Ad Area

मुलुकभर ६२ वटा प्रेस स्वतन्त्रता हननका घटना, दाङमा ३ पत्रकारमाथि दुर्व्यवहार


दाङ १७, पुस । अंग्रेजी वर्ष सन् २०२१ समाप्त हुँदै नयाँ वर्ष शनिबारबाट सन् २०२२ प्रारम्भ भएको छ । अंग्रेजी वर्षको एक वर्षको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ । नेपाल पत्रकार महासंघका अनुसार यो वर्ष पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण रहेको उल्लेख छ । महासंघको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएकोमा सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ सम्म ६२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । ६२ वटा घटनामा १ सय ९० जना पत्रकार पीडित भएका छन् भने ४ वटा सञ्चारमाध्यम प्रभावित भएका छन् ।

यस वर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुर्व्यवहारका घटना भएका छन् भने पेशागत असुरक्षाका १० वटा घटना भएका छन् । त्यस्तै, कब्जा र अवरोधका १० वटा घटना भएका छन् भने पत्रकार आक्रमणका ५ वटा घटना भएका छन् । यसैगरी पत्रकार गिरफ्तारीका ४ वटा घटना भए भने नीतिगत बन्देजको एक वटा घटना भएको महासंघको अभिलेखमा छ । समग्रमा यो वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार सङ्कलनका क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुर्व्यवहार लगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेका महासङ्घले जनाएको छ । भ्रष्टाचार, अनियमिततालगायतका समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चारमाध्यमले यस्तो समस्या बेहोर्नु परेको महासंघको निष्कर्ष छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्षका रुपमा रहेको बताए । ‘तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको हुँदा नेपाली पत्रकारहरुको अवस्थामा चुनौतिपूर्ण रहेको पाईएको छ,’ उनले भने ।

यो वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार संकलनमा क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुर्व्यवहारलगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेका उनको भनाई छ । भ्रष्टाचार, अनियमिततालगायतका समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चारमाध्यमले यस्तो समस्या बेहोर्नु परेको उल्लेख गर्दै उहाँले राज्य पक्ष वा गैरराज्य पक्षबाट भएको यस प्रकारको ज्यादती निकै दुखदायी रहेको बताए ।

‘विभिन्न समूहले गरेको विरोध प्रदर्शनको समाचार संकलनका क्रममा प्रहरीको लाठी प्रहारबाट पत्रकारहरू घाइते हुन पुगेका छन् । यो वर्ष सार्वजनिक कार्यक्रमका समाचार संकलनमा पत्रकारलाई रोक लगाउने कामले निरन्तरता पाएको छ, यो हुनुभनेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउनु हो,’ अध्यक्ष पोख्रेलले भने, ‘संसद्, संसदीय समितिका बैठक, मन्त्रीहरूको सपथग्रहण वा विभिन्न राजनीतिक दलका महाधिवेशनलगायतमा पत्रकारलाई समाचार संकलनका क्रममा अवरोध गरिने तथा रोक लगाउने गरिएको छ ।’

त्यस्तै यो वर्ष संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाउने तथा संसदमा दर्ता गर्ने काम भएका केन्द्रीय उपाध्यक्ष उदय जीएमले बताए । संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानूनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाई समेत चुनौती थपिदिएको उनको भनाई छ ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट यो वर्ष पनि पत्रकार प्रभावित भएका छन् । महामारी सुरु भएसँगै अहिलेसम्म २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । त्यसमध्ये सन् २०२१ मा २१ जना पत्रकार तथा सञ्चारकर्मीको ज्यान गएको छ । कोरोना महामारीको बहाना पत्रकारको पेशागत सुरक्षा प्रभावित हुन पुगेका छ । एक वर्षको अवधिमा कोरोना भाइरसको बहाना देखाएर विभिन्न सञ्चारगृहबाट ३५० जना पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने काम भएको छ । यसमध्ये झण्डै ३ सय जना पत्रकारको समस्या सम्बोधन भएको छ भने ५० जना पत्रकारको समस्या समाधानका लागि महासंघले कानूनी तथा दबाबमूलक पहल गरिरहेको बताइएको छ ।

यता, दाङका पत्रकारमाथि ३ वटा दुर्व्यवहारका घटना भएको नेपाल पत्रकार महासंघ दाङ शाखाले जनाएको छ । सन् २०२१ मा जिल्लामा कार्यरत पत्रकारहरुले रिपोर्टिङका क्रममा राज्य पक्षबाट दुर्व्यवहार भएका छन् । दाङ शाखा अध्यक्ष दुर्गालाल केसीका अनुसार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको रिपोर्टिङका क्रममा पत्रकार एकराज भण्डारी, देउखरीस्थित लमही नगरपालिकाको कृषि शाखाको रिपोर्टिङका क्रममा पत्रकार शिवराज खनाल तथा भालुवाङ क्षेत्रको अतिक्रमित जग्गाको रिपोर्टिङका क्रममा केही दिनअघि प्रहरीबाट पत्रकार सन्तोष कुमार गुप्तालाई दुर्व्यवहार भएको थियो ।

यस्तै, यो वर्ष जिल्लामा रहेका ३ पत्रकारको निधन भएको छ । कोरोनाका कारण उपचारका क्रममा २ जना पत्रकारले ज्यान गुमाए भने १ जनाको अन्य कारणले मृत्युभएको अध्यक्ष केसीले बताए । जिल्लामा कार्यरत पत्रकारहरुले सरकारी निकायबाट तथा स्थानीय तहहरुबाट अहिले पनि सहज रुपमा सूचना पाउन भने कठिन रहेको उनले बताए ।