समाजवादी प्रवेश गरेका तीन जनप्रतिनिधलाई एमालेद्धारा कारवाही

दाङ,२० माघ । नेकपा (एमाले)ले तीन जना कार्यपालिका सदस्यलाई कारबाही गरेको छ ।
स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएर अहिले पार्टीको हितविपरीत कार्य गरेको भन्दै एमाले दाङले तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरू जानका रेग्मी, डिला परियार र दीपक कुमाललाई कारबाही गरेको हो ।
एमाले दाङका अध्यक्ष हुकुम बस्नेत र सचिव मनोहर बुढाथोकीले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रले समेत उनीहरूलाई कारबाही गरिसकेको जनाएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यको नाम समेटिएर केही समाचार माध्यममा समाचार प्रकाशित भएको भन्दै पनि त्यसमा कुनै सत्यता नभएको विज्ञप्तिमा स्पष्ट समेत पारेका छन् ।
‘तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया शर्मा आचार्यको नाम उल्लेख भई अन्यथा भएको हुँदा सो भ्रममा नपर्न सबैमा अपिल गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।