Ad Area

बढ्दो मोबाईल लतले बालबालिकामा शारीरिक र मानसिक असर पर्दै


घोराही २८, माघ । पछिल्लो समय अधिकांश अभिभावकहरुले अहिले आफ्ना बालबालिकाको हात हातमा मोबाईल थमाइदिने गरेका छन् । टेलिभिजन रिमोट, ल्यापटपसँगै अन्य विद्युतीय सामग्रीहरु हिजोआज बालबालिकाको हातमा अक्सर परेकै हुन्छ । बालबालिकालाई भुलाउन तथा आफुलाई उनीहरुसँगै बसेर निगरानी गर्न नपरोस् भनेर यो विधि अपनाउने क्रम बढेको छ ।

कोभिड १९ महामारीको कारण सबै शैक्षिक संस्थाहरु भौतिक उपस्थितीमा पठनपाठन बन्द भएपछि बालबालिकाहरुमा मोबाईलको पहुँच अस्वाभाविक रुपमा बढेको छ । जसले उनीहरुमा एन्ड्रोइड मोबाइलमा विभिन्न प्रकारका गेममा लतमा बढ्दै गएको छ । आफू पनि मोबाइलमा व्यस्त रहने र बच्चालाई पनि मोबाइल खेलाउन दिने धेरै अभिभावकहरु छन । जसले गर्दा उनीहरु मोबाइलबिना खाना खान नमान्ने, सुत्न नमान्ने जस्ता क्रियाकलापहरु गर्ने गरेको पाइन्छन् । मोबाइल र टेलिभिजनमा लत बसेका बालबालिकाले बाहिरी विविध गतिविधिमा घुलमिल हुन रुचाउँदैनन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ का १२ वर्षीय व्रिजेश कार्की बिहान ७ बजेदेखि अनलाइन कक्षामा बस्छन् । तीन घण्टा उनी ल्यापटपमा बिताउँछन् । पढाइ सकिएपछि उनी दिनभर जसो मोबाइलमा पब्जी खेल्छन् । ‘घरमा को आयो को गयो थाहा नै हुँदैन’ व्रिजेशकी आमा मनिषाले भने, ‘मोबाइल पाएपछि ऊसलाई साथी पनि चाहिँदैन ।’

सुरु सुरुमा यो कुरा मनिषालाई सामान्य लागेको थियो तर अचेल त्यही कारण चिन्तामा बदलिँदै छ । बच्चालाई मोबाइलको लतबाट कसरी छुटकारा दिलाउने ? भन्ने उनको चिन्ता छ । घोराही १४ की रमा केसी कार्यालयमा काम गर्छिन्  । उनको १० वर्षका छोरा कक्षा ५ मा पढ्छन् । आफु घरमा हुँदासम्म मोबाइल छोराको साथमा हुने गरेको र आफु कार्यालय आए पश्चात ल्यापटपमा नै अलमलिने गरेको उनी बताउँछिन् । ‘एकैछिन् मोबाइल र इन्टरनेट नहुँदा छटपटिन्छ’, उनले भनिन् , ‘रोईकराई गरेर खाना खान समेत मान्दैन, समस्या भएको छ ।’

लमही ५ की उमा थपलियाको पनि गुनासो उस्तै छ । उनी भन्छिन्, ‘बच्चालाई मोबाइलबाट कसरी टाढा राख्ने होला ? परिवारसँग पनि घुलमिल हुँदैन ।’ उहाँको छोराको उमेर झन ८ वर्ष मात्रै छ । बच्चा सानो छँदा आफू कार्यालय पनि जानुपर्ने भएकाले घरधन्दा भ्याउनुपर्ने अवस्था हुँदा बच्चालाई मोबाइल खेलाउन दिएर भुलाउँदा बच्चाको लत मोबाइलमै लागेको उनको अनुभव छ ।

‘कोरोना महामारीले गर्दा स्कूल सबै बन्द छ, केटाकेटी भुलाउने बाटो यही एउटा मोबाइल त छ’, उनले भने, ‘आफू कार्यालय जानुपर्छ । हतारमा बच्चालाई भुलाउन भए पनि मोबाइल दिनुपर्ने बाध्यता छ । तर यसरी बच्चाको लत बिग्रिदो रहेछ, यो राम्रो होईन ।’

Blog Post Ad

बेला बेलामा छोराले मानसिक सन्तुलन ठीक नभए जस्तो व्यबहार देखाउने गरेको कतिपय अभिभावकहरुको दुखेसो आउन थालेको छ । तुलसीपुर ८ का खेमलाल थापाले आफ्ना १४ वर्षीय छोराको पछिल्लो समयमा भएको व्यहार परिवर्तनले चिन्तित छन् । उनको छोरा सुवासको अहिले टोलाएर बस्ने, एकहोरिने, बोलाँउदा नबोल्ने र बोलिहाले चिच्याएर बोल्ने बानी भएको छ । छोराको भविस्य राम्रो होला भनेर गाँउ देखी शहर पढाउन ल्याएको छोराको यस्तो व्यबहार देखेर चिन्ता लागेको उनी बताउँछन् ।

‘अनलाइन पढाई छ भनेपछी बाध्यताले पनि मोबाइल दिन पर्यो पढाईलाई चासो नदिई मोबाइलमा गेम खेलिरहन्छन् यो बानी कसरी हटाउने होला, यसले भोलिको अवस्था झन कस्तो हुने होला भन्ने चिन्ता थपेको छ’ उनी बताउँछन् ।

पहिलेको बच्चाहरु बिहान उठेर हातमुख धोएर, केही समय पढाइलाई, केही समय घरको काममा केन्द्रित हुन्थे तर पछिल्लो समयका बच्चाहरु हरेक महत्वपूर्ण समय मोबाइलमा नै खेर फाल्ने गरेका छन् । अभिभावकको व्यस्त जीवनशैली, आमा–बाबा नै कामकाजी भएकाले पनि यसको सिधा असर बालबालिकाको दैनिकीमा परेको अधिकांश अभिभावकहरुको भनाई छ । बालबालिकालाई एकछिन भुलाउन दिइने मोबाइलले उनीहरुको भविष्य बिगार्ने चिन्ता पनि उत्तिकै बढेको उनीहरु सुनाउँछन् ।

अधिकांश बालबालिका मोबाइलमा बढी ध्यान केन्द्रित गर्दा घरपरिवार, समाज र सामाजिक संस्कृतिबाट टाढा बन्न सक्ने सम्भावना बढेर गएको अध्ययनले देखाएको छ । उनीहरु अहिले प्राय एकान्तमा बस्न रुचाउने, अरुका कुरा नसुन्ने प्रवृत्ति बढ्दै गएको मनोचिकित्सकहरुले बताएका छन् । मोबाइल भेटेपछि घण्टौंसम्म एक्लै बस्ने, कोसँग कस्तो व्यवहार गर्ने, छेउका मान्छेलाई बेवास्ता गर्ने जस्ता क्रियाकलाप बढ्दै गएको मनोसामाजिक परामर्शकर्ताको भनाई छ ।

लगातार रुपमा मोबाईलमा एकोहोरो व्यस्त हुँदा बालबालिकाको मांशपेशी समेत कमजोर हुने र आँखामा समेत समस्या आउन सक्ने अप्ठ्यारा बढ्दै गएको अध्ययनले देखाएको छ । कोभिड १९ ले गर्दा स्कुल जान नपरेका बालबालिकालाई प्रविधिको प्रयोगले लत बसालेको हुँदा यसको असर विस्तारै झन् बढ्ने विज्ञहरुको भनाइ छ । त्यसैले समयमै सचेत हुनुपर्ने पनि विज्ञहरुको जोड छ ।

