Ad Area

परमादेशी गठबन्धन सरकारले भूमिहीनमाथि अन्याय गरेको आरोप


घोराही १८, पुस । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा मोर्चा विभाग प्रमुख भानुभक्त ढकालले वर्तमान सरकारले भूमिहीन सुकुम्बासीहरुको जग्गा प्राप्तिको अधिकार खोसेको आरोप लगाएका छन् । उनले वर्तमान सरकारले भुमिहीन सुकुम्बासीलाई न्याय दिनुको साटो सदिऔँदेखिको जग्गाको मालिक बन्ने अवस्था बन्दै गर्दा आयोग खारेज गरेर षडयन्त्र गरेको बताए ।

नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकलाई दाङको घोराहीमा सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका ढकालले वर्तमान सरकार सुकुम्बासी भूमिहीनहरुको सरकार नै नभएको तर्क गरे । सत्तालिप्सामा रमाउन जानेको गठबन्धनको सरकार जनमतभन्दा पनि अदालतको कृपाबाट आएको हुँदा जनताको पक्षमा काम गर्न नसक्ने उल्लेख गरे । उनले भने, ‘यो सरकारले भूमिहीन सुकुम्बासीलाई न्याय दिनु त परको कुरा भयो, उनीहरुको जनजीविकाका बारेमा पनि सुन्दैन बोल्दैन’ यो सरकारमा जनताप्रति हुनु पर्ने कुनै उत्तरदायित्व छैन ।’

नेपाल भूमिहीन सुकुम्बासी संगठनकी अध्यक्ष शान्ता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले विगतमा एमालेको सरकारले जनताको पक्षमा गरेको राम्रो कामले चर्चा पाएको देखेर सहन नसकी अनेक तानाबाना बुन्दै षडयन्त्रका साथ जनमत पाएको सरकार ढालेर सत्तामा रमाउन पुगेको बताए । ‘एमालेको सरकारले राम्रो र जनमुखी योजना ल्याएर काम थालेको थियो । तर त्यो देख्न नसकेर घेराबन्दी गरेर एमालेको सरकार ढाल्ने र गठबन्धन बनाएर सत्तामा पुगेर रमाउने काम भईरहेको छ’ स्थायी कमिटी सदस्य ढकालले भने ।

उनले भूमिहीन, दलित, विपन्न र सुकुम्बासीको जग्गा प्राप्तिको अधिकारको लडाईमा पार्टी सधै अग्रमोर्चामा रहेर काम गर्ने वचन दिए । उनले सम्बन्धित गरिव, किसान मजदुर संगठन, जिफन्ट सबैलाई समायोजन गरि अब वृहत मोर्चा बनाएर सरकारलाई दवाब दिने गरी अघि बढ्न कामको प्रकृया थालनी गरिने जानकारी गराए । देशभरका हजारौँ भूमिहीन सुकुम्बासीहरुको अवस्थाका बारेमा चुईक्क नबोल्ने वर्तमान गठबन्धको परमादेशी सरकार आफ्नै आन्तरिक व्यवस्थापनमा अल्मलिएको बताउँदै सरकारको ढुकुटी रित्याउने खेलमा मात्रै लागेको आरोप लगाउनुभयो । कसलाई कहाँ, कुन मन्त्रालय दिने, कसलाई कहाँ नियुक्ती गर्ने भन्नेमै व्यस्त रहेको परमादेशी सरकारले गरिब निमुखा, भूमिहीन जनताको बारेमा सोँच्न नसक्ने उनको भनाई थियो ।

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा दाङ सह इन्चार्ज सीता सिग्देल न्यौपाने, नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठनका सह इन्चार्ज कमल गौतम, घनश्याम पाण्डे, नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का र सचिव मनोहर बुढाथोकीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्लास्थित सरोकार राख्ने संघसंस्थाका प्रतिनिधिलगायत देशभरबाट पनि संगठनका प्रतिनिधि सहभागीता थियो । बैठकमा प्रदेशस्तर र जिल्ला स्तरमा हालसम्म भएका र गर्न थालिएका कामको बारेमा ती जिल्लाका प्रतिनिधिहरुले जानकारी गराए । संगठनकी उपाध्यक्ष लिला विकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संगठनका महासचिव ईन्द्र तामाङले गरेका थिए ।