Ad Area

बालमैत्री पालिका बनाउने संस्थागत प्रतिवद्धता


दाड २५, पुस । बालबालिकाको बाँच्न पाउने अधिकार, विकासको अधिकार, बाल संरक्षणको अधिकार र बाल सहभागिताको अधिकार स्थापित गराउने तथा बालमैत्री स्थानीय शासन व्यवस्था कायम गर्ने उद्देश्यसहित घोराही उपमहानगरपालिकाले बालमैत्री पालिका घोषणा गर्न विभिन्न सरोकारवालाहरुसँग निरन्तर छलफल परामर्श गरिरहेको छ । आईतबार पनि पालिकाभर रहेका सरोकारवालाहरुसँग विषयका बारेमा अभिमुखीकरण गर्दै सुझावसहित प्रतिवद्धता पनि गराईएको छ ।

घोराहीलाई बालमैत्रि पालिका घोषणाका लागि लैंगिक तथा घरेलु हिंसा, बालमैत्रि बालश्रम न्युनीकरणका लागि आयोजित समन्वय बैठकमा सहभागीता जनाएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख थम्मन जिसी, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेल, घोराही अटो भिलेजव्यवस्थापन समितिका अध्यक्ष दुर्गा खत्री, दाङ देउखुरी होटल व्यवसायी समिति अध्यक्ष दीपेन्द्र पुन, यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार भरतनाथ योगी, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदी, शान्ति बालगृहका भोलानाथ योगी, ग्रामीण महिला उत्थान केन्द्रकि अध्यक्ष आशमानी चौधरी, मुक्त कमलरी विकास मञ्चका कार्यक्रम प्रवन्धक माधवराज चौधरीलगायतले पालिकाले थालेको उदाहरणीय काममा साथ सहयोग रहने तथा बालबालिकाहरुको अधिकार स्थापित गर्न गराउनका लागि आफ्नो संस्थामा पनि बालमैत्री शासन व्यवस्था कायम गर्न वातावरण स्थापित गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका छन् ।

घोराही उपमहानगरपालिकाका सामाजिक विकास समिति संयोजक भरत अर्यालको अध्यक्षता तथा उपमहानगरकी कार्यवाहक नगरप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरोकारवालाहरुले बनेका नीति नियम र कानुनलाई अक्षरश कार्यान्वयनका लागि पहल गर्ने वचन पनि दिए ।

पालिकाले आगामी फागुन मसान्तसम्ममा बालमैत्री पालिका घोषणाका लागि आन्तरिक गृहकार्यलाई तीव्रता दिदै आएको छ । जसका लागि सरोकारवालाहरुसँग रायसुझाव लिने, टोल विकास संस्थालाई क्रियाशील बनाउने, बालमैत्री समन्वय समिति, पालिकामा बाल संरक्षण समिति गठन गरी बाल संरक्षणका ५१ वटै सूचक पूरा गर्न काम भईरहेको छ ।

Blog Post Ad

आर्थिक वर्ष २०७४–७५ बाट थालिएको प्रयासलाई अब सार्थक बनाउन लागिएको पालिकाले जनाएको छ । आईतबार भएको छलफल तथा प्रतिवद्धता कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले गरेकी थिईन् ।

Blog Post Ad Blog Post Ad