मोबाइल, इन्टरनेटमा नै घण्टौसम्म अल्मलिने हुँदा परिवार साथीभाईबाट टाढा हुने भएकाले बच्चालाई सामाजिक दुरी मानसिक दबाब पनि बढ्दै गएको छ । पछिल्लो समय बच्चाहरुलाई दिईने अनलाइन शिक्षाले पनि बच्चाहरुको मानसिकतामा केहि असर पर्न गएको विज्ञहरु बताउँछन् ।

लामो समयसम्म मोबाइल चलाइरहँदा यसले शारीरिकसँगै मानसिक समस्या ल्याउने हुँदा बेलैमा बालबालिकाका अभिभावक र आफन्त सचेत र सजग बन्न जरुरी रहेको मनोचिकित्सकहरुको आग्रह छ । निरन्तर मोबाइल फोनको प्रयोगले बालबालिकामा आँखा दुख्ने, टाउको दुख्ने, निद्राको समस्या, थकान महसुस हुने, कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने, ध्यान केन्द्रित गर्न समस्या हुने ढाड दुख्ने, घाँटी र गर्दन दुख्ने, खान मन नहुने, तौल घट्ने लगायतका शारीरिक लक्षण देखापर्ने मनोचिकित्सकको भनाई छ ।
‘हामी अहिले अनलाईन कक्षाका कुरा गर्छौ । यसको पनि कति घण्टा पढाउने भन्ने नियम छ, छैन भने हुनुपर्छ’ घोराही उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख विनोद गौतमले भने, ‘हामी भौतिक उपस्थितीसहितको कक्षामा त ब्रेकको कुरा गर्छौ । अनलाईन कक्षामा पनि अब ब्रेक गर्दै पढाउनुपर्छ । लामो समयसम्म अनलाईन कक्षा पढाउँदा त्यसको नकारात्मक असर कलिलो बच्चाहरुमा पर्न गएको छ ।’

कुनै समय पढाईमा अब्बल अनुशासित, लगनशिल र घरपरिवारलाई समेत काममा सघाउने बालबालिका हिजोआज यही मोबाईल लतकै कारण आफ्नो व्यवहारमा परिवर्तन देखाउने गर्दा उनका अभिभावक र घरपरिवारका सदस्य चिन्तित हुन थालेका छन् । पहिला–पहिला साथीभाइसँग विभिन्न खेल खेल्न तथा परिवारका सदस्यसँग बसेर रमाउन चाहने बालबालिकामा अत्यधिक मोबाइल फोनको प्रयोगले उनीहरूमा मोबाइल फोनबाहेक अन्त ध्यान नहुँदा अनेक समस्याहरु देखिदै गएका छन् ।

पछिल्लो समय कोरोना संक्रमणका जोखिमका कारण स्कुल बन्द रहदा र कतीपय अवस्थामा अभिभावकलेनै बालबालिकालको हेरचाहमा कम ध्यान दिँदा बालबालिकमा मोबाइलको लत बढ्दै गएको उनीको भनाई छ । यसको समाधानका लागि विशेष गरेर घरपरिवार बाबुआमा, शिक्षकको अग्रसरता हुनुपर्ने देखिएको छ ।

अभिभावकले आफुसँगै आफ्ना बालबालिकालाई घरायसी काममा लगाउने, फुलबारीमा काम लगाउने, खानाका परिकार बनाउन लगाउने, करेसाबारी काम लगाउने, मठ–मन्दिर, धार्मिक स्थलहरु घुमाउन लैजाने, कुनै कामको जिम्मा दिने, घरपरिवारसँगै बसेर घरका कुरा सेयर गर्ने र बालबालिकालाई घरयसी काममा व्यस्त गराउने जस्ता कार्य गर्नाले बालबालिकालाई मोबाइलको लतबाट न्युनिकरण गर्न सकिने हुँदा यस्ता कामलाई प्राथमिकता दिनुपर्ने मनोपरामर्शकर्ताहरुको सुुझाव छ । सरकारले पनि यस्ता इन्टरनेट गेमहरु तथा अनावश्यक साईटहरुलाई बन्द गर्नु आवश्यक रहेको अभिभावकहरुको गुनासो छ ।

Blog Post Ad Blog Post Ad