Ad Area

स्वास्थ्य मन्त्रालयले थाल्यो स्थायी राजधानीबाट काम


दाङ, २९ मंसिर । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यका घोषणा भएको १४ महिनापछि दोश्रो मन्त्रालयका रुपमा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले काम सुभारम्भ गरेको छ । देउखुरीको राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियामा मन्त्रालय स्थापना गरेर बुधबारदेखि सेवा दिन थालेको हो ।

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले मन्त्रालयको उद्घाटन गर्दै अव मन्त्रालयले सम्प्पूर्ण रूपमा सेवा स्थायी राजधानीबाट दिने बताएका हुन । उनले स्थायी राजधानीबाट अन्य मन्त्रालयहरुले पनि विस्तारै सेवा शुरू गर्ने बताए ।

मन्त्री थारूले संघीय सरकार र प्रदेश सरकारको नीति अनुसार सबै पालिकामा १५ सैयाको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरु जानकारी दिँदै स्वास्थ्य सेवामा मध्यकालीन तथा दीर्घकालीन रणनीतिका साथ काम भै रहेको बताए । कार्यालय उदघाटन कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी वली खत्रीले स्थायी राजधानीमा मन्त्रालयले काम सुरु भएसँगै नागरिकले सरल र सहज रुपमा सेवा पाउने बताइन् ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सेवा मुलक मन्त्रालय भएका कारण सेवा दिने काममा कमी नहुने बताए । निर्देशनालय, आपूर्ति, तालिम र प्रयोगशालाको कार्यालयको छिटो प्रबन्ध गर्दै मन्त्रालयलाई पूर्ण रूपमा संचालनमा ल्याउन कार्य अगाडि बढाइको उनले बताए ।

प्रदेशको स्थायी राजधानीमा पहिलो मन्त्रालयका रुपमा ग्रामीण तथा सहरी विकास मन्त्रालय आएको थियो । तर स्थायी राजधानीमा कर्मचारीहरुका लागि आवासीय सुविधा नभएको भन्दै आउन नमानेपछि मन्त्रालयले अस्थायी राजधानी बुटवलबाटै मन्त्रालयको सेवा दिने गरेको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad