Ad Area

स्थानीयसँग सहकार्य नगर्दा विपश्यना ध्यान केन्द्रमा समस्या, निकास खोज्ने सहमति


घोराही १३, पुस । मानिसलाई चरित्रवान, कर्तव्यनिष्ठ, इमान्दार बन्न प्रेरित गर्दै सभ्य, सुसंस्कृत समाज निर्माणमा भूमिका खेल्ने उद्देश्यले संचालित विपश्यना ध्यान तथा चरित्र निर्माण केन्द्र धम्मपरागमा भएको पछिल्लो घटना प्रति केन्द्रले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरी केन्द्रले घोराही १३ तुरुन्तपुरस्थित ध्यान केन्द्र परिसरमा लगाइएको तारजालीमा डोजर लगाई उखेल्ने, पूर्वाधारमा क्षति गर्ने तथा शान्त वातावरणमा खलल पुर्याउने काम भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

केन्द्रका अध्यक्ष नारायणप्रसाद शर्माले पत्रकार सम्मेलन गरी भने, ‘ २०७८ साल पुस १० गते शनिवारको कुरा हो, सदाझै बाल शिविर चलिरहेको थियो । ध्यान केन्द्रको धम्म हलमा २० जना छात्राहरु आनापान अभ्यासमा निमग्न थिए । त्यसै समयमा डोजरसहित त्यहाँ एक हुल मानिसहरु आएर ध्यान केन्द्र परिसरभित्र पसि त्यहाँ डोजर लगाउने, तारजाली उखेल्ने, पोल उखेल्ने काम गर्न थाले । ध्यान केन्द्र परिसरमा खाल्डा खनेर विभाजनको रेखा कोर्ने काम गरियो। भवन छेवैबाट पूर्व दक्षिणतर्फ रेखांकन गर्दै डोजर लगाएर बाटो बनाइयो । भवनको छेवैबाट बाटो जाँदा डेढ करोड बढीका संरचनामा क्षति पुग्ने त छदैछ मौन साधना हुने स्थानमा गाडीको चहलपहल हुने गरी मिल्दै नमिल्ने काम गरिएको छ ।’

सो क्षेत्रको जमीन उपभोगका लागि नेपाल सरकारको संस्था दर्ता ऐन अन्तर्गत दर्ता भई संस्थाले आफ्ना गतिविधि गर्दै आएको जनाएको छ । संस्थाले घोराही उपमहानगरपालिका वडा नम्बर १३ को मिति २०७६-१०-०३ को पत्र संख्या २०७६-०७७ चलानी नं. १७०६ सिफारिसमा घोराही उपमहानगरपालिका –१३ अन्तर्गत साविक सेवार वनागाउँ २ ख कित्ता नम्बर ५७ र ४७ मा दर्ता श्रेस्ता कायम भएको प्रति ऐलानी जग्गामा घोराही उपमहानगरको अनुमति पश्चात संस्थाका लागि आवश्यक भवन, तटबन्ध निर्माण गर्ने तथा तारवारको केही काम सम्पन्न गरिसकेको जनाएको छ । अहिले त्यहाँ असोज १६ गतेदेखि १९ गतेसम्म पहिलो पटक ध्यान शिविर पनि गरिसकिएको छ भने त्यसपछि केन्द्रमा दुई वटा १० दिने शिविर तथा नियमित रुपमा बाल शिविर सञ्चालन संचालन हुँदै आएका छन् ।

विपश्यना ध्यान तथा चरित्र निर्माण केन्द २०७६ सालमा स्थापित संस्था हो । शान्ति, अहिंसा र करुणाका प्रतिमूर्ति विश्व शान्तिका अग्रदूत महामानव गौतम बुद्धले प्रतिपादन गर्नुभएको विपश्यना ध्यानका माध्यमबाट मानिसलाई चरित्रवान, कर्तव्यनिष्ठ, इमान्दार बन्न प्रेरित गर्दै सभ्य, सुसंस्कृत समाज निर्माणमा अग्रसरता बढाउने उद्देश्यले यो संस्था संचालनमा रहेका बेला अचानक भएको उक्त घटनाले संस्थाको कामकारवाही र त्यहाँ राखिएको करोडौँका भौतिक सम्पत्तिको सुरक्षामा खतरा बढेको भन्दै केन्द्रका अध्यक्ष शर्माले उत्पन्न असहज परिस्थिती प्रति सबैले भूमिका खेल्दै निकासका लागि आग्रह गरे । पत्रकार सम्मेलनमा सो क्षेत्रका स्थानीय नागरिक, टोल विकास संस्थाका पदाधिकारीलागयत पनि सहभागी थिए ।

Blog Post Ad

घोराही उपमहानगरपालिकाको सहयोगमा जग्गा प्राप्त भएपछि भवन निर्माणमा लुम्बिनी प्रदेश सरकारको करोड बढीको सहयोग, सिंचाई कार्यालयको ४० लाख बढीको सहयोगमा भवन तथा तटबन्ध निर्माणका काम भैसकेका छन् । सरकारी जमीनमा सरकारकै लगानीमा स्थापना गरिएको सो केन्द्र सार्वजनिक सम्पत्ति भएकाले सबैको साझा दायित्व रहेको बताउँदै केन्द्रका अध्यक्ष शर्माले हाल देखा परेको असहज अवस्थाको निकासका लागि घोराही उपमहानगरपालिकाले नै अग्रसरता लिनुपर्ने माग गरे । उनले भने, ‘यहाँ कोही कसैसँगै रिसराग, वैमनस्यता होईन, छैन, विपश्यना ध्यान केन्द्र सबैको साझा सम्पत्ति हो, यसलाई बचाउने र हटाउने जिम्मेवारी हामी सबैको हातमा छ, त्यसैले कोही कसैलाई बाधा नपर्ने गरी समाधान खोजौँ, यसको अभिभावकत्व उपमहानगरले लेओस् ।’ ‘गल्ती हामीबाट पनि भयो होला, गल्ती तपाईहरुबाट पनि भयो होला अब सबैको भलो हुने गरी निकास खोजौँ, केन्द्र सबैको सम्पत्ति हो,’ उनले भने ।

