Ad Area

पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको तयारी,जिल्ला–जिल्लामा प्रशिक्षण र सेमिनार


दाङ, २७ मंसिर । दाङको घोराहीमा हुन थालेको पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसीपको तयारीलाई अघि बढाइएको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल मार्सल आर्ट्स हाप्किडो संघको सहकार्यमा आगामी माघको २२ देखि २८ गतेससम्म हुने प्रतियोगितालाई सफल बनाउनका लागि संघले तयारीलाई तीव्र गतिमा अघि बढाएको हो ।

राष्ट्रिय प्रतियोगिताको तयारी लागी केन्द्रिय अध्यक्ष लगायत विभिन्न प्रदेश, जिल्लाका पदाधिकारी र राष्ट्रिय निर्णायकको टिम १०० जनाको संख्यामा दाङ जिल्लाको घोराहीमा केन्द्रित भएका छन् । लुम्बिनी प्रदेशको राजधानीको रुपमा रहेको जिल्लामा खेल क्षेत्रको विकाससँगै खेलाडीको स्तरवृद्धिका लागि प्रतियोगिताको तयारीलाई तीव्रता दिइएको नेपाल मार्सल आर्टस हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिएका छन् ।

उनले तयारी स्वरुप अहिले च्याम्पियनसीपको प्रचार–प्रसारदेखि हरेक जिल्लाहरुमा सेमिनार तथा प्रशिक्षण कार्यक्रमहरु गरिरहेको बताए । ‘पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसीपलाई भव्य बनाउन प्रचार–प्रसार, व्यवस्थापनसँगै खेलाडीलाई प्रशिक्षण गर्ने काम गरिरहेका छौँ’, केन्द्रीय अध्यक्ष घर्तीमगरले भने– ‘जसले प्रतियोगितालाई भव्य बनाउनदेखि जिल्लाको खेलक्षेत्रको विकासमा सहयोग पु¥याउनेछ ।’ प्रतियोगिताले खेलाडीहरुको स्तरवृद्धि गर्दै नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउने बताए ।

जिल्लामा खेलकुदको विकासका लागि पहिचान दिनेगरी पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसीप प्रतियोगिताको तयारीलाई तीव्रता दिएको नेपाल मार्सल आर्ट्स हाप्किडो संघका जिल्ला अध्यक्ष भुवन बुढामगरले जानकारी दिएका छन् । उनले प्रतियोगिताको तयारीका लागि वर्कशप, रेफ्री तथा जज सेमिनार भइरहेको बताए । प्रतियोगितालाई सफल बनाउनका लागि जिल्लादेखि लुम्बिनी प्रदेशका जिल्लाहरुमा तयारीलाई अघि बढाइएको अध्यक्ष बुढामगरले बताए ।

जिल्लामा बृहत खेलकुद महोत्सवका रूपमा पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसीपको तयारी थालिएको बताए । हरेक व्यक्तिका लागि आत्मरक्षासँगै स्वास्थ्यका दृष्टिले समेत महत्वपूर्ण मानिएको मार्शल आर्ट्स हाप्किडो खेलप्रति युवा पिढीको आकर्षण बढ्दै गएको छ । च्याम्पियनसीपमा विशेष अतिथिको रूपमा ग्रान्डमास्टर ही क्वान लीलगायत अन्य देशका ग्रान्डमास्टरको उपस्थिति रहने आयोजक दाङ जिल्ला हाप्किडो संघले जनाएको छ ।

यसैबीच नेपाल मार्शल आर्ट्स हाप्किडो खेलसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण सेमिनार घोराहीमा सम्पन्न भएको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ लुम्बिनी प्रदेशको आयोजनामा शनिवार दाङको घोराहीमा प्रदेशस्तरीय प्रशिक्षक सेमिनार सम्पन्न भएको हो । सेमिनारमा लुम्बिनी प्रदेशका १२ जिल्लाका सहायक प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

Blog Post Ad

उक्त प्रशिक्षण सेमिनारलाई नेपाल मार्शल आर्ट्स हाप्किडो संघका संस्थापक अध्यक्ष तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष समेत रहेका सिनियर मास्टर कालीबहादुर घर्तीमगर र केन्द्रीय सहायक प्रमुख प्रशिक्षक भुवन बुढामगरले प्रशिक्षण दिएका थिए । कार्यक्रममा हाप्किडो लुम्बिनी प्रदेशको अध्यक्ष सुवास परियार, उपाध्यक्ष बसन्त घर्तीमगर र केन्द्रीय संघका सलाहकार तुलसी भण्डारीलगायतको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा १४ हजार खेलाडीहरुले नियमित प्रशिक्षण गर्दै आएका छन् । यो खेल स्थानीय तहका स्कूल–स्कूलमा प्रशिक्षण हुँदै आएको छ ।

Blog Post Ad Blog Post Ad