मेलमिलाप दिवसको अवसरमा दाङमा एक सय १ जनालाई न्यानो लुगा वितरण

दाङ १७, पुस । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा दाङमा एक सय १ जनालाई न्यानो लुगा वितरण गरिएको छ । स्कुल अफ डेमोक्रेसी नेपालको आयोजना तथा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आर्थिक सहयोगमा विपन्न तथा असहायलगायत आवश्यकता बोधभएका परिवारको पहिचान गरि उक्त सामग्री वितरण गरिएको हो ।
स्कुल अफ डेमोक्रेसी दाङकी अध्यक्ष बिमला योगिको अध्यक्षता तथा नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य सुलोचना गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा प्रमुख अतिथि गौतमले सामाजिक सुरक्षासँगै सामाजिक सद्भाव कायम राख्न कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताईन् । उनले असहाय र अशक्तहरुका लागी गरिएको सहयोग मेलमिलाप र सामाजिक सद्भावको राम्रो नमुना भएकोमा जोड दिईन् ।
कार्यक्रममा नेपाली कांग्रेस दाङ महासमिति सदस्य तथा स्कुल अफ डेमोक्रेसी दाङकी अध्यक्ष गोगीले राष्ट्रिय मेलमिलाप दिवसबाट शुरु गरिएको अभियानलाई गाउबस्तीसम्म जोड्न आफुले सामाजिक क्षेत्रमा थप विभिन्न कार्यहरु गर्दे जाने प्रतिबद्धतासमेत ब्यक्त गरिन् ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रको शिक्षा सशक्तीकरण कार्यक्रमकी संयोजक लक्ष्मी गुप्ताको स्वागत तथा विषय प्रवेशबाट शुरु भएको कार्यक्रममा नेपाल महिला सघ दाङकी अध्यक्ष गोमा रावत, राष्ट्रिय समाचार समिति दाङ प्रतिनिधि रन्जिता शर्मा, नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङकी अध्यक्ष कल्पना न्यौपानेलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण स्कुल अफ डेमोक्रेसी दाङकी सचिव लिला शाहले गरेकी थिईन् ।