Ad Area

तुलसीपुरका ११ जना बालबालिकामा संक्रमण


तुलसीपुर, १३ माघ । तेस्रो लहरको कोरोना संक्रमण फैलिएयता तुलसीपुरमा हालसम्म १० वर्षमुनिका ११ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ र ६ का बालबालिका बढी संक्रमित भएका छन् ।

तुलसीपुरका ५ र ६ नं. वडा बजार क्षेत्रमा पर्छन् । त्यस्तै तुलसीपुरमा हालसम्म ५ वर्षदेखि माथि उमेर समूहका बालबालिकामा कोरोना पुष्टि भइरहेको छ । त्यस्तै ११ देखि २० वर्ष उमेर समूहका ९४ जना, २१ देखि ३० वर्षका १४३ जना, ३१ देखि ४० वर्षका १५९ जना, ४१ देखि ५० वर्षसम्मका ८४ जना, ५१ देखि ६० वर्षसम्मका ६२ जना, ६१ देखि ७० वर्षसम्मका २५ जना, ७१ देखि ८० वर्षसम्मका १४ जना र ८० वर्ष उमेर समूहभन्दा माथिका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्येबाट सबैभन्दा बढी समुदायस्तरका ३ सय ९८ जनामा, त्यसपछि दोस्रोमा विद्यार्थी ८९ जना, तेस्रोमा शिक्षक ४१ जना, ३९ जना स्वास्थ्यकर्मी, कर्मचारी २३ जना, पत्रकार ४ जना, जनप्रतिनिधि ३ जना, भारतबाट आएका दुई जनामा संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन केसीले जानकारी दिए । यसरी तथ्यांकलाई हेर्ने हो भने तुलसीपुरमा सबैभन्दा बढी समुदायस्तरमा तेस्रो लहरको कोरोनाको प्रभाव देखिएको छ । त्यस्तै दोस्रोमा विद्यार्थीहरु र शिक्षक स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

त्यस्तै पछिल्लो पुस १७ गतेदेखि माघ १२ गतेसम्म तुलसीपुरमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ४९ जना रहेको छ । जसमध्यबाट ३ जना राप्ती प्रादेशिक अस्पतालमा र २ सय ४६ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै हालसम्म ५ सय ९९ जनामा संक्रमण पुष्टि भएकोमा ३ सय ४९ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । त्यस्तै तुलसीपुरका १९ वटा वडामध्ये ५ वटा वडा कोरोना संक्रमणमुक्त रहेका छन् ।

वडा नं. १, २, १३, १५ र १८ मा शून्य संक्रमित रहेको फोकल पर्सन केसीले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिकामा संक्रमणको दर दिनदिनै बढिरहँदा पनि उपमहानगरपालिकाले विद्यार्थीहरुका लागि खोप ल्याउने प्रयास अझै सार्थक भएको छैन । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये दाङको तुलसीपुर उपमहानगरपालिकाले मात्रै विद्यार्थीहरुका लागि खोप ल्याउन सकेको छैन ।

घोराही उपमहानगरपालिकाले १२ देखि १८ बर्ष उमेर समूहका नागरिकलाई दुई महिनाअघि नै खोप लगाइसकेको छ भने अन्य पालिकाले पनि एक–दुई दिनको अवधिमा खोप लगाइसक्ने तालिका सार्वजनिक गरिसकेका छन् । तुलसीपुर उपमहानगरपालिकामा भने विद्यार्थीलाइ कहिले कहाँ कसरी खोप उपलव्ध गराउने भन्ने सन्दर्भमा अझै अनिश्चित छ ।

एकैदिन १५ को मृत्यु

यसैबीच पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय १६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २ सय १ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १ सय ५ पुगेको छ ।

यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६ सय ८७ पुगेको छ भने ८ लाख ३७ हजार ८ सय ४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ५ सय ७६ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ६ सय ४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९ सय ३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये २ ुउ ५७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्षमुनिका १ सय ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् ।