Ad Area

मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : सेमिफाइनल खेल्ने टिमको टुंगो


दाङ, २७ चैत । लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा प्रवेश गर्ने टोलीहरूको टुंगो लागेको छ । घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समितिको खेल मैदानमा शुक्रबार क्वाटरफाइनल चरणका खेल सकिएसँगै पुरुषतर्फ गुल्मी, रुपन्देही, नवलपरासी र प्युठान तथा महिलातर्फ रुकुम पूर्व, रुपन्देही, पाल्पा र बर्दिया सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

पुरुषतर्फ भएको पहिलो क्वाटरफाइनल खेलमा गुल्मीले रोल्पालाई सोझो तीन सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । गुल्मीले २५–२३, २५–१७ र २५–२० को सेटमा जित हात पारेको हो । दोस्रो खेलमा रुपन्देहीले अर्घाखाँचीलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रातय गरेको छ । उक्त खेलमा रुपन्देहीले २५–१७, २०–२५, २५–१६ र २५–१३ को सेटमा जित निकालेको थियो । त्यसैगरी तेस्रो क्वाटरफाइनल खेलमा नवलपरासीले रुकुम पूर्वलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

नवलपरासीले २५–१४, २३–२५, २५–१३ र २५–२० को सेटमा जित हात पारेको हो । चौथो खेलमा प्युठानले पाल्पालाई ३–१ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको छ । प्रतिस्पर्धात्मक खेलमा प्युठानले २६–२४, ३०–२८, २३–२५ र २९–२७ को सेटमा जित दर्ता गरेको थियो । प्रतियोगिताको फाइनल प्रवेशका लागि शनिवार विहान पुरुषतर्फ पहिलो सेमिफाइनल खेल गुल्मी र रुपन्देही तथा दोश्रो खेल नवलपरासी र प्युठानबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसैगरी महिलातर्फ भएको पहिलो क्वाटरफाइनल खेलमा रुकुम पूर्वले दाङलाई कडा प्रतिस्पर्धाकाबिच ३–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । रुकुम पूर्वले २३–२५, २५–१६, २३–२५, २५–६ र १५–५ को सेटमा जित निकालेको थियो । त्यसैगरी दोस्रो खेलमा रुपन्देहीले बाँकेलाई सोझो तीन सेटमा पराजित गर्दै सहजै सेमिफाइनल प्रवेश गरेको छ । रुपन्देहीले २५–३, २५–१५ र २५–८ को सेटमा जित हात पारेको थियो ।

त्यसैगरी पाल्पाले रोल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । गतबर्षको बिजेता समेत रहेको पाल्पाले २५–२१, २६–२४ र २५–२० को सेटमा बाँकेमाथि जित निकालेको थियो । शुक्रवार भएको अन्तिम क्वाटरफाइनल खेलमा बर्दियाले गुल्मीलाई ३–२ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । बर्दियाले १६–२५, २५–६, २५–१७, १८–२५ र १५–९ को सेटमा जित हासिल गरेको हो ।

महिलातर्फ शनिवार विहान पहिलो सेमिफाइनल खेल रुकुम पूर्व र रुपन्देही तथा दोश्रो सेमिफाइनल खेल पाल्पा र बर्दियाबीच हुने प्रदेश खेलकुद परिषद लुम्बिनीले जनाएको छ । चैत २८ गते शनिवारसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टिमले नगद एक लाखसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने दोश्रो हुने टिमले नगद ६५ हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।