Ad Area

विद्यालयमा सरसफाई बुझदै उपमहानगरपालिका


दाङ, २१ पुस । नगर क्षेत्रमा रहेका विद्यालयहरुको सरसफाईको अवस्थाका बारेमा घोराही उपमहानगरपालिकाले जानकारी लिन थालेको छ । त्यसका लागि घोराही उपमहानगरपालिका सरसफाई तथा विपद् व्यवस्थापन समितिअन्र्तगत गठित विद्यालय सरसफाई अनुगमन उपसमितिले विद्यालयहरुको अनुगमन सुरु गरेको हो ।

उपसमितिले नगर क्षेत्रभित्र रहेका विद्यालयहरुमा पुगेर विद्यालयहरुको सरसफाईको अवस्थाको बारेमा जानकारी लिने तथा सुझाव दिने गरेको उपसमितिका संयोजक जंगबहादुर रोकाले बताए । विद्यालयमा नै पुगेर अनुगमन गर्दा वास्तविक जानकारी लिन सकिने तथा सुधार गर्न समेत सहयोग पुग्ने उनको भनाइ छ । ‘अनुगमनले विद्यालयहरुले गरेका राम्रो काम गर्नेलाई प्रोत्साहन मिल्ने तथा सुधार गर्नुपर्नेहरुलाई समेत सुधार गर्ने सहयोग पुग्ने छ’, रोकाले भने । उपसमितिले सबै वडामा रहेका विद्यालयहरुमा पुगेर अनुगमन गर्ने जनाएको छ ।

अहिलेसम्म अनुगमन गर्दा विद्यालयहरुमा सरसफाईको अवस्था केही विद्यालयबाहेक सन्तोषजनक नै पाइएको उपसमितिले जनाएको छ । उपसमितिले मंगलवार घोराही उपमहानगरपालिका वडा नं १३ मा रहेको बराहक्षेत्र माध्यमिक विद्यालय, घोराही–१२ मा रहेको हापुर माध्यमिक विद्यालय निघुवार, घोराही–९ मा रहेको नरदेवी माध्यमिक विद्यालय तेघरा, घोराही १० मा रहेको सिद्ध रत्ननाथ माध्यमिक विद्यालय नारायणपुरको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा विद्यालयमा विद्यार्थी संख्या अनुसार अलग–अलग सफा र सुरक्षित स्थानमा लैंगिक, अपाङ्गता, बालमैत्री शौचालयको व्यवस्थापन गर्ने कार्य, विद्यालयको बाहिरी वातावरण तथा कक्षाकोठाको नियमित सरसफाइ गर्ने कार्य, विद्यालयमा सुरक्षित पिउने पानीको व्यवस्थापन गर्ने कार्यको सूचकका बारेमा अनुगमन गरिने गरेको सरसफाई व्यवस्थापन शाखाका अरुणकुमार अधिकारीले बताए ।

त्यसैगरेर विद्यालयभित्र सञ्चालनमा रहेको क्यान्टिन तथा चमेनागृहको सरसफाई, विद्यालयमा खेलकुद मैदान दैनिक सरसफाई, विद्यालयमा महिनाबारी हुने वालिकाहरुका लागि स्वच्छता व्यवस्थापन, विद्यालयमा खानेपानी, सरसफाई तथा स्वच्छताको विषयलाई विद्यालय सुधार योजनामा समावेश गर्ने कार्य, विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कायम गर्ने कार्यलाई सिकाई क्रियाकलापसँग आवद्धता गर्ने र विद्यालयमा खानेपानी तथा स्वच्छता समन्वय समिति गठन भए नभएका बारेमा जानकारी लिने गरेको अधिकारीले बताए । अनुगमनमा उपसमितिका सदस्यहरु नैनाकुमारी चौधरी, दुर्गा नेपाली, कुन्ती सिजुवाल र यमा रानाको सहभागिता थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad