Ad Area

रैथाने जातको धान लोप हुने अवस्थामा


छवी पुरी
घोराही १८, असोज ।

दाङमा स्थानीय रैथाने जातको धान लोप हुने अवस्थामा पुगेको छ । रैथाने जातका धानको उत्पादन कम हुने भन्दै कृषक उन्नत जातका धानमा आकर्षित भएका छन् । अधिकांश किसानले खेतमा पुरानो रैथाने सानो जिरा, विन्देश्वरी, तिल्की, मनसुली, मार्सी, सिम्ठारो, मनसुली लगायतका धान रोप्ने गर्दथे । पछिल्लो समय यी सबै पुराना जातका धान छाडेर उन्नत जातका धान लगाउन आकर्षित भएका कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
घोराही उपमहानगरपालिका– ८ का किसान महेन्द्र थारुले रैथाने धान रोप्न छाडेको करिव ६ वर्ष भयो । पहिले स्थानीय जातको धान लगाउने भए पनि अहिले पुरानो धान कम फल्ने र मेहनत धेरै गर्नुपर्ने भएपछि उन्नत जातको धान लगाउन थालेको उनको अनुभव छ ।
अर्का किसान घोराही– ७ का मनिराम चौधरीले तीन वर्ष अगाडिसम्म रैथाने धान खेती गर्ने गरे पनि अहिले विकासी धान रोपेको बताए । तिल्की धान पाथी बीउ रोपे पछि मुरी फल्ने गर्दथ्यो । दाङका खेतमा प्रसस्त मात्रामा धान फल्थ्यो, बढी भएको अन्य जिल्लामा पनि बिक्री हुन्थ्यो । अब पुराना धान खेती हुन छोड्यो, सबैले धेरै फल्ने नयाँ हाइब्रिड धान रोजेर लगाउँछन्, उनले भने ।

स्थानीय तहले कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ प्रदान गर्ने गरेका छन् । घोराही उपमहानगरपालिकाले साढे ६१ क्वीन्टल उन्नत जातको धानको बीउ वितरण गरेको जनाएको छ । कृषकलाई एक महिनाको समय दिएर माग सङ्कलन गरेर त्यसैअनुसार धानको बीउ खरिद गरेर वितरण गरेको घोराही उपमहानगरपालिकाका कृषि शाखा प्रमुख चोपनारायण खनालले बताए । अहिले उक्त धानको उत्पादन पनि भित्र्याउने बेला भईसकेको छ ।

उपमहानगरपालिकाभित्र नै स्रोत केन्द्र रहेकाले धानको बीउ खरिदमा समस्या नभएको उनको भनाइ छ । जिल्लाका केही स्थानीय तहका कृषकहरुले अनुदानमा धानको बीउ पाएका थिए भने केही स्थानीय तहका कृषकहरुले धानको बीउ पाउन सकेनन् । तुलसीपुर उपमहानगरपालिकाका कृषकहरुले यस वर्ष अनुदानमा धानको बीउ पाउन सकेका थिए । धान खरिद हुन नसक्दा अनुदानमा धानको बीउ वितरण हुन नसकेको तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका अधिकृत धनराज गौतमले बताए ।
उसो त आउँदो वर्षदेखि उपमहानगरपालिकामा आफ्नै धानको बीउको स्रोत हुने तुलसीपुरले जनाएको छ । लामो सययको प्रयासपछि बीउको स्रोत केन्द्र बनाउन थालिएको उनले बताए । अघिल्लो वर्ष उन्नन जातको धानको बीउ वितरण गरेका कारण यस वर्ष कृषकहरुको त्यति धेरै माग नरहेको उनको भनाइ छ । एक वर्ष रोपेको उन्नत बीउ तीन चार वर्षसम्म लगाउन सकिने कृषि विज्ञहरु बताउँछन् । उपमहानगरपालिकाले बाहिरबाट आउनेलाई प्रतिस्थापन गर्ने नीति ल्याएको गौतमले बताए ।
लमही नगरपालिकाले पनि धानको बीउ खरिद गरेर कृषकलाई वितरण गरेको छ । नगरपालिकाले एक हजार सात सय ३८ केजी वितरण गरेको थियो । अनुदानमा धान वितरणका लागि नगरपालिकाले रु एक लाख ५० हजार बजेट छुट्याएको थियो । जिल्लामा दशवटा पालिका मध्य केही पालिकाले अनुदानमा बीउ दिएका छन् भने केही पालिकाले यो पटक उपलब्ध गराउन नसकेको जनाएका छन् ।
दंगीशरण गाउँपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । १० वटा कृषक समूह दुइवटा सहकारीलाई धानको बिउ वितरण गरेको कृषि शाखा प्रमुख योगमाया कुँवरले जानकारी दिए । राम धान पाँचसय किलो, सुख्खा –२ १२सय ५० किलो, सुख्खा –३ तीन सय ५० किलो, र बिन्देश्वरी चार सय किलो धानको बिउ वितरण गरिएको जनाइएको छ ।
किसानहरु उन्नत जातको धानतर्फ आकर्षित भएपछि रैथाने धान लोप हुन थालेको किसान बताउँछन् । यहाँका किसानले साबित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगाएतका वर्णशङ्कर जातका धान लगाउँदै आएका छन् । यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा –२,सुक्खा –३ जातका धान लगाउने गरेका छन् । रैथाने धान राधा सात, मन्सुली, तिल्की जस्ता धानले कम उत्पादन दिने भएकाले उन्नत जातका धान रोप्ने गरेको किसानहरुको भनाइ छ ।
जिल्लाको कुल क्षेत्रफल २९ लाख पाँच हजार ५०० हेक्टर जमिन मध्ये खेती योग्य जमिन ६९ हजार नौ सय ५० हेक्टर रहेको छ । दाङमा कुल खेती गरिएको जमिन ६५हजार नौ सय ८० हेक्टरमा खेती गरिएको छ ।
यहाँ बाह्रै महिना सिंचाई हुने क्षेत्र १९ हजार छ सय ५१ हेक्टर रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिएका छन् । मौसमी सिँचाइ हुने क्षेत्र तीन लाख नौ हजार दुईसय एघार हेक्टर रहेको छ । रैथाने जातका धानमा कृषकले चासो लिन छाडेपछि उन्नत जातका धानमा कृषि शाखाले पनि प्राथमिकता राखेको पौडेलले बताए । केही स्थानमा भने कृषकको रुचिलाई हेरेर रैथाने जातका धान रोपिएको जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad