ग्रामीण महिला उत्थान केन्द्रको २७औँ वार्षिक साधारणसभा सम्पन्न

घोराही १७, पुस । ग्रामीण महिला उत्थान केन्द्रको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी संस्थापक अध्यक्ष आशमानी चौधरीको अध्यक्षता तथा नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्तको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सो अवसरमा कार्यक्रममा प्रमुख अतिथि पन्तले राजनीतिक अस्थिरताले देश धेरैपछि परेको बेलामा संस्थाले सामाजिक, आर्थिक तथा सशक्तीकरणको काममा निडर भई उतारचढावका बिच अघि बढेकाले आज यस संस्थामार्फत धेरैले जीवनमा सफलता पाउन सम्भव भएको बताए । सरकारले गर्ने कामलाई एउटा सामाजिक संस्थाले कटिवद्ध भई यति लामो यात्रा तय गर्न सक्नु आफैमा ठूलो सफलता भएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ प्रगतिको कामना पनि गरे ।
उनले द्वन्द्वकालीन समयमा आफुलाई अघि बढाएर हजारौँको सपना पूरा गर्न संस्थाले खेलेको भुमिका जति प्रशंसा गरे पनि कम हुने बताए । सरकारले गर्ने कामलाई एक सामाजिक संस्थाले गर्नु आफैमा समाजको उदाहरण बनेको बताउँदै यसबाट लाभ लिनेहरु राष्ट्र उन्नयनको भागिदार रहेको विश्वास व्यक्त गरे ।
यस्तै, संस्थाका संस्थापक सल्लाहकार सोगतबिर चौधरीले संस्था स्थापनाको सुरुवाती चरणमा फलामको चिउरा चपाए जस्तै संघर्ष गर्नु परेपनि अथक रुपमा अघि बढ्दा अन्ततः सबैले विश्वास गर्दै गएको बताए । अहिले संस्थामा ४० हजार बढी सदस्य प्रत्यक्ष जोडिएको जानकारी गराउँदै उनीहरुका परिवारका सदस्यहरुले पनि लाभ लिन पाएको बताए । उनले महिला जस्तै संस्था र पारिवारिक जिम्मेवारीमा गम्भीर हुन सके समाज आफै सुशासनयुक्त बन्ने बताए । देशको मुहार बदल्न सबैले सकारात्मक भुमिका खेल्न सकेमा अझ राम्रो हुने भन्दै संस्थाको प्रगतिमा सबैको उत्तिकै साथ र हौसला रहेको भन्दै स्मरण गरे ।
कार्यक्रममा आर्थिक सबलीकरण, आत्मनिर्भरता, शिक्षा, स्वास्थ्य, सचेतनालगायतका क्षेत्रमा गरिएको प्रयासले अहिले धेरैले आफुलाई समाजमा उदाहरणीय रुपमा प्रस्तुत गर्न सकेको भन्दै यस प्रकारको अभियानलाई अझ बढाउन अनुरोध गरेका थिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष बसुन्धरा गौतमले महिलाको प्रगतिमा परिवारको साथ अपरिहार्य रहने हुँदा महिला छोरीलाई साथ र हौसला दिने दिन सकेमा उनीहरुले गरेर देखाउन सक्छन् भन्ने उदाहरण ग्रामीण महिला उत्थान केन्द्र बनेको बताईन् । यस्तै, उनले संस्थाले सुशासनको क्षेत्रमा सशक्त भुमिका खेलेको भन्दै सरकारलाई जवाफदेही र उत्तरदायी बनाउन दवाव दिएको बताईन् ।
रोजगारी सिर्जना गर्ने र आत्मनिर्भरको भुमिका खेल्ने काम, शिक्षामा योगदान निकै सराहनीय काम गर्दै आउनुले समाजको सच्चा अभिभावकको काम गर्नुका साथै महिलाको प्रजनन स्वास्थ क्षेत्रमा खेलेको भुमिकाले धेरै महिलाको स्वास्थ्यमा सकारात्मक काम गरेको उल्लेख गरिन् । वित्तीय साक्षरतासँगै लगानी गरेर आत्मनिर्भर र सचेतना प्रदान गर्दै गरिबी निवारणमा खेलेको भुमिका सराहनीय भएको र सामाजिक उत्तरदायित्वको दायरा अझ बढाउन उनको आग्रह थियो । कार्यक्रममा संस्थामा कार्यरत कर्मचारीहरु पार्वती बस्नेत, सुशिला पुन, भीमकान्त चौधरी, नेबबहादुर चौधरी, सुशिला गिरी, एचबी थापालगायतले आफ्ना अनुभव सुनाउँदै शुभेच्छा प्रकट गरेका थिए । उनीहरुले संस्थाको स्थापनाकालदेखि वर्तमान अवस्थाको उतारचढावका बारेमा चर्चा गर्दै आगामी दिनमा सेवा र सचेतनाको दायरा अझ बिस्तार गर्न अपिल गरे ।
संस्थाले आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, जलवायू परिवर्तन, आर्थिक जिविकोपार्जन लगायतको विभिन्न क्षेत्रमा काम गर्दै आईरहेको छ । ग्रामीण महिला उत्थान केन्द्रले आत्मनिर्भर लघुवित्त वित्तीय संस्थामार्फत २२ वटा शाखाबाट सेवा प्रदान गर्दै आएको छ । जसका ४० हजारभन्दा बढी सदस्य आवद्ध भई आर्थिक सशक्तिकरण, उद्यमशील र स्वरोजगारका काम गर्दै आएका छन् । यस्तै, सुनिता ट्रष्ट फाउन्डेसनले पनि विपन्न परिवारका बालबालिका र उनीहरुका अभिभावकहरुका क्षेत्रमा योगदान गर्दै आएको छ ।
दाङ, बाँके, बर्दिया, प्यूठान, सल्यान र कपिलवस्तु कार्य क्षेत्र रहेको ग्रामीण महिला उत्थान केन्द्रले वार्षिक साधारण सभाको अवसरमा कर्मचारी सम्मान संस्थामा रही विगत पाँच वर्षदेखि कार्यरत सेवारत कर्मचारी सुस्मिता चौधरीलाई विशेष सम्मान गरेको थियो भने सामाजिक उत्तरदायित्व अन्तर्गत गरिव तथा विपन्न परिवारका बालबालिकाहरुलाई छात्रवृत्ति स्वरुप १० जनालाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । संस्थाले केही दिनअघि पनि आफ्नो २७औँ वार्षिकोत्सव मनाउँदा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।
सो अवसरमा अध्यक्ष आशमानी चौधरीले कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई लक्षित गरि स्वरोजगार बनाउन र देशमै श्रम, सीप र विवेक खर्च गरेर राष्ट्रको विकासमा जुट्न सक्ने योजनालाई निकट भविष्यमा कार्यक्रम लागू गर्न लागेको बताईन् । आत्मनिर्भर, स्वरोजगार, उद्यमशीलता, शिक्षा, स्वास्थ्य तथा सचेतनाका कार्यक्रम गर्दै आएको र आगामि दिनमा यसको दायरा अझ बढाउने लक्ष्य राखेको उनले जानकारी पनि गराईन् । कार्यक्रममा संस्थाका कर्मचारी सन्चु चौधरीले मनोरञ्जन स्वरुप सांगितीक प्रस्तुति राखेका थिए ।
संस्थाकी संचालक समिति सचिव सरिता चौधरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण संचालक सदस्य बसन्ता पुनले गरेकी थिईन् । यसैबीच, वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८-०७९ को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०७८-०७९ को प्रस्तावित योजना र आगामी रणनीति पनि प्रस्तुत गरियो ।