Ad Area

कृषि क्रान्ति बिना देशको विकास असम्भव


भालुवाङ १७ पुस । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सचिव भागवत विश्वासीले कृषि क्रान्ति बिना देशको विकास असम्भव रहेको बताएका छन् ।

पार्टी निकट अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समन्वय समितिले शनिवार भालुवाङमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै केन्द्रिय सचिव विश्वासीले कृषि क्षेत्र सरकारको पहिलो प्राथमिकतामा पर्न सक्नुपर्ने बताए । देशमा विद्यमान कृषि प्रणालीलाई विस्थापित गरी आधुनिक तथा व्यावसायीक कृषि प्रणाली अवलम्बन गरे मात्रै देशको अर्थतन्त्र बलियो हुने उनको जिकिर थियो । देशमा जुन सुकै पार्टीको सरकार आएपनि नेकपा एकिकृत समाजवादी पार्टी निकट किसान महासंघले मात्र कृषि प्रणालीमा परिवर्तन ल्याउन सक्ने उनले दावी गरे ।

नेता विश्वासीले देश अहिले संकटको अवस्थामा रहेको बताउँदै ओलीको पार्टी नेकपा एमालेले देशलाई बर्वादीको अवस्थामा लगिसकेकाले अव देशमा नेकपा एकिकृत समाजवादी पार्टीको सरकार आउने दावी समेत गरेका छन् । त्यसका लागि बामगठबन्धनको सरकारलाई बलियो बनाउन आवश्यक रहेको पनि उनले बताए ।

अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका इन्चार्ज निर्मल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष बलराम बास्कोटा, महासंघका केन्द्रिय महासचिव प्रमेश पोख्रेल, पार्टीका केन्द्रीय सदस्यहरु शारदा स्वर्णकार, भिउमान घर्ती, पार्टीका प्रदेश नेता मुकुन्दराज रोका, पार्टीका दाङ जिल्ला अध्यक्ष सुरामणी बेल्वासे लगायतका वक्ताहरुले बोलेका थिए । युवराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजीकरण महासंघका प्रदेश अध्यक्ष सुनिता बेल्वासेले गरेकी थिईन् ।

यसैबीच, बैठकले सुनिता बेल्वासेको अध्यक्षतामा १०१ सदस्यीय प्रदेश स्तरीय किसान महासंघ गठन गरेको छ । नवगठित महासंघको उपाध्यक्षमा अग्नी अर्याल, दीपक खनाल, सचिव अर्जुन अधिकारी, सहसचिव हरिश्चन्द्र यादव रीता पौडेललगायत रहेका छन् ।

ओमप्रकाश गुप्ताबाट

Blog Post Ad
Blog Post Ad Blog Post Ad