Ad Area

हाम्रो पहुँच र सप्तरंगी सहकारीबिच एकिकरण


तुलसीपुर, २ पुस । तुलसीपुरका दुई सहकारीबिच एकिकरण (मर्ज) भएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सप्तरंगी बहुमुखी सहकारी संस्था लिमिटेड बिच एकिकरण भएको हो ।

तुलसीपुर–७ मा रहेको हाम्रो पहुँच र तुलसीपुर–१७ मा रहेको सप्तरंगी सहकारी शुक्रबार (आज) औपचारिकरुपमा एकिकरण भएका हुन् । तुलसीपुर उपमहानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ६ को उपदफा १ बमोजिम दुई सहकारी बिच एकिकरण भएको प्रमाणपत्र आज नगरप्रमुख घनश्याम पाण्डेले हस्तान्तरण गरेका हुन ।

नगरप्रमुख पाण्डेले संघ, प्रदेश र स्थानीय सरकारको सहकारी मर्जको नीति अनुरुप नै तुलसीपुर उपमहानगरपालिकामा पहिलो पटक हाम्रो पहुँच र सप्तरंगी एकिकरण भएको बताए । एकिकरणपछि पनि सहकारीको नाम हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिए ।

दुई सहकारी मर्जलाई अन्तिम रुप दिन दुवै सहकारीको प्रक्रिया गत वर्षदेखि नै शुरु भएपनि तुलसीपुर उपमहानगरपालिकामा एकिकरणसम्बन्धि कानुन निर्माणमा ढिलाई भएका कारण केहि ढिला गरी एकिकरण भएको उनले बताएका थिए । उनले छरिएर रहेका सहकारीलाई मर्ज गर्ने सरकारको नीति अनुरुप तुलसीपुरमा पहिलो पटक दुई सहकारी एकिकरण भएको बताए । एउटै उद्देश्य भएका सहकारी संस्थासंग एकिकरणको अभियानलाई निरन्तर अगाडी लैजाने उनको नाई छ ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष बिजय सुवेदीले दुवै सहकारीको एकिकरणपछि वासलात १५ करोड पुगेको बताए । दुई सहकारीको एकिकरणपछि करिब २ हजार ५ सय शेयर सदस्य पुगेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिए । तुलसीपुर–१८ दुधरासमा एकिकरणपछिको पहिलो सेवा केन्द्र छिट्टै संचालन हुने बताएका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad