Ad Area

दाङमा जारी एन्फा जिल्ला लिग माघ २ गतेसम्म स्थगित


घोराही २८, पुस । दाङमा जारी एन्फा लिगका खेलहरु माघ २ गतेसम्मका लागि स्थगित गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघले आयोजना गरेको लिगका खेल माघी पर्व एवं मकर संक्रान्ति पर्व परेपछि खेलाडी र अफिसियलहरुको सहमतिमा केही दिनका लागि स्थगित गरिएको दाङ जिल्ला फुटबल संघका महासचिव नरेन्द्र पुनले जानकारी दिए । गएको पुस १४ गतेबाट शुरुभएको लिग अन्तर्गतका खेलमा सबै क्लबले समान ५-५ खेल खेलिसकेका छन् । अब सब‌ै क्लबले ४-४ खेल खेल्न बाँकी छ ।

पहिलो चरणको लिगमा घोराही क्षेत्रका क्बलले भरतपुर खेलमैदान घोराहीमा र तुलसीपुर क्षेत्रका क्लबले अरनिको मैदान तुलसीपुरमा खेलेका थिए । जिल्ला फुटबल संघमा आवद्ध १० वटा क्लबबीचको बाँकी खेल अब माघ ३ गतेबाट शुरु गर्ने एन्फा दाङ जिल्ला फुटबल लिग संयोजक बुद्धिराम पुनले सूचनामार्फत जानकारी गराएका छन् । अब माघ ३ गते दिउँसो १२ बजेपछि सक्सेस र युएनबीसी बीचको खेलबाट लिग सुचारु हुने भएको छ ।

प्रत्येक क्लबले समान ९ खेल खेल्नुपर्ने अवस्थामा लिगको रेलिगेशनबाट जोगिन सबै क्लबले निकै मेहनत गरिरहेका छन् । जिल्लामै पहिलो पटक भईरहेको जिल्ला लिगमा अंक तालिकाको पुछारमा पर्ने दुई क्लब रेलिगेशनमा जानेछन् । रेलिगेशनमा परेका क्लबको स्थानमा यसअघि जिल्ला फुटबल नकआउटबाट छनौट भएका ज्ञानज्योति इनोभेटिभ एकेडेमी र बहडरा युवा क्बलले स्थान बनाउने भएका छन् ।

जारी जिल्ला लिगमा तुलसीपुर क्षेत्रका क्लबको दबदबा देखिएको छ । तुलसीपुरको एसएसएफएले ५ खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । यस्तै, सक्सेस एफसीले ११ अंक जोड्दै दोश्रो स्थानमा रहेको छ । घोराहीको युएनबीसीले १० अंक जोड्दै तेश्रो स्थानमा रहेको छ । चौथो स्थानमा समान १० अंकका साथ राप्ती क्लब रहेको छ भने नवलपुर फुटबल एकेडेमीको पनि समान १० अंक रहेको छ ।

राप्ती चौथो र नवलपुर पाँचौँ स्थानमा रहेको छ । लक्ष्य एफसी ६ अंकका साथ छैठौँ, किसान जागृत युवा क्लब ६ अंकका साथ सातौँ स्थानमा रहेको छ भने न्यू स्टार एफसी ३ अंकका साथ आठौँ स्थानमा युनाईटेड युथ क्लब समान ३ अंकका साथ नवौँ स्थानमा रहेको छ । तर, अहिलेसम्मको खेलमा जीत विहिन रहेको टाईगर क्लबले कुनै अंक जोड्न सकेको छैन । अंक तालिकाको पुछारमा रहेको छ । उसका लागि अबका सबै खेल जित्नै पर्ने दवाब बढेको छ ।

Blog Post Ad

जिल्ला लिगको अंक तालिका

Blog Post Ad Blog Post Ad