Ad Area

घोराहीमा आजदेखि विद्यार्थीहरुलाई पनि कोरोना विरुद्धको खोप


घोराही २०, पुस । घोराही उपमहानगरपालिकाले आज मंगलबारदेखि विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन लागेको छ । नगर भित्रका सबै सामुुदायिक तथा संस्थागत विद्यालय मै खोप केन्द्र सञ्चालन गरेर कोरोना विरुद्धको खोप लगाउन लागिएको हो ।

कोरोना व्यवस्थापन समितिको सोमबार बसेको बैठकले १२ वर्ष देखि १७ वर्ष उमेर समूूहका विद्यार्थीहरुलाई मंगलबारदेखि २४ गतेसम्म मोडर्ना खोप लगाउने निर्णय गरिएको छ । जसका लागि २५ हजार ९ सय ४० जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिईएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए । सम्भव भएसम्म प्रत्येक विद्यालय र नजिक भएका विद्यालयहरुलाई निश्चित विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको उनको भनाई छ ।

कार्यक्रममा स्वास्थ्य शाखाका स्वास्थ्य खाखाका ठाकुुर खनालले नगरमा अहिले सम्म ९८ प्रतिशत नागरिकहरुले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएको जानकारी दिए । एक लाख २१ हजार ७ सय ९३ जनाले पहिलो डोज र ७३ हजार ४ सय ६५ जना अर्थात ५९ प्रतिशतले दोस्रो डोज खोप लगाएका छन् ।  जिल्लाभर ८५ प्रतिशत नागरिकले पहिलो डोज र ५२ प्रतिशत नागरिकले दोस्रो डोज खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोरोनाविरुद्धको अतिरिक्त खोप दिने भएको छ । कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका दिर्घ रोगी तथा भेरोसेल तथा सिनोफर्मा खोप लगाएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरी अतिरिक्त खोप दिन लागिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

उनले अहिले लगाइरहेका खोप केन्द्रबाट नै लक्षित वर्गलाई अतिरिक्त खोपको मात्रा दिन लागिएको बताए । मन्त्रालयले बालबालिकाले लगाउने खोप केन्द्रबाहेक सबै खोप केन्द्रबाट अतिरिक्त खोपको मात्रा दिइने जनाएको छ । बालबालिका बाहेकका जहाँ जहाँ खोप केन्द्र सुरु भएको छ अतिरिक्त खोप लगाउनका लागि लक्षित वर्गले चिकित्सकको सिफारिस तथा खोपको दुईवटा मात्रा लगाएको कार्ड लिएर जानुपर्ने छ ।

थप एउटा अतिरिक्त मात्रा खोप बुस्टर डोज नभई कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिलाई दिइने अधिकारीले बताए । पहिले जुन खोप लगाएको हो, सोही प्रकृतिको खोप थप अतिरिक्त मात्रा दिइनेछ । कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले अतिरिक्त खोप दिन लागेको हो ।