Ad Area

प्रदेश २ मा आजदेखि अधिवेशन गर्दै कांग्रेस, सभापतिमा को-को छन् आकांक्षी ?


काठमाडौं,६ पुुस । नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा आजदेखि प्रदेश अधिवेशन गर्ने भएको छ। यसअघि छ वटा प्रदेशमा अधिवेशन भइसकेको छ।

केन्द्रीय महाधिवेशन सकेर प्रदेश २ मा प्रदेश अधिवेशन गर्न लागिएको हो। अधिवेशनले प्रदेश सभापति, उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू चयन गर्नेछ।

प्रदेश सभापतिका लागि मुख्यगरी दुई जना मैदानमा देखिएका छन्। आज उम्मेदवारको मनोनयन गर्नुपर्ने चुनावी कार्यतालिका छ भने बुधबार मतदान हुनेछ।

प्रदेश २ का भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका संसदीय दलका नेता रामसरोज यादव, रौतहट कांग्रेसका सभापति कृष्णा यादव र सिरहाका नरेश यादव प्रदेश सभापति पदका आकांक्षी छन्। नरेश नेता शेखर कोइराला पक्षका मानिन्छन्।

सभापतिका आकांक्षीमध्ये रामसरोज विमलेन्द्र निधिनिकट छन्। कृष्णा सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।

सभापति पदमा निधिनिकट रामसरोजलाई कांग्रेस नेता शेखर कोइराला पक्षले समर्थन गर्ने गरी छलफल अगाडि बढेको स्रोतको दाबी छ। कोइराला पक्षले रामसरोजलाई समर्थन गरे नरेश पछि हट्नेछन्।

Blog Post Ad

प्रदेश अधिवेशनका लागि केन्द्रीय नेताहरू प्रदेश पुगेका छन्। निधि जनकपुरमा पुगिसकेका छन् भने गृहमन्त्री बालकृष्ण खाण र केन्द्रीय सदस्य उदयशम्शेर राणा पनि जनकपुर जाने कार्यक्रम छ।

यस्तै कोइराला पक्षबाट गुरूराज घिमिरे, भूपेन्द्रजंग शाहीलगायत नेता जनकपुर गएका छन्। घिमिरे प्रदेश नम्बर १ र शाही कर्णालीमा कोइराला पक्षबाट प्रदेश सभापतिमा उम्मेदवार थिए, उनीहरू पराजित भएका थिए।

प्रदेश अधिवेशनमा एक हजार ९ सय ८० मतदाता छन्। प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र भातृ तथा शुभेच्छुक संघसंस्थामा तोकिएका प्रतिनिधि प्रदेश अधिवेशनका मतदाता हुन्छन्।

प्रदेश २ का आठवटै जिल्लामा जिल्ला अधिवेशन पनि हुन बाँकी छ। कांग्रेसले केन्द्रीय महाधिवेशनपछि प्रदेश २ को प्रदेश अधिवेशन र बाँकी रहेका जिल्लामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो।

क्रियाशील सदस्यता विवाद र समयमै अधिवेशनहरू नहुँदा प्रदेश २ मा केन्द्रीय महाधिवेशनपछि अधिवेशनहरू हुन लागेका छन्।

Blog Post Ad Blog Post Ad