍यो। आठौँ खेलमा प्युठानले बर्दियामाथि ३–० को सहज जित निकाल्दै २५–१९, २५–१३ र २५–१५ को सेटमा जित हात पार्‍यो।

नवौँ खेलमा गुल्मीले रुकुमलाई ३–१ सेटले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो। गुल्मीले पहिलो सेट २५–२२ ले जित्दा दोस्रो सेट २२–२५ ले गुमाएको थियो भने त्यसपछि २५–२० र २५–१७ ले जित निकाल्यो। दशौँ खेलमा रुपन्देहीले पाल्पालाई ३–१ सेटले पराजित गर्दै अर्को जित हात पार्‍यो। रुपन्देहीले २५–२२, २२–२५, २५–२२ र २५–१९ को सेटमा जित निकाल्दै अन्तिम आठमा स्थान बनायो।

एघारौँ खेलमा नवलपरासीले कपिलवस्तुमाथि ३–० को सहज जित निकाल्दै २५–१९, २५–२० र २५–१९ को सेटमा जित दर्ता गर्‍यो। लिग चरणको अन्तिम खेल अर्घाखाँची र प्युठानबीच हुन बाँकी रहेको आयोजकले जनाएको छ।