पार्टीको नीति, नियम र विधानलाई मन, वचन र कर्मले पालना गर्न आग्रह

दाङ १७, पुस । नेपाली कांग्रेस दाङले ४६औ राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । मेलमिलाप दिवसका अवसर शुक्रबार पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले बीपीको नीति र विचारलाई आत्मसात् गर्दै नेता र कार्यकर्ताहरुले सम्बन्ध सुधारसंगै संगठन निर्माणमा ध्यान दिनुपर्ने बताए ।
बीपीले राष्ट्र र राष्ट्रियताका लागि ज्यानको प्रवाह नगरेर प्रतिबन्धको समयमा नेपाल प्रवेश गरेको भन्दै वक्ताहरुले बीपीले लिएको नीति र दाङ निवासी कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्कालगायतले स्थापित गरेको कांग्रेसलाई सुदृढ र व्यवस्थित बनाउन नेता तथा कार्यकर्ताहरु लाग्नुपर्नेमा जोड दिए । नेता र कार्यकर्ताको बिचमा सम्बन्ध स्थापित हुन सकेन भने पार्टी बलियो नहुने भएकाले पार्टीलाई संगठित र सुदृढ बनाउन सबैले प्रतिबद्धता जनाएर अघि बढनुपर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रममा जिल्ला पूर्व सभापति वीरकेशरी गौतमले कांग्रेसलाई बनाउन मेलमिलाप दिवस आत्मसातसंगै कार्यान्वयनका लागि प्रतिवद्व भएर अघि बढ्न आवश्यक रहेको बताए । कार्यक्रममा कांग्रेस नेता भुपबहादुर डाँगीले आन्तरिक प्रतिस्पर्धाको तिक्ततालाई भुलेर पार्टी र देश निर्माणमा अब लाग्ने बेला आएको बताए । उनले पार्टी अहिले चुनावको संघारमा रहेकाले चुनावमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन अहिलेदेखि जनतासंग सम्बन्ध पार्टी लाग्नुपर्ने उल्लेख गरे । उनले कांग्रेसको १४औ महाधिवेशनमा भएको आन्तरिक प्रतिष्पर्धालाई भुलेर पार्टी निर्माणमा जुट्नुपर्ने र पार्टीलाई अग्रस्थानमा ल्याउने प्रतिवद्ध हुन आग्रह गरे । पार्टीको नीति, नियम र विधानलाई मानेर पार्टीका लागि मन वचन र कर्मले लाग्न उनको अपिल थियो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्काले कांग्रेसलाई बलियो बनाउँदै आगामी चुनावमा पहिलो पार्टी बनाउन बोलिमा मात्र नभएर व्यवहारमै लागू गर्न आग्रह गरे । नेपाली कांग्रेस क्षेत्र न २ (ख) का सभापति अभियान बस्नेतले नेपाली कांग्रेस र कांग्रेसको संगठनलाई मजबुत र बलियो बनाउन पार्टीले गाउँ केन्द्रित कार्यक्रमहरु बनाएर अघि बढ्न आवश्यक रहेको चर्चा गरे ।
कार्यक्रममा कांग्रेसलाई सबल र सक्षम बनाउन सबैको अस्तित्व स्वीकार गरेर पार्टीको लागि काम गर्नुपर्नेमा जोड दिए । बीपीले राष्ट्र र राष्ट्रियताका लागि एकता र मेलमिलापको नीति अवलम्बन गरेको भन्दै अब कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ताले बीपीको मेलमिलाप नीतिलाई आत्मसात गरेर पार्टी निर्माणका लागि लाग्नु नै पार्टीको हीत भएको उल्लेख गरे ।
कार्यक्रममा कांग्रेसका निर्वतमान जिल्ला सचिव टेकबहादुर वली, कांग्रेसका जिल्ला सदस्य भोला अधिकारी, महाधिवेशन प्रतिनिधिहरु सुशीला थापा, दिपक पाण्डेय, ध्रुव केसी, जिल्ला समन्वय समिति सदस्य लोका बिक, कांग्रेसका नेताहरु पदमबहादुर थापालगायतले बोलेका थिए । नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डागीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुन योगीले गरेका थिए । जिल्ला उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका सहभागीलाई उपसभापति गिरिराज सुबेदीले धन्यवाद ज्ञापन गरेका थिए ।