Ad Area

अहिलेको परिस्थितीमा घोराहीमा औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी हुँदैन-उद्योग वाणिज्य संघ


घोराही २४, पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघले अहिलेको परिस्थितिमा घोराहीमा गर्ने भनेको मेला महोत्सव तथा कृषि प्रदर्शनी स्थगित गरेको छ । केही दिन अघिसम्मको परिस्थितिलाई मध्यनजर राख्दै मेला महोत्सव संचालन गर्ने मनसायका साथ नियामक निकायबाट सिफारिस माग गरे पनि अहिले जिल्लामा कोरोनाका संक्रमित दैनिक उल्लेख्य रुपमा फेला परिरहेको हुँदा उत्पन्न असहज अवस्थामा कुनै प्रकारको औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी आयोजना नगर्ने अवस्थामा पुगेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए ।

उद्योग वाणिज्य संघले माघको ७ गतेदेखि १७ गतेसम्म औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी संचालन गर्ने योजना बनाएको थियो । जसका लागि घोराही उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयबाट पनि औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी संचालनको सिफारिस र अनुमति लिन पत्राचार भएको थियो । पुस ९ गते गरिएको पत्राचारका आधारमा उद्योग वाणिज्य संघले आन्तरिक तयारी गरेपनि अब परिस्थिति सहज नबनुन्जेलसम्म सो कार्य स्थगित गरिएको अध्यक्ष बुढाथोकीले बताए ।

सहज वातावरण बन्दै गएको बेलामा संघले माघमा औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी आयोजना गर्ने योजना बनाउँदै यस क्षेत्रको प्रचारप्रसारसँगै आर्थिक सबलीकरणमा टेवा पुर्याउने योजना बनाएको थियो । कोरोनाका कारण थिलथिलो बनेको आर्थिक क्षेत्र पुनर्उत्थानका लागि मेला महोत्सव आवश्यक भएपनि अहिलेको परिस्थितिमा भीडभाडजन्य कुनैपनि काम गर्न मिल्ने अवस्था नरहेको बताए । ‘परिस्थिति सहज भयो र वातावरण मिल्यो भने हामी मेला महोत्सव, कृषि प्रदर्शनी संचालन गर्ने हो, नागरिक र व्यवसायीको समग्र सुरक्षा र उत्थानका लागि उद्योग वाणिज्य संघ प्रतिवद्ध छ,’ उनले भने, ‘असहजपस्थितीमा संस्थाले सबैको हीत हुने गरी अघि बढ्छ ।’

उनले कोरोना महामारीको पहिलो र दोश्रो लहरका बेला व्यवसायी र आम नागरिकको स्वास्थ्य सुरक्षा तथा राहत वितरणमा खटिएको स्मरण गराउँदै कोरोनाको जोखिम बढ्दै गएकाले आगामी दिनमा पनि उद्योग वाणिज्य संघले आम व्यवसायी र नागरिकको स्वास्थ्य सुरक्षामा स्थानीय सरकार, प्रहरी प्रशासन, सरोकार निकायसँग हातेमालो गर्दै अघि बढ्ने बताए । बाहिर आएका अनेकन टीकाटिप्पणीको पछि नलाग्न सबैमा आग्रह गर्दै उनले यो बेलामा आम नागरिकको विचारलाई सम्बोधन हुने बताएका छन् ।

‘कोरोनाको त्रासका बेलामा हामीले घरघरमा पुगेरै सेवा दिएको हो, सहज परिस्थितीमा सबै हुन्छन् तर असहज परिस्थितीमा पनि दाङ जिल्ला उद्योग वाणिज्य संघ आम उपभोक्ता, व्यवसायीको साथमा छ र रहन्छ,’ अध्यक्ष बुढाथोकीले भने । कृषि, पर्यटन, आर्थिक र सांस्कृतिक प्रवद्र्धन गर्न र जिल्लाको विकास टेवा पुर्याउने लक्ष्य राखेर उद्योग वाणिज्य संघले विगत वर्षहरुमा महोत्सव चलाउने गरेको थियो । यसअघि संचालित महोत्सवबाट संकलित वचत रकमबाट पर्यटन विकास र पूर्वाधार विकास लगानी गरिएको संघका अध्यक्ष बुढाथोकीले बताए ।

यस्तै, दाङ जिल्ला उद्योग बाणिज्य संघका महासचिब महेन्द्र बुढाथोकीले पनि हिजोको परिस्थितीलाई आँकलन गरेर गर्न थालिएको कामलाई अहिलेको असहज परिस्थितीसँग दाँजेर अनर्गल प्रचार नगर्न अपिल गरेका छन् । उनले दाङ जिल्ला उद्योग बाणिज्य संघ हिजो, आज र भोलि पनि सबै उद्योगी व्यवसायी तथा आम जनताको स्वास्थ्यको विषयमा संवेदनशील रहेको र निरन्तर रहने प्रष्ट पारेका छन् । असहज अवस्थाका बेलामा सिंगो संस्थालाई जोडेर गरिएको अनर्गल प्रचारका पछि नलाग्न उनले सबैमा अनुरोध पनि गरेका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad