Ad Area

पोल्न तयार पारेको करोडौ मूल्यको काँचो ईटा हिउँदे वर्षाले क्षति


दाङ १७, पुस । ईटा भट्टीमा पोल्न तयार पारिएको करोडौ मूल्यको काँचो ईटामा पुसको मध्ये सातामा परेको हिउँदे वर्षाले क्षति पुर्याएको छ । करीव एक महिनादेखि मजदुर लगाएर बनाइएको काँचो ईटा हिउँदे वर्षाले नष्ट गरेपछि ईटा भट्टा संचालकहरु आर्थिक मारमा परेका छन् । दाङमा संंचालित ईटाभट्टामा पानी परेपछि काँचो ईटा क्षति गरेको हो ।

‘दुई दिन परेको पानीले तयार गरिएको काँचो ईटा मध्ये ६० प्रतिशत नष्ट गरेको छ,’ दाङ देउखुरी ईटा उद्योग व्यवसायी संघ अध्यक्ष रोम वलीले भने, ‘भट्टीमा पोल्नका लागि तयार पारिएको करीव सवा २ करोड काँचो इँटा तयारी गरिएकोमा करोड ८० लाख ईटामा क्षति भएको छ । एउटा काँचो ईट्टा तयार गर्न चार रुपैयाँ खर्च लाग्ने गरेको उहाँको भनाई छ । बैंकबाट ऋण लिएर तयार गरिएको करोडौँको इटा नष्ट हुँदा व्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको जिल्ला अध्यक्ष वलीले बताए ।


उनका अनुसार जिल्लामा पोल्नका लागि तयार पारिएको १ करोड ८० लाख काँचो ईटा काम नलाग्ने गरी क्षति भएपछि ७ करोड २० लाख रुपैयाँ प्रत्यक्ष घाटा लागेको छ । यति ठूलो रकम बराबरको ईटा उठाउनै नमिल्ने गरी क्षति भएपछि यो पटक पनि जिल्लामा रहेका ईटा व्यवसायीहरु मारमा परेका छन् । हरेक वर्ष जसो हिउँदे वर्षा तथा चैते वर्षाले पोल्नका लागि तयार पारिएको काँचो ईटामा क्षति गर्ने गरेको छ ।

जिल्लामा ४२ वटा ईटा उद्योग छन् । जसमा तुलसीपुर क्षेत्रमा १५ वटा, घोराही क्षेत्रमा १५ वटा र देउखुरी क्षेत्रमा १२ वटा ईटा उद्योग रहेको दाङ देउखुरी ईटा उद्योग व्यवसायी संघ अध्यक्ष वलीले बताए । अहिले ईटा उत्पादनको सिजन चलेकाले हरेक ईटा उद्योगमा दैनिक लाखौँ ईटा उत्पादन हुने गरेको छ । एक ईटा उद्योगमा करीव २ सय भन्दा बढी कामदारले ईटा उत्पादन गर्दै आएका छन् । जिल्लाभरको ईटा उद्योगमा करीव ९ हजार जनशक्तिले ईटा उत्पादनमा खट्ने गरेको छ । यति ठूलो जनशक्तिले विकास निर्माणसँग जोडिएको क्षेत्रमा काम गर्ने भएपनि सरकारले काँचो ईटाको बीमा नगरि दिँदा आफुहरु वर्षादको विपत्तिमा पर्नुपर्ने अवस्था रहेको उनले बताए ।

धमाधम ईटा उत्पादनमा लागेका कामदारहरुले ठूलो संख्यामा ईटा बनाउने हुँदा सुकाउनका लागि काँचो इँटाहरुलाई फिजाएर राखेको बेलमा वर्षाले थप क्षति गर्ने गरेको छ । सरकारलाई कर तिरेर, आन्तरिक रोजगारी सिर्जना गरेर, विकास निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थका रुपमा रहेको ईटा उत्पादनमा खटिएका ईटा व्यवसायीहरु जहिले पनि मारमा पर्ने गरेको अध्यक्ष वलीले दुखेसो पोखे । उनले भने, ‘सरकारले ईटा व्यवसायीहरुलाई उनीहरुको लगानीको सुरक्षामा केहीभएपनि राहत दिने विषयमा सोँच्नुपर्छ ।’

वर्षभरी बेच्नका लागि तयार भईरहेको ईट्टा पानीले नष्ट गरेपछि ईट्टा व्यवसायीहरु आर्थिक समस्या परेपनि जसोतसो व्यवहार धान्दै आएको जिल्लाका ईटा व्यवसायीहरुको भनाई छ । यसअघि पनि गत वर्ष परेको बेमौसमी पानीका कारण ठूलो मात्रामा ईटा क्षति भएको थियो । यो पटक भएको क्षतिले ईटाको मुल्यमा धक्का लाग्ने देखिएको छ । ईटाको क्षतिपूर्ति राज्यले नदिने भएपछि ईटा व्यवसायीहरुले आर्थिक भारलाई समायोजन गर्न केही प्रतिशत भएपनि तयारी ईटाको मुल्य बढाउने तयारी गरेका छन् ।

Blog Post Ad

‘चिम्नीमा पोल्न तयारी अवस्थामा राखिएको करोडौ ईटा पानी परेर नष्ट भयो, अध्यक्ष वलीले भने, ‘यसले जिल्लामा ईटाको बिक्रि मुल्यमा असर गर्ने निश्चित छ, केही प्रतिशत भएपनि मुल्य बढाएर घाटापूर्ति गर्नेछौँ, तर यसले सबै क्षतिलाई व्यहोर्न सक्ने अवस्था रहन्न ।’ कामदारहरुलाई अग्रिम भुक्तानी गर्नुपर्ने बाध्यताका कारण हिउँदे वर्षाले ईटामा भएको क्षतिले व्यवसायीहरु थप चिन्तामा छन् ।

Blog Post Ad Blog Post Ad