Ad Area

दाङ प्रहरीले यसरी भेटायो हराएको ७ लाख नगद


घोराही २९, मंसीर । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर, दाङका व्यवसायी खिमराज शर्माले मंसीर २६ गते घोराहीस्थित सिद्धार्थ बैंकबाट नगद ७ लाख झिके । उनले उक्त रकम राख्न झोला केही ल्याएका थिएनन् । बैंकबाट निस्किएर उक्त रकम कागजमा बेरेर सामान्य पोलिथिनको भरमा मोटरसाईकलको लेगगार्डमा राखेर नारायणपुरतर्फ लागे । सर्रा नजिक पुगेपछि लेगगार्डमा झुण्ड्याएको पोलिथिन थिएन । बिग्रिएको सडक, खाल्डाखुल्डीका कारण उफ्रिँदै हुइँकिएको मोटरसाईकलबाट नगद ७ लाख रहेको पोलिथिन सडकमै खसेछ । शर्मा तुरुन्तै फकिएर आफु हिँडेको सडकमा खोज्न थाले । तर, पैसा भेटिएन । उनी निरास हुँदै घर पुगे ।

तुलसीपुर उपमहानगरपालिका १२ कचिलाका निमप्रसाद चौधरी र वडा नम्बर ७ का साजन चौधरी घोराहीको भरतपुरमा आफन्तको विवाह खान आएका थिए । उनीहरु बेलुकी घोराहीको रतनपुर, सर्रा हुँदै तुलसीपुरतर्फ जाँदै थिए । घोराही १६ कपासी नजिकै सडकमै केही पोलिथिनमा केही बाहिर बण्डलसहितको पैसाको बिटो देखे । हतारहतार उनीहरुले पैसा उठाएर आफ्नो गन्तव्यमा हुइँकिए । यो बेला उनीहरुको गतिविधि देख्ने एक प्रहरी निरिक्षक थिईन् । उनलाई त्यो पैसा उनीहरुकै होला भन्ने लाग्यो तर जे पनि हुन सक्छ भन्ने सोँचेर उनीहरु सवार मोटरसाईकलको नम्बर नोट गरिन् ।

दुई युवाहरु भने सरासर घर गए । उनीहरुका अनुसार पैसा भेटिएको कसैलाई भनेनन् कहीँ कतैबाट पैसा हराएको बारे जानकारी आए फिर्ता गर्ने निधो गरेका रहेछन् । नगद भेटाएका निमप्रसाद चौधरीले भने, ‘कपासीको आसपासमा बिग्रिएको सडकमै पैसाको बण्डल छरपष्ट थियो, सबै पैसा उठाएर राख्यौँ, पैसा हराएको समाचारमा कतै आयो भने दिउँला भन्ने सोच्यौँ र प्रहरीलाई पनि नभनी घर लग्यौँ ।’

यता, केही समयपछि जिल्ला प्रहरी कार्यालय दाङमा सर्रा आसपासको सडकमा ७ लाख रुपैयाँ खसेर हराएको खबर आयो । लगत्तै निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मुुकुुन्दप्रसाद रिजालले यो बारेमा चासो राखे । संयोग, त्यही बेला लगत्तै अर्को नयाँ नम्बरबाट डिएसपी रिजाललाई फोन आयो । फोन गर्ने व्यक्ति थिईन्, प्रहरी निरिक्षक अनिता महत । उनले सर्रा नजिकै बीच सडकम छरपष्टै रहेको नगद उठाएर लुु ७६ प ८४५७ नम्बरको मोटरसाईकलमा नारायणपुर तर्फ गएको जानकारी डिएसपी रिजाललाई गराईन् ।

लगत्तै रिजालले आफु मातहतको सबै ठाउँमा सर्कुलर जारी गरे । खोजी कार्य निकै तीव्र पारियो । मोटरसाईकल नम्बर बारे सबै जानकारी लिने काम भएपछि अन्ततः प्रहरी पैसा रहेका व्यक्ति नजिक पुग्यो । आईतबार बेलुकी भएको उक्त घटना बारे प्रहरीले यातायात व्यवस्था कार्यालय, मोटरसाईकल शोरुम तथा विभिन्न ठाउँमा मोटरसाईकलको बारेमा सनाखत गर्ने काम भएपछि प्रहरीले सम्बन्धित व्यक्तिको पहिचान २४ घण्टा नबित्दै गर्न सफल भयो ।

