Ad Area

जनताले प्रश्न गर्न थाले, तपाई ! नागरिकको पत्रकार कि राजनीतिक दलको झोले पत्रकार ?


घोराही ३, पुस । अहिलेको मिडियामा केवल रुपान्तरणले मात्रै नपुग्ने प्रेस काउन्सिलका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले टिप्पणी गरेका छन् । बदलिँदो परिवेशमा सबै विषय र क्षेत्रमा रुपान्तरण हुनु स्वाभाविक भएपनि पत्रकारहरुमा पत्रकारिताको मर्म र धर्म नमर्ने गरी रुपान्तरण हुन आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको २९औँ स्थापना दिवसको अवसरमा आयोजित ‘नागरिकको आँखामा मिडिया’ विषयक अन्तरक्रियामा दाङ शाखाको संस्थापक अध्यक्षसमेत रहेका उनले अहिलेको अवस्थामा मिडियामा व्यापक रुपान्तरण हुँदै गएकाले पुस्तान्तरण अवश्यम्भावि रहेको बताए ।

‘हामी सबैको चाहना युवा पुस्ता आउनुपर्छ भन्ने नै हो तर, मिडियामा नयाँ पुस्तासँगै काम गर्न सक्ने जनशक्ति आयो कि आएन यो विषय अबको समिक्षामा हुनुपर्छ,’ उनले भने । अहिले मिडियामा रुपान्तरणका नाममा विभिन्न खालका आँच आउने गतिविधि बढ्दै गएको प्रति चासो व्यक्त गर्दै उनले सतही रुपमा आउने पत्रकारहरुका कारण सिंगो पत्रकारितामाथि प्रश्न उठाउने काम गर्न नदिने गरी सिंगो पत्रकार महासंघले भूमिका खेल्नुपर्ने उनको धारणा थियो । उनले भने, ‘यो वा त्यो नाममा वैचारिक आस्था राख्ने, पत्रकार हुँ भन्ने तर अध्ययन कम, खोज कम गर्ने अनि विभिन्न सुख सुविधामा रमाउने र राजनीति गर्ने प्रवृत्ति बढेको छ । यसलाई सच्याउन बेलैमा पहल थाल्नुपर्छ ।’

उनले पत्रकारितामा हिजोभन्दा आज राम्रो के गर्न सकियो भनेर नागरिकहरु माझ देखाउन सक्ने बलियो आधार बनाउन अपिल गरे । अन्यथा, नागरिकको पत्रकार कि राजनीतिक दलका झोले पत्रकार भनेर नागरिकले सबैलाई प्रश्न गर्ने अवस्था आउन सक्ने बताए । जसका लागि आत्मसमिक्षा आवश्यक रहेको हुँदा आफुले कमाएको विश्वसनीयता कुनै पनि हालतमा घट्न दिने काम कोही कसैले गर्न नहुने तर्क पनि गरे ।

यसैगरी, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले जवाफदेही र नैतिक शक्ति आफुमा हुन नसक्दा पत्रकारितामा स्खलन आउन लागेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, प्रेस आलोचनात्मक चेत पैदा गर्ने थलो हो । सकारात्मक बाटोमा पत्रकारिता हुनुपर्छ । समाजमा विविधता छ, स्वरुप फरक भएपनि अरुको अस्तित्व स्वीकार्नु पर्छ । यसतर्फ सबै गम्भीर बन्न आवश्यक छ । उनले पत्रकारितामा नागरिकको घट्दो विश्वसनीयतामा राजनीतिक शक्ति हावी नै प्रमुख कारक रहेको जिकिर गरे । यसबाट अछुतो कसरी बनाउने भन्नेमा अब संगठनले सोच्नुपर्ने उनको सुझाव थियो ।

Blog Post Ad

यसैगरी, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले अध्ययन बिनाको पत्रकारिताले पछिल्लो समस्या पैदा गर्दै लगेकाले यो पत्रकार महासंघको समिक्षाको मुख्य विषय बन्नुपर्ने बताए । सतहीमा काम हुन थालेपछि नागरिकको नजरमा पत्रकारिता क्षेत्रलाई हेर्ने दृष्टिकोण कमजोर बन्दै जाने हो भने विश्वसनीयतामै प्रश्न उठ्ने बताए । उनले अब आम नागरिकले पत्रकार पत्रकारिताको बारेको सोँच बदल्दै विश्वसनीयता बढाउन आवश्यक रहेको बताए । सञ्चारका माध्यम बढे पनि स्तरीयता बढाउन नसक्दा पनि अहिलेको अवस्था सिर्जना हुँदै गएकाले महासंघ, सरोकार संस्था, संचार प्रतिष्ठान र नियामक निकायले यस तर्फ ध्यान दिनु पर्ने आवश्यकता औँल्याए । यसका लागि अब पत्रकार महासंघले मात्रै आफै गर्न सक्ने अवस्था नहुने हुँदा समाजमा हुने घटना क्रम र विषयका क्षेत्र बारे नागरिकले पनि एजेन्डा दिनुपर्ने तर्क गरे ।

सो अवसरमा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी , नेपाली कांग्रेस दाङका उपसभापति गिरीराज सुवेदी, जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, ग्रामीण महिला उत्थान केन्द्रका एचबी थापा, नेपाल महिला सामुदायिक सेवा केन्द्रकी अध्यक्ष कल्पना न्यौपाने, पत्रकार सुदर्शन रिजाल, टीका बस्नेत, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीलगायतले आआफ्नो भनाई राखेका थिए ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी सबैलाई उपाध्यक्ष बसुन्धरा गौतमले स्वागत गरेकी थिईन् भने विषयबस्तु बारे उपाध्यक्ष सन्तोष सुवेदीले प्रकाश पारेका थिए । यसअघि बिहीबार महासंघले रक्तदान कार्यक्रम गरेको थियो भने शनिबार पनि कार्यक्रमको आयोजना गरेको छ ।

Blog Post Ad Blog Post Ad