घोराहीमा दोस्रो लुम्बिनी राष्ट्रिय रोड रेस प्रतियोगिता हुने, बिजेतालाई ८० हजार पुरस्कार
दाङ,३० चैत । दाङको घोराहीमा ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता–२०८३’ हुने भएको छ । एथलेटिक्स खेलको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा आगामी वैशाख १२ गते प्रतियोगिता हुन भएको हो ।
एथलेटिक्स विधाअन्तर्गत आयोजना हुन थालेको उक्त प्रतियोगिताको बिजेता महिला तथा पुरुष खेलाडीले जनही नगद ८० हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार द्वितीय र तृतीय स्थान हासिल गर्नेले क्रमश ४५ हजार र २५ हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यसैगरी सान्त्वना स्थान हासिल गर्नेले १५ हजार, पाँचौँ स्थान हासिल गर्नेले १० हजारसहित छैटौँदेखि दशौँ स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई जनही पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका खेलाडीको सहभागीता हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागीताका लागि इच्छुक खेलाडीले वैशाख ८ गते दिउँसो १२ बजेसम्म दर्ता गरिसक्नुपर्ने परिषद्ले जनाएको छ ।
