Ad Area

सहकारी आत्मनिर्भरताको बलियो माध्यम बनेको सांसद चौधरीको भनाई


गढवा २५ पुस । सहकारी संस्था आत्मनिर्भरताको एक बलियो माध्यम भएको नेकपा एमालेका केन्द्रिय सदस्य तथा संसदीय दलकी सचेतक शान्ता चौधरीले बताएकी छिन् । गढवास्थित मञ्जरी महिला साना किसान कृषि सहकारी संस्थाको तेश्रो वार्षिक साधारण सभालाई आइतबार सम्बोधन गर्दै उनले सहकारी आत्मनिर्भरको प्रमख आधार बन्दै गएको बताईन् ।

महिलाहरुको जीवनस्तर उठाउन र उनीहरुलाई नेतृत्व गर्ने क्षमताको विकास गर्न सहकारी संस्था र समूहहरुले महत्वपुर्ण भूमिका खेल्ने गरेको बताउँदै सहकारीमार्फत आयस्तर वृद्धि गर्न र आत्मनिर्भर बन्न यसमा आवद्ध भई काम गर्न आग्रह गरिन् । यस्तै, उनले माघी पर्वको शुभकामना दिदै माघी मनाउने नाममा मादक पदार्थ खाएर सडकमा पल्टिने संस्कार त्याग्नुपर्ने बताईन् । कार्यक्रममा मुक्तकमैया र भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउन थालेको बेला आफ्नो पार्टीको सरकार ढालिएको बताउँदै भूमि आयोगको विघटन गर्नु हजारौं सुकुम्बासीहरुको पेटमा लात हान्नु भएको सचेतक चौधरीको भनाई थियो ।

संस्थाका अध्यक्ष सिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभाका सांसद तथा नेकपा एमालेकी केन्द्रिय सदस्य गंगा चौधरी सत्गौवाले भूमि आयोगको विघटन गरेर वर्तमान सरकारले अन्याय गरेको भन्दै तत्काल आयोग पुनस्थापना गरि काम सुरु गर्न र भूमिहीन सुकुम्बासीहरुलाई लालपूर्जा दिन आग्रह गरिन् । सहकारीको माध्यमबाट आफ्नो आयस्तर वृद्धि गर्दै नेतृत्व तहमा पुग्न गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीले उपस्थित महिलाहरुलाई आग्रह गरिन् । कार्यक्रममा गढवा गाउँपालिका कृषि शाखाका अधिकृत शिशिर रेग्मी, एमाले दाङकी सदस्य पवित्रा घर्तीमगर र स्वान नेपालका कार्यक्रम संयोजक रेवन्त चौधरीलगायतले भनाई राखेका थिए ।

सो अवसरमा उत्कृष्ट किसान दुरपति चौधरी, शान्ति चौधरी, प्रेम कुमारी चौधरी, अस्मिता चौधरी, तुलसा जिएम, सिता चौधरी र कालीमैया चौधरीलाई कृषि औजार प्रदान गरि सम्मान गरेको छ । कार्यक्रममा संस्थाका सहव्यवस्थापक फूलमाया चौधरीले संस्थागत प्रतिवेदन र अध्यक्ष सिता चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कुल ६ सय शेयर सदस्य रहेको सो सहकारी संस्थाले कृषि उपज संकलन व्यवस्थापनका लागि चिस्यान केन्द्र स्थापना गर्दैछ भने कृषि व्यवसाय सहयोग तथा प्रवर्द्धन तथा तालिम केन्द्र खजुरा बाँकेको ७ लाख ३५ हजार सहयोगमा आफ्नै कार्यालय भवन निर्माण गरेको छ ।

त्यस्तै, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र बाँके र नेपाल कृषि सहकारी संघको दुई–दुई लाखको सहयोगमा उक्त सहकारीले कृषि उपज संकलन केन्द्रसमेत संचालनको तयारी गरेको छ । सहकारी संस्थाले कुल १ करोड १० लाखको आर्थिक कारोवार गरेको छ । संस्थाकी सचिव कविता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण व्यवस्थापक सम्झना चौधरीले गरेकी थिईन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad