Ad Area

सुनिता फाउन्डेसनले विपन्न र अभिभावकविहिन बालबालिकाको शिक्षा र स्वास्थ्यमा थप लगानी गर्दै


घोराही २४, पुस । सुनिता ट्रष्ट फाउन्डेसनको प्रथम र दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । ग्रामीण महिला उत्थान केन्द्रकी संस्थापक अध्यक्ष एवं फाउन्डेसनकी अध्यक्ष आशमानी चौधरीको अध्यक्षता एवं समाजसेवी पत्रकार नारायण विवशको प्रमुख आतिथ्यतामा शनिबार साधारण सभा गरिएको हो ।

सो अवसरमा सहभागी वक्ताहरुले विपन्न तथा अभिभावक विहिन रहेका बालबालिकाहरुको शिक्षा, स्वास्थ्यका क्षेत्रमा आफ्नो भूमिका खेल्दै आएको फाउन्डेसनले आगामी दिनमा यसको क्षेत्र र दायरा अझ बढाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । संस्था स्थापनाको छोटो समयमा पनि सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्न सफल भएको फाउन्डेसनले संस्थागत विकाससँगै लक्षित क्षेत्रका लागि मन वचन र कर्मले लाग्न सुझाव दिइएको छ ।

प्रमुख अतिथि विवशले दुरदराजका विपन्न र अभिभावक विहिन बालबालिकाको सच्चा अभिभावक बनेको फाउन्डेसनले आगामि दिनमा आफ्नो सेवा र कामको दायरा बढाउन अपिल गरे । अभिभावक नभएका बालबालिकाहरुको सहारा बन्न सकेमा उनीहरुको आशिर्वाद संस्थाका लागि जीवन्त रहने उनको भनाई थियो ।

यस्तै, संस्थाका सल्लाहकार एवं आजीवन सदस्य सोगतबिर चौधरीले स्वर्गीय सुनिताले जीवित रहँदा गरेको कामले ग्रामीण महिला उत्थान केन्द्रको संस्थागत विकासमा योगदान पुगेको बताए । जीवित रहँदा थालेको योजना सार्थक बनाउन फाउन्डेसन स्थापना गरेको बताउँदै उनले द्वन्द्व र गरिबीबाट पिल्सिएका बालबालिका, अभिभावक गुमाएका बालबालिकाहरुको शिक्षामा संस्थाले प्राथमिकता राखेको जानकारी गराए ।

‘अभिभावक भएका बालबालिकाहरुको आवश्यकता र मनोविज्ञान नबुझ्ने अभिभावक समाजमा धेरै छन् । अभिभावक गुमाएका बालबालिकाहरुका अवस्था झन दयनीय छ । जसका कारण विद्यालय छाड्ने र नकारात्मक काममा लाग्ने गरेको पाईएको छ, यो विषय फाउन्डेसनको नजरमा परेको छ,’ उनले भने । विभिन्न कारण मानसिक, शारीरिक रुपमा तनाव झेल्न बाध्य भएपछि विद्यालय छाड्ने बालबालिका अहिले पनि धेरै रहेकाले उनीहरुको पढाई निरन्तरताको सवाल फाउन्डेसनको विषय बन्न सक्नुपर्ने बताए ।

Blog Post Ad

यस्तै, संस्थाकी आजीवन सदस्य रजनी श्रेष्ठले बालिकाहरुको शिक्षा र उनीहरूको स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको बताईन् । किशोरीहरु महिनावारी भएकै कारण विद्यालय जानबाट वञ्चित हुनुपर्ने अवस्था रहेको हुँदा फाउन्डेसनले शिक्षासँगै उनीहरुको स्वास्थ्यमा लगानी गर्न आवश्यक रहेको उनको धारणा थियो । जसका लागि आफुले दुईवटा विद्यालयमा अध्ययरत छात्राहरुलाई मासिक रुपमा सय वटा प्याड उपलब्ध गराउने प्रतिवद्धता जनाईन् । ‘पूर्वाधार नभएका कतिपय विद्यालय छन्, आर्थिक अभावका कारण महिनावारी हुँदा प्याड किन्ने अवस्था पनि नरहेका बालिकाहरु विद्यालय जाँदा विभिन्न खालमा शारीरिक तथा मानसिक समस्या झेल्नुपर्ने अवस्था छ, यस्तो अवस्थामा उनीहरुको मनोविज्ञान कस्तो हुन्छ होला ?’ उनले भनिन्, ‘यो विषयलाई मैले त निकै गम्भीरताका साथ लिएको छु ।’

बालिकाहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै आफु र आफ्नो परिवारको तर्फबाट सक्दो सहयोग गर्ने वचन दिईन् । उनले मनोपरामर्शका कार्यक्रम पनि फाउन्डेसनले संचालन गर्न सकेमा राम्रो हुने बताईन् । यस्तै, नेपाल रेडक्रस घोराही उपशाखा थम्मन चौधरीले पनि आफु र आफ्नो संस्थाको तर्फबाट लक्षित बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सक्दो सहयोग रहने वचन दिए ।

कार्यक्रममा जिवसरा घर्ती, नेवबहादुर चौधरी, रोमाकान्त पन्त, एचबी थापा, मुक्तकमैया शिविरकी सन्तोली चौधरीलगायतले बोलेका थिए । राम्रा काम गर्ने र समाजका लागि योगदान दिएकाहरु सँधैभर जीवित रहन सफल हुने हुँदा त्यस्ता व्यक्तित्वहरुको सपना साकार पार्न सबैले अग्रसरता देखाउनुपर्ने उनीहरुको भनाई थियो ।

यसैबीच, गैर नाफामुलक फाउन्डेसनले आर्थिक वर्ष २०७८–०७९ का लागि विपन्न, गरीब, जेहेन्दार तथा अभिभावक विहिन छात्रछात्राहरुलाई छात्रवृत्ति ड्रेस, शुल्क झोला, कापी, किताब वितरण गर्ने योजनाहरु समेत बनाएको छ । फाउन्डेसनको कार्यक्रमको उपलब्धी, सफलताको कथा, भिडियो सामग्री तयार गरी वेबसाइटमा राख्ने समेत योजना पनि अघि सारेको छ ।

यस्तै, आगामी दिनमा विपन्न तथा जेहेन्दार र अभिभावकविहिन छात्रछात्राहरुको शिक्षामा टेवा पुर्याउन शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, नयाँ पुस्ताका युवाहरुलाई विभिन्न किसिमका ज्ञान, सिप र क्षमता अभिवृद्धि हुने खालका तालिम गोष्ठिहरु संचालन गर्ने, नेतृत्व विकास, लघुउद्यमी प्रवद्र्धन गर्ने, उत्प्रेरणात्मक कार्यक्रम संचालन गर्ने जनाएको छ ।

यस्तै, फाउन्डेसनले आर्थिक वर्ष २०७६–०७७ र २०७७–०७८ को वार्षिक प्रतिवेदन पारित गर्दै लेखा परिक्षक नियुक्ती र निर्णयमा हस्तान्तरण प्रतिनिधि चयन पनि गरेको छ । जसमा बसन्ता पुन, रजनी श्रेष्ठ र माधवा पोख्रेल रहेका छन् । कोभिडका कारण गत आर्थिक वर्षमा लक्ष्य अनुसारको काम गर्न नपाएपनि हालै विभिन्न विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार ४३ जना बालबालिकाहरुलाई करीव ७६ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ । संस्थाकी पार्वती बस्नेतको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण बसन्ता पुन मगरले गरेकी थिईन् ।

Blog Post Ad Blog Post Ad