दाङमा माघ मसान्तसम्म ‘स्मार्ट लकडाउन’ यथावत

घोराही १८, माघ । दाङमा यसअघि बेलुकी ७ बजेपछि होटल रेष्टुरेन्टहरु बन्द गर्नेलगायतको निर्णय यथावत राख्दै थप निर्णय कार्यान्वयनका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले सूचना जारी गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र दाङले सोमबार एक सूचना जारी गर्दै गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको माघ १६ गतेको पत्र र यअिघि माघ १४ गतेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको निर्णयका आधारमा जिल्लामा जोखिम पहिचान गरिएका क्षेत्रमा बाहेक अरु क्षेत्रमा लगाउँदै आएको निषेधाज्ञा यथावत राखेको हो । यद्यपि, कोरोनाको जोखिम यथावत रहेकाले स्वास्थ्य सावधानी अपनाई आफ्नो व्यापार व्यवसाय संचालन गर्न भनिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा हस्ताक्षरित सूचनामा जनाईए अनु्सार सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लव, जिम खाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ मसान्तसम्म सञ्चालन नगर्न भनिएको छ ।
विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा संवत् २०७८ साल माघ मसान्तसम्म भौतिक रुपमा उपस्थितिमा सञ्चालन नगर्न तथा त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाका विधिहरु अपनाई सञ्चालन गर्न सूचनामार्फत अनुरोध गरिएको छ ।
विद्यालय कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न नेपाल सरकारको पुस ३० को आदेश बमोजिम गर्न गराउन पनि भनिएको छ ।
विद्यालयस्तर तथा सर्वसाधारणका लागि सञ्चालन भएको खोप अभियान निर्वाध रुपमा सञ्चालन गर्न खोपको आपूर्ति सहज बनाई विद्यालयहरुमा खोप कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने गराउने काममा खट्न पनि भनिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जिल्लामा माघ मसान्तसम्मका लागि जारी गरिएको निषेधाज्ञाको सर्कुलर यथावत राख्दै केन्द्रको निर्णयलाई पनि थप कार्यान्वयनका लागि जिल्लाबासीमा सुसूचित गरेको बताईन् । ‘बढी भीडभाड हुने स्थल, सार्वजनिक निकाय, होटलहरुमा साविककै निर्णय लागू हुनेछ, थप निर्णयलाई पनि कडाईका साथ पालना गर्न अपिल गरेका छौँ,’ उनले भनिन् ।
उता, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले होटल व्यवसाय सम्साँझै बन्द गर्न लगाइँदा व्यवसायीहरुमा समस्या भएको बताउँदै यो विषयलाई पुनर्विचार गर्न लगाएको बताए । कम्तिमा बेलुकी आठ बजेसम्म स्वास्थ्य सावधानी अपनाएर होटल व्यवसाय संचालन गर्न दिने माहोल मिलाउन प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसमक्ष अनुरोध गरेको उनले बताए ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी पनि सकारात्मक बनेको उनले बताए । केही व्यहारिकताका कुरामा प्रमुख जिल्ला अधिकारीले सोच्न सकिने जवाफ दिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।