Ad Area

परियार फरार प्रकरणमा कारागारका जेलरसहित सात जना पक्राउ


दाङ १३, पुस । घोराही कारागारका नाइके यमराज परियार फरार प्रकरणमा कारागारका जेलरसहित सात जना पक्राउ परेका छन्।

घोराहीका जेलर युवराज परियार, कारागारका असई रुद्रबहादुर सेन, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, घोराही उपमहानगरपालिका वडा नं. १६ रतनपुरकी विपाशा चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ की समी चौधरी र घोराही होटल प्याराडाइजका सौजन्य खनालसमेत गरी सात जना पक्राउ परेका छन् ।

खनाल यसअघि पनि कारागारको कारबाही भुक्तानी गरेर निस्किएको व्यक्ति भएको र उनले नै होटलमा युवती लगायत अन्य कुराको व्यवस्थापनको भूमिका खेलेको स्रोतले बताएको छ।

पक्राउ परेकामध्येको नाम नखुलाइएका हवल्दार खासै दोषी नदेखिएको पनि स्रोतले जानकारी दिएको छ।

घटना अनुसन्धान अधिकृत अमर वलीका अनुसार दाङ जिल्ला अदालतबाट सोमबार बेलुकी पक्राउ पुर्जी जारी हुनासाथ उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

तर घोराही कारागारका जेलर युवराज परियार भने दुई दिन अगाडि नै पक्राउ परी सकेको भए पनि अदालतबाट कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरूको पक्राउबारे जानकारी दिइएको स्रोतको दाबी छ।

Blog Post Ad

घोराही कारागारका जेलर पक्राउ परेलगत्तै उनको जिम्मेवारी खोसेर तुलसीपुर कारागारका जेलेर वलीलाई तत्कालका लागि जिम्मेवारी तोकिएको थियो। कारागार शाखाको अनुसन्धान पनि जेलरकै नेतृत्वमा हुने हुँदा अनुसन्धान सकेरमात्रै उनीहरू पक्राउ परेकोबारे जानकारी दिइएको छ।

यसअघि कारागारका नाइके बिहीबार भागेपछि आइतबार घोराहीका जेलर युवराज जिल्ला प्रशासन कार्यालय तानिएको जानकारी प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका थिए।

जेलर परियार आफू बिदामा रहेकैबेला नाइके परियारलाई उपचारका लागि लैजान अनुमति दिएको अनुसन्धानबाट खुलेको स्रोतले बताएको थियो। नाइके यमराज भागेकै दिन दिउँसो जेलर युवराज र यमराजको बीचमा समेत फोन संवाद भएको कलडिटेलका आधारमा पत्ता लागेको थियो।

यसअघि नाइके परियार घोराही कारागारका चौकीदार थिए। बालकृष्ण खाण गृह मन्त्री भएपनि नेपाली काँग्रेस निकट मानिने नेपालगन्जका रिगल ढकाल कारागारका चौकीदार बनाइएका थिए। त्यसपछि यमराज नाइके बनेका थिए। यमराजलाई चौकीदार बनाउनेदेखि नाइके बनाउने सम्मका गतिविधिमा कारागारका जेलर युवराजले प्रक्रिया समेत मिचेको देखिएको स्रोतले बताए।

त्यस्तै कुनै पनि बिरामी नरहेका नाइके परियारलाई बिहीबार बिहान ११ बजेतिर छालासम्बन्धी स्वास्थ्य उपचार गराउन भनेर पठाएको कुरा अनुसन्धान अधिकृतले बताएका थिए।

यसरी भागेका थिए नाइके परियार

बिहीबार बिहान कारागारबाट प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै मोटरसाइकलमा राखेर उनलाई उपचारका लागि भनेर लगेका थिए।

तर चौधरीले नाइके परियारलाई अस्पताल नपुर्याई घोराहीस्थित प्याराडाइज होटल एण्ड रेस्टुरेन्टमा नास्ता खान पुगेका थिए। त्यहाँ थप दुई युवती भेटिए। चार जनाले सँगै बसेर कफी खाए।

त्यसपछि उनीहरु घोराहीस्थित सब्जीमण्डी पुगे। त्यहाँबाट थकाली होटलमा दुइटा कोठा लिएर बसेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए।

त्यसको केहीबेरमै युवतीसँगै प्रहरी जवान चौधरीलाई नाइके परियारले कोठामा बाहिरबाट चुकुल लगाइ आफू प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर फरार भएका थिए।

राजपुर गाउँपालिका बेलका यमराज परियार आफ्नै गर्भवती प्रेमिका हेमा चौधरीलाई हत्या गरेको खुलेपछि कर्तव्य ज्यान मुद्दामा साढे सात वर्ष कैद सजाय भोगिसकेका थिए। उनलाई जिल्ला अदालतले २० वर्ष कैद फैसला सुनाएको थियो। परियारले भाग्न प्रयोग गरेको प्रहरी जवान चौधरीको मोटरसाइकल शुक्रबार लमही बजारदेखि केही माथिको जंगलमा फेला परेको थियो।

Blog Post Ad Blog Post Ad