Ad Area

जिल्ला फुटबल नकआउट प्रतियोगितामा बडहरा विजयी


घोराही २६, मंसीर । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला फुटबल नकआउट प्रतियोगितामा घोराही १३ को बडहरा युवा क्लवले विजयी शुरुवात गरेको छ ।

घोराही १८ नवलपुर फुटबल मैदानमा आईतबार भएको पहिलो खेलमा मेघा स्पोर्ट्स क्लवलाई ४-२ गोल अन्तरले पराजित गर्दै बडहराले विजयी शुरुवात गरेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै क्लवले दोश्रो हाफमा गोल गरेका थिए । बडहरालाई जीत दिलाउन रविकिरण बुढाले २ गोल गर्दा उपेन्द्र पुन र सन्दीप थारुले १-१ गोल गरे । मेघा स्पोर्ट्स क्लवका तर्फबाट मनिष चौधरी र अभियान थापाले १–१ गोल गरेपनि हार टार्न सकेनन् ।

२०५१ सालमा स्थापित दाङ जिल्ला फुटबल संघले एन्फाको कार्यक्रममा २८ वर्षपछि पहिलो पटक प्रतियोगिता गरिरहेको छ । यसअघि विभिन्न प्रतियोगिता हुने गरेपनि एन्फाको कार्यक्रममा जिल्ला फुटबल नकआउट प्रतियोगिता हुन सकेको थिएन । आईतबारबाट शुरु भएको खेल पुस १ गतेसम्म संचालन हुने दाङ जिल्ला फुटबल संघका महासचिव नरेन्द्र पुनले जानकारी दिए ।

प्रतियोगितामा ७ वटा क्लबले भाग लिएका छन् । दुई पोलमा खेल विभाजन गरिएको छ । प्रतियोगितामा टरीगाउँ युवा क्लब, ज्ञानज्योति इनोभेटिभ एकेडेमी, सक्रिय युवा क्लब बबई, हापुरको अटल युवा क्लब, कपासीको मेघा स्पोर्ट्स युवा क्लब र घोराही १३ को बडहरा युवा क्लबले प्रतियोगितामा भाग लिएका छन् । अव सोमबार २ वटा खेल हुने भएको छ । जसमा घोराही एफसी र अटल युवा क्लवबीच दिउँसो १२ बजे खेल हुने छ भने दोश्रो खेल २ बजेबाट ज्ञानज्योति इनोभेटिभ एकेडेमी र सक्रिय युवा क्लब बबई बीच हुने भएको प्रतियोगिता संयोजक भीम चौधरीले जानकारी दिए ।

Blog Post Ad

जारी प्रतियोगितामा उत्कृष्ट हुने २ वटा क्लबले जिल्ला फुटबल लिगमा स्थान बनाउने छन् । दाङमा जिल्ला फुटबल संघमा हाल १० वटा क्लब आवद्ध छन् । ती क्लवको स्तर अब जिल्ला लिगबाट निर्धारण हुने भएको छ । जिल्लामा दर्ता भएका क्लबहरुको स्तर जिल्ला लिगले निर्धारण गर्ने गरी एन्फाले नयाँ नियम बनाएकाले क्लबहरु अब सक्रिय हुन थालेका र खेलाडी उत्पादनमा केन्द्रित भएका महासचिव पुनले बताए । जारी प्रतियोगिताको नकआउट खेल पछि जिल्ला लिग हुनेछ ।

जिल्ला लिग खेल्नु पर्ने नियम बनेसँगै आफु रेलिगेशनमा झर्ने डरले क्लबहरु क्लबमा लगानी गर्ने, राम्रा खेलाडीलाई स्थान दिने, क्लबको कागजी प्रकृया चुस्त दुरुस्त राख्नेलगायत काममा ध्यान केन्द्रित हुन थालेका महासचिव पुनले बताए । जिल्ला नकआउट प्रतियोगिताबाट उत्कृष्ट भएका दुई क्लबले अर्को वर्ष हुने जिल्ला लिगमा स्थान बनाउने छन् । जिल्लामा यस अघि नै १० वटा क्लव रहेकाले नकआउट प्रतियोगिता खेलेर आएका २ क्लबले लिगमा स्थान बनाउने हुँदा जिल्ला लिगबाट पुछारको क्लब रेलिगेशनमा जाने छ ।

खेलकुदको विकासका लागि स्थानीय सरकार प्रतिवद्ध छ- कार्यवाहक प्रमुख अर्याल 

जिल्ला फुटबल नकआउट प्रतियोगिताको घोराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमु्ख भरत अर्यालले उदघाटन गरे । जिल्ला फुटबल संघका उपाध्यक्ष बुद्धि पुनको अध्यक्षतामा भएको उदघाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष अर्यालले खेलकुदका माध्यमबाट स्वस्थ नागरिक उत्पादनमा सहयोग पुग्ने हुँदा सरकारले खेलकुदका क्षेत्रलाई प्राथमिकता दिएको बताए ।

स्थानीय सरकारका तर्फबाट पनि पालिकामा प्रतिभावान खेलाडी उत्पादन गर्न थुप्रै खेलकुदका कार्यक्रम रहेको बताउँदै आगामी दिनमा आफु र पालिकाको तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाए ।

उदघाटन समारोहमा लुम्बिनी प्रदेश फुटबल संघका कार्यसमिति सदस्य शिवकुमार श्रेष्ठ, नवलपुर फुटबल एकेडेमीका दीपक पुन, राप्ती क्लबका बसन्त पुरी, सन्देश श्रेष्ठलगायतको उपस्थिती थियो । उदघाटन समारोहको सहजीकरण दाङ जिल्ला फुटबल संघका महासचिव नरेन्द्र पुनले गरेका थिए ।

Blog Post Ad Blog Post Ad