सार्वजनिक सम्पत्तिको संरक्षण गरी विपश्यना ध्यान केन्द्रलाई निर्वाध रुपमा सञ्चालन गर्न स्थानीय नागरिकले पनि सहयोग गर्ने वचन दिएका छन् । उनीहरुले केन्द्र बन्नु सबैको गौरवको विषय भएको र पदाधिकारीहरु प्रति आफुहरुको कुनै द्वेषभाव नरहेको पनि बताए । साविकको अवस्थामा सो क्षेत्रमा चलनचल्नीका रुपमा रहेको बाटो खुला गर्न उनीहरुले माग गर्दे पटक पटक आग्रह गर्दा सुनुवाई नभएपछि बाध्य भएर बार उखेलेको प्रतिक्रिया दिए ।

केन्द्रको परिसरमा खाल्डो खनिएको र भवनको छेवैँबाट पूर्व दक्षिण रेखांकन गरेर डोजर लगाएर बाटो बनाईनु सार्वजनिक बाटो भएकाले त्यसो गरिएको अखबरे टोल विकास संस्थाकी अध्यक्ष भागीरथी पुनले बताईन् । उहाँले कोही कसैलाई थिचोमिचो नगरी साविकको बाटो कायम हुनुपर्ने बताईन् । यस्तै, तुरुन्तपुर टोलविकास संस्थाका उपाध्यक्ष ठगेन्द्र गिरीले केन्द्रको भवन बनेको छेऊको काभ्राको रुखको पश्चिमबाट बाटो हुनुपर्नेमा त्यसो नभएपछि स्थानीय टोलबासीले प्रतिवाद गरेको बताए ।

यस्तै, तुरुन्तपुर कै अर्का स्थानीय तुलसीराम बुढामगरले यसअघि भएको सहमति अनुसार काम हुन नसक्दा समस्या सिर्जना भएको बताए । अब यसको निकास निकाल्दै अघि बढ्नपर्ने बताए । बडहरा जागृति टोल विकास संस्थाका अध्यक्ष दयाजी रोकाले सबैको साझा सम्पत्तिको रुपमा रहेको विपश्यना ध्यान केन्द्रलाई निर्वाध शान्त वातावरणमा संचालन गर्ने प्रतिवद्धता सबैबाट आउनुपर्ने र बाटोको निकास खोजिनु पर्ने बताए । ‘समस्या हामीबाटै भएको हो यसको निकास पनि हामी आफैले खोजौँ,’ उनले भने ।

यसैगरी वडा नम्बर १४ का स्थानीय कैलाश रोकामगरले एकअर्का संस्था तथा स्थानीय बीच समन्वय अभावमा समस्या उत्पन्न भएको बताए । समस्या एकअर्का बीच सहकार्य नगर्दा भएकाले यसको निकास अब सबै एकै थलोमा बसेर स्थानीय सरकारको उपस्थितीमा खोज्न सकिने बताए । अर्का डुम्बर गाउँ टोलविकास संस्थाका सदस्य नन्दराम घर्तीले कुनै ठूलो नभएको भन्दै बाटोको निकास हुनासाथ समाधान हुने बताए ।

सो अवसरमा घोराही १३ का वडा सदस्य केशव गिरीले स्थानीय टोल विकास संस्था, नागरिक अगुवाहरुसँग सहकार्य गरी काम नगरिँदा समस्या आएको बताए । अब यसको निकासका लागि घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको उपस्थितीमा समस्या भएको क्षेत्रमै समाधान खोजिने बताए । ‘हिजो काम अघि बढाउँदा कतिपय कुराहरु व्यहारिकतामा आधारमा सहमति गरियो, अहिले यो समस्या होला भन्ने लागेन, तर समस्या आईलाग्यो अब यसको निकासका लागि हामी गम्भीर रुपमा अघि बढ्छौँ, स्थानीयलाई बाटो पनि दिने र केन्द्र पनि निर्वाध रुपमा शान्त वातावरणमा संचालन गर्ने अवस्था निर्माण गछौँ,’ उनले भने ।

पत्रकार सम्मेलनमा वडा नम्बर ११ का वडा अध्यक्ष कुलबहादुर लामिछानेले स्थानीय स्तरमा देखा परेको समस्या सबैको सामुहिक प्रयासबाटै निकास निकाल्नु पर्नेमा जोड दिए । स्थानीय टोलविकास संस्थाका पदाधिकारी तथा नागरिकहरुले पनि विपश्यना ध्यान केन्द्रको संरक्षण र सम्वद्र्धनका लागि आफुहरु गम्भीर रहेको बताएका छन् । उनीहरुले साविकको अवस्थामा रहेको सार्वजनिक बाटोको निकास जसरी पनि हुनुपर्ने अडानमा रहेका छन् । अब अर्को चरणको बैठक तत्कालै बसी समस्याको निकास खोज्ने सहमति भएको छ ।

Blog Post Ad Blog Post Ad