Blog Post Ad

प्रहरीले नगद राखेका ती दुई युवाहरुलाई फोन गर्यो, उनीहरुले पैसा आफुहरुले नै भेटाएको र सबै सुरक्षित रहेको जानकारी गराए । तुलसीपुर प्रहरीले सोमबार उक्त रकमसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्यायो । उनीहरुमाथि थप अनुसन्धान गरियो । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रिजालका अनुसार उनीहरुले भेटाएको पैसा सरासर प्रहरी कहाँ आएर बुझाउनु पर्नेमा गुपचुप राख्न खोजेको जस्तो देखिकाले नियन्त्रणमा लिनुपरेको हो । ‘कुनै कारण बिना सार्वजनिक स्थलमा भेटाएको नगद प्रहरी कहाँ आएर जिम्मा लगाएको भए अर्कै कुरा हुन्थ्यो, यो त उनीहरुले पैसा घरमा लगेर राखेर प्रहरीको अनुसन्धान पछि मात्रै स्वीकार गरे यो कानूनले बर्जित गरेको कुरा हो,’ डिएसपी रिजालले भने, ‘कानूनी प्रकृया पूरा गरी हामीले यस खालका गतिविधिमा प्रहरीलाई सहयोग गर्न भन्दै उनीहरुलाई आफन्तको जिम्मा लगाएका छौँ ।’

मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पैसा हराएका व्यक्ति खिमप्रसाद शर्मालाई उक्त नगद हस्तान्तरण गरियो । सो नगद भेटाउने भूमिका खेलेकी प्रहरी निरिक्षक महत, डिएसपी रिजालले संयुक्त रुपमा नगद ७ लाख शर्मालाई दिए । प्रहरी निरिक्षक महत घोराही ११ खैरामा घरमा आफन्तीको विशेमा आएको बेलामा यो संयोग परेको हो । उनी उक्त दिन घोराहीमा आफन्तलाई भेट गर्न आउन लागेको बेला त्यो गतिविधि नदेखेको भए पैसा भेटाउन कठिन हुन सक्ने थियो । प्रहरी निरीक्षक महत महानगरीय प्रहरी शिक्षालय, काठमाडौँमा कार्यरत रहेपनि आफन्तको विवाहमा आएको बेला जिल्ला प्रहरी दाङलाई सहयोग गरेकी हुन् । नगद हस्तान्तरण गर्नुअघि उनले भनिन्, ‘म प्रहरी मात्रै नभएर यो देशको सच्चा नागरिक भएकाले तत्काल सूचना दिएको हुँ । त्यो मेरो कर्तव्य र दायित्व पनि थियो ।’

सो अवसरमा डिएसपी रिजालले सानो असावधानी र लापरवाहीले ठूलो क्षति हुने भएकाले यस प्रकारको गलत काम नगर्न शर्मालाई चेतावनी दिए । नगद जस्तो बस्तुलाई सामान्य रुपमा लिएर सार्वजनिक स्थलको प्रयोग गर्दा सावधानी अपनाउनुको सट्टा लापरवाही गर्ने काम कोही कसैले गर्न नहुने सुझाव दिए । उनले नगद जस्ता बहुमुल्य बस्तुको उचित रेखदेख गर्न र विशेष सावधानी अपनाएर काम गर्न अपिल गरे ।

शर्माका अनुसार उनले पैसा हराएको यो तेश्रो पटक थियो । यसअघि स्वर्गद्वारीबाट आउँदा बसमा ३५ सय रुपैयाँ हराएकोमा पछि भेटिएको थियो । केही समयअघि पनि पसलको ४ लाख व्यागमा राखेर सटर बन्द गरेर बाहिर बेञ्चमा राखेर घर गएपछि पैसा नभेटिएको बताए । पछि खोज्दै जाँदा नजिकैका आफन्तीले सो नगद सुरक्षित राखि दिएको बताए । पटक पटकको लापरवाहीका बीच पनि शर्माले हराएको पैसा भेटाएपनि अब उप्रान्त यस्ता गैर जिम्मेवार काम गरेर पैसा हराए प्रहरी कहाँ नआउन डिएसपी रिजालले चेतावनी दिए । ‘अब फेरी यस्तै गरेर गल्ती गर्ने अनि पैसा हरायो भन्दै हामी कहाँ आउनुभयो भने हामी कुनै सुनुवाई गर्दैर्नौ, लापरवाहीको पनि हद हुन्छ,’ उनले भने ।

शर्माले अब यस्ता कमी कमजोरी नगर्ने र सावधानी अपनाएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । आफ्नो लापरवाहीले गर्दा धेरैले दुख पाएको भन्दै क्षमा याचना पनि गरे । हराएको पैसा फेला पार्न सहयोग गरेकोमा सिंगो प्रहरी युनिटलाई उनले धन्यवाद दिए । हराएको पैसा बुुझ्दै शर्माले डिएसपी रिजाललाई र प्रहरी निरीक्षक महतलाई खादा लगाईदिएर सम्मान प्रकट पनि गरे ।

Blog Post Ad Blog Post Ad