मुख्यमन्त्री कप भलिबल : पुरुषतर्फ गुल्मी र महिलातर्फ रुपन्देही च्याम्पियन
लीलाधर वली
दाङ, २८ चैत । दाङको घोराहीमा भएको लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८२ को उपाधि पुरुषतर्फ गुल्मी र महिलातर्फ रुपन्देही च्याम्पियन बनेका छन् । घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समितिको मैदानमा शनिबार भएको फाइनल खेलमा गुल्मीले नवलपरासीलाई सोझो ३–० सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । त्यस्तै महिलातर्फ रुपन्देहीले पाल्पालाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको छ ।
पुरुषतर्फको फाइनलमा गुल्मीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो सेट २५–१५, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै जित निकालेको थियो । गत वर्षको विजेता समेत रहेको गुल्मीले यस वर्ष पनि उपाधि जोगाउँदै नगद एक लाख रुपियाँसहित ट्रफी र मेडल हात पार्न सफल भएको छ भने उपविजेता बनेको नवलपरासीले नगद ६५ हजार रुपियाँ, शिल्ड, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन परेको छ ।
पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा रुपन्देहीले प्यूठानलाई ३–१ सेटले पराजित गर्दै तेस्रो स्थान हासिल ग¥यो । चौथो स्थानमा रहेको प्यूठानले सान्त्वना पुरस्कार पायो । तेस्रो हुने रुपन्देहीले ३५ हजार रुपैयाँ तथा चौथो हुने प्युठानले १५ हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी महिलातर्फको फाइनलमा रुपन्देहीले पाल्पामाथि ३–० को सहज जित निकाल्दै उपाधि उचालेको छ ।
रुपन्देहीले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट ३०–२८ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो । विजेता रुपन्देहीले नगद १ लाख रुपियाँसहित ट्रफी र मेडल प्राप्त गर्दा उपविजेता पाल्पाले ६५ हजार रुपियाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । महिलातर्फ तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा रुकुम पूर्वले बर्दियालाई ३–१ सेटले पराजित गर्दै तेस्रो स्थान हासिल गर्दा बर्दिया चौथो हुन पुगेको छ । तेस्रो हुने रुकुम पूर्वले ३५ हजार रुपियाँ र चौथो हुने बर्दियाले १५ हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यसैगरी प्रतियोगितामा पुरुषतर्फ बेष्ट डिफेन्स गुल्मीका सौरभ फुङ्जेली, बेस्ट बल्कर गुल्मीकै चिरण खड्का, बेस्ट सर्भर प्यूठानका विकास गिरी, बेष्ट स्पाइृकर नवलपरासीका कमल गहतराज, बेष्ट प्लेयर गुल्मीका एस्मन पुलामी भएका छन् । त्यसैगरी महिला बेष्ट डिफेन्स रुपन्देहीकी यामकली कवर, बेस्ट बल्कर पाल्पाका लोकमाया बहिम्बु, बेस्ट सर्भर बर्दियाकी रितिका चौधरी, बेस्ष्ट सटर रुपन्देही जानकी खत्री, बेष्ट स्पाईकर पाल्पाकी बिनिता राणा र बेष्ट प्लेयर रुपन्देहीकी निशा चौधरी बन्न सफल भइन ।
बिजेता खेलाडी प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमले पुरस्कार प्रदान गरेका थिए । चैत २५ गतेदेखि सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका खेलाडीहरु सहभागीता रहेको थियो ।
