Ad Area

दाङकी सरस्वतीको कप्तानीमा प्रधानमन्त्री कप महिला क्रिकेट खेल्न खेलाडी छनौट


घोराही २९, मंसीर । यही शनिबारबाट हुन लागेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट ४ जना वैकल्पिकसहित १८ सदस्यीय खेलाडी छनौट गरिएको छ ।

रुपन्देहीमा भएको प्रदेश स्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका आधारमा सरस्वती जिएमको कप्तानीमा बुधबार खेलाडी छनौट गरिएको हो । जसको उपकप्तानमा सरस्वती पुन रहेकी छिन् । यस्तै, टोलीको अन्य सदस्यहरुमा नेरी थापा, स्वस्तिका बजगाइँ, रञ्जु श्रेष्ठ, नितु भण्डारी, कृतिका मरासिनी, आश्मा पुलामी मगर, सुस्मिता भुसाल, सरु तिवारी, विवश्ना विसी, लक्ष्मी चौधरी, मधु डिसी र कमला जिएम रहेका छन् । यस्तै, वैकल्पिक खेलाडीमा सरीता जिसी, सर्मिला रोका मगर, अनिता चौधरी र सुस्मिता बजगाइँ रहेका लुम्बिनी प्रदेश छनौट समिति संयोजक कैलाश रोका मगरले जानकारी दिए । उनका अनुसार टीमको प्रशिक्षकमा सञ्जु क्षेत्री र व्यवस्थापकमा उमा अधिकारीलाई जिम्मेवारी दिइएको छ । पहिलो पटक कप्तानीको जिम्मेवारीमा रहेकी सरस्वती दाङकी हुन् । उनले रुपन्देहीमा भएको छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिन् ।

मंसिर २५ गतेदेखि भएको छनोट प्रतियोगितामा रुपन्देही च्याम्पियन भयो । भैरहवास्थित सिद्धार्थ रंगशालामा मंगलबार भएको फाइनल प्रतिस्पर्धामा दाङलाई १८ रनले पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो । दाङ उपविजेता बन्यो । यो प्रतिस्पर्धाबाट महिला क्रिकेटमा रुपन्देही पहिलोपल्ट च्याम्पियन भएको हो । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ मध्ये रुपन्देही, दाङ बाँके र पश्चिम नवलपरासी गरी ४ जिल्लाका महिला क्रिकेट खेलाडी सहभागी भएका थिए ।

छनौटमा परेका खेलाडीहरुले अब पुस ३ गतेबाट धनगढीमा हुन लागेको प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रतिष्पर्धा गर्ने लुम्बिनी प्रदेश छनौट समिति संयोजक रोका मगरले जानकारी दिए ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा धनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेल बिहान ९ बजे साविक विजेता प्रदेश नम्बर १ र कर्णाली प्रदेशबीच खेल हुनेछ । यस्तै, पुस ३ गते नै दिउँसो १ बजे दोश्रो खेलमा लुम्बिनीले वागमति प्रदेशको सामना गर्नेछ ।

Blog Post Ad

प्रतियोगितामा नेपालको सात प्रदेश र विभागीय टोली एपीएफ गरी ८ टोली सहभागी हुदैछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ए मा प्रदेश १, लुम्बिनी, बागमती र कर्णाली छन् । यसैगरी समूह बी मा नेपाल एपीएफ, सुदूरपश्चिम, गण्डकी र प्रदेश २ छन् ।

टी–२० फर्म्याटमा हुने प्रतियोगिताको खेलहरु फाप्ला क्रिकेट मैदानमा हुनेछ । दुवै समूहको शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पुस ११ गते हुनेछ । गत वर्ष दाङको लमही क्रिकेट मैदानमा प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा प्रतियोगितामा प्रदेश १ ले एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो ।

Blog Post Ad Blog Post Ad