Ad Area

एमाले दाङको अधिवेशनको प्रतिनिधि छनौट आज


दाङ १७, पुस । नेकपा एमाले दाङको पुस २३ को ‘नेतृत्व छान्ने’ जिल्ला अधिवेशनको लागि शनिवार प्रतिनिधि छनोटको काम हुँदैछ । एमाले दाङका अनुसार जिल्लाका १ सय वडालाई ४६ मतदान केन्द्र निर्धारण गरेर प्रतिनिधि छनोटको काम हुने भएको छ ।

दुई उपमहानगरपालिकामा प्रत्येक वडामा मतदान केन्द्र र अन्य पालिकाका हकमा पालिका बराबर एक मतदान केन्द्रको व्यवस्था गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले बताए । त्यसैगरेर दलित संगठित सदस्यका हकमा जिल्लामा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिकामा छन् । एमालेले सबै वडाहरुमा अधिवेशन प्रतिनिधि छनोट गर्न सर्कुलर र सवै मतदान केन्द्रमा निर्वाचन अधिकृत समेत खटाएको छ । ‘प्रतिनिधी छनोट कार्य सम्पन्न गर्नको लागि सवै मतदान केन्द्रमा मतदान अधिकृतहरु पठाउने काम भएको छ’ एमाले दाङका सचिव बुढाथोकीले भने, ‘पार्टीको निर्देशन र मापदण्ड अनुरुप प्रतिनिधि छनोटको काम हुनेछ ।’

एमाले दाङले व्यवस्था गरेको प्रतिनिधि छनोटको मापदण्डमा महिलाको हकमा १२ बराबर १ जना, दलितको हकमा १० बराबर १ को व्यवस्था गरेको छ । त्यसैगरेर अन्यको हकमा २० बराबर १ जना, पेशागत महासंघ नेपालबाट १० जना, नेपाल ट्रेड यूनियन महासंघबाट ३, अनेरास्ववियूबाट ३ जना राष्ट्रिय युवासंघबाट ३ , अनेमसंघबाट ३ जना, अखिल नेपाल किसान महासंघबाट ३ आदिवासी जनजाती महासंघ नेपालबाट ३, नेपाल भूमिहिन सुकुम्वासी संगठनबाट ३ जनाको व्यवस्था गरेको छ ।

त्यसैगरेर नेपाल उत्पीडित जातीय मुक्ति समाजबाट ३ जना, प्रेस चौतारी नेपालबाट ३, लोकतान्त्रिक थारु संघबाट ३ जना, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघबाट ३ जना, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनबाट ३ जना, राष्ट्रिय जनसांस्कृतिक महासंघबाट ३ जना, नेपाल खेलकुद महासंघबाट ३ जना, नेपाल वुद्धिजीवि परिषदबाट ३ जना, लोकतान्त्रिक अपाङ्घ संगठनबाट ३ जना, प्रगतिशिल पेशागत कानुन व्यवसायी संगठनबाट ३ जना, मानवअधिकार एलाईन्सबाट ३ जना, राष्ट्रिय स्वास्थ्यकर्मी संघबाट ३ जना र मधेसी, मुस्लिम संगठित सदस्यबाट सवै प्रतिनिधी रहने व्यवस्था छ । एमाले दाङको १३ औं अधिवेशन पुस २३ गते घोराहीमा तय भएको छ ।

अधिवेशनले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र अन्य सदस्य निर्वाचित गर्नेछ । अधिवेशन सम्पन्न गर्न एमाले दाङले विभिन्न उपसमितिसमेत गठन गरेर काम थालेको छ । एमाले दाङका अनुसार अधिवेशनको लागि राजनीतिक प्रतिवेदन तयारी उपसमिती, साङ्गठनिक प्रतिवेदन तयारी उपसमिति, आर्थिक व्यवस्थापन उपसमिती, प्रतिनिधि व्यवस्थापन उपसमिती, स्वयंसेवक तथा मञ्च व्यवस्थापन, अतिथी सत्कार तथा आवास व्यवस्थापन, सांस्कृतिक र प्रचारप्रसार उपसमिती निर्माण भएका छन् । अधिवेशनका लागि गठन भएका उपसमितिका बैठक दैनिक बस्ने गरेका छन् । ‘अधिवेशन सम्पन्न गर्न धेरै उपसमिति गठन गरेर जिम्मेवारी दिएका छौ’ एमाले दाङका सचिव बुढाथोकीले भने, ‘त्यो अनुसार उपसमितिले काम सम्पन्न गर्दै छन् ।’

शुक्रवार पनि आर्थिक व्यवस्थापन उपसमितिको बैठक सम्पन्न भएको छ । आर्थिक व्यवस्थापन उपसमिति संयोजक.खिमबहादुर डाँगीको अध्यक्षता एवं पार्टी अध्यक्ष टीकाराम खड्काको प्रमुख आतिथ्य र पार्टी सचिव मनोहर बुढाथोकीको विशिष्ट आतिथ्यमा बैठकले अधिवेशनको लागि श्रोतको खोजी कार्यलाई प्रभावकारी रुपमा लैजाने निर्णय गरेको छ ।