Ad Area

हाम्रो पहुँच माविलाई इन्टरनेशनल स्कुल अवार्ड


दाङ, १३ माघ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा संचालित हाम्रो पहुँच माध्यमिक विद्यालयले इन्टरनेशनल स्कुल अवार्ड २०२१ प्राप्त गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ झुमरेमा रहेको विद्यालयले अवार्डका लागि तोकिएका विभिन्न सात वटा सुचक पुुरा गरी इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको हो । शिक्षण सिकाईका आधारमा उत्कृष्ट विद्यालयलाई ब्रिटीस काउन्सीलले इन्टरनेशनल स्कुल अवार्ड प्रदान गर्ने गरेको छ ।

सन् २०२१ मा सहभागी दाङका ८ वटा विद्यालयमध्ये हाम्रो पहुँच माविले अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका आइएसए कोर्डिनेटर तिलक कालाथोकीले जानकारी दिनुभयो । काउन्सिलको मापदण्ड अनुसार विभिन्न ७ ओटा परियोजनाहरुमा आधारित रहेर हाम्रो पहुँच माविले विभिन्न शिक्षण क्रियाकलापहरु गरेको उहाँले बताउनुभयो ।

विद्यालयले शिक्षण सिकाई प्रभावकारीका लागि तीन वटा विदेशी विद्यालय र एउटा सरकारी विद्यालय संगको सहकार्य गरेको छ । यस्तै स्थानीय विषयवस्तुमा आधारित पाठ्यक्रम र विद्यालयभित्र गरिने परियोजना प्रभावकारी भएकाले अवार्ड प्राप्त गरिएको कोर्डिनेटर कालाथोकीले बताउनुभयो ।

जनप्रतिनिधि, शिक्षासंग सम्बन्धित सरोकारवाला सबैको सहयोगले विद्यालयले इन्टरनेशनल अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले बताउनुभयो ।