बालविकास माध्यमिक विद्यालयको ६१ औँ वार्षिकोत्सव सम्पन्न
घोराही १७, पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित बालविकास माध्यमिक विद्यालयले आफ्नो ६१ औँ वार्षिकोत्सव मनाएको छ ।शुक्रबार एक समारोहबीच विद्यालयले विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं वडा नम्बर १४ का वडा अध्यक्ष शक्तिराम डाँगीको सभाअध्यक्षता तथा अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी वक्ताहरुले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा सबैको सकारात्मक साथ चाहिने बताए । उनीहरुले शिक्षामा गरिने लगानी कहिले पनि नहार्ने र गलत नहुने भएकाले बालबालिकाहरुको सुन्दर भविष्य निर्माणमा अभिभावकहरुले पनि घरमा आफ्ना सन्तानको नियमित रेखदेख गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि डाँगीले प्रदेश सरकारले शिक्षा क्षेत्रको वृहत विकासका लागि लगानी गरिरहेकाले ढुक्कका साथ शैक्षिक गतिविधि अघि बढाउन अपिल गरे । शिक्षा बिनाको भविष्य अन्धकार हुने हुँदा हरेक बालबालिका विद्यालय पहुँचमा रहने गरि सरकारले नीति कार्यान्वयनमा ल्याएको उनको भनाई थियो ।
सो अवसरमा, अन्य वक्ताहरुले सामुदायिक विद्यालय पनि पूर्वाधार र दक्ष जनशक्ति सम्पन्न हुँदै गएकाले बालबालिकाहरुको शैक्षिक स्तर पनि सुधार हुँदै गएको बताए । बालविकास माविको शैक्षिक स्तर राम्रो भएकाले अभिभावकहरुको रोजाईमा पर्न सफल भएको हुँदा आगामि दिनमा अझ नयाँ विधि र पद्धति अपनाउँदै विद्यालयले पठनपाठनमा ध्यान दिन वक्ताहरुको सुझाव थियो ।
शुभकामना मन्तव्य व्यक्त गर्नेहरुमा घोराही उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर १८ का वडा अध्यक्ष भरत अर्याल, नेकपा एमाले नेता विवेक श्रेष्ठ, शिक्षा महाशाखा प्रमुख विनोद गौतम, सिद्धरत्ननाथ मावि नारायणपुरका प्रअ उत्तम खनाल, नेल्टा दाङका अध्यक्ष तुलसीराम डाँगी, अक्षयकोषदाता पुष्षा गौतम, शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाश बुढा, विव्यस सल्लाहकार चन्द्रराज पन्तलगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित एवं पुरस्कृत हुनेमा बिमला थापा, राधा केसी, हेमकुमारी घर्ती, खिमा केसी कमला गौतम रहेका छन् । यस्तै, विद्यालयका कर्मचारी सुकलाल रोकालाई पनि नगदसहित प्रमाण पत्र प्रदान गर्दै सम्मान गरियो ।
यसैबीच, विद्यालय व्यवस्थापन समिति सदस्य दिलकुमारी बुढाले आफ्नो छोरा अजय पुनको स्मृतिमा १ लाखको अक्षयकोष स्थापना गरिन् । गरिव तथा जेहेन्दार विद्यार्थीलाई सो अक्षयकोषबाट आउने ब्याज रकमले पुरस्कृत गरिने उनको भनाई छ । उनले १६ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री पनि हस्तान्तरण गरिन् । कार्यक्रममा अर्का अभिभावक मनिषा रोकाले पनि विद्यालयमा शैक्षिक सामग्री खरिदका लागि २ हजार नगद हस्तान्तरण गरिन् ।
वार्षिकोत्सवका अवसरमा यसअघि स्थापित विभिन्न अक्षयकोषबाट विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरियो । वार्षिकोत्सवका अवसरमा विद्यालयका प्रअ श्रीधर पोख्रेलले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बालबालिकाहरुले नाटक, नृत्य तथा सांस्कृतिक प्रस्तुति देखाएका थिए । विद्यालयकी सहायक प्रअ राधा केसीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण शिक्षक लक्ष्मी केसीले गरेकी थिईन